PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

३३ ‘रेड लिस्ट देशहरु’बाट फर्किने यात्रुलाई इङ्ल्यान्डमा होटल क्वारेन्टाइन अनिवार्य, शुल्क २ लाख ८० हजारभन्दा बढी



पहिलोपोस्ट

३३ ‘रेड लिस्ट देशहरु’बाट फर्किने यात्रुलाई इङ्ल्यान्डमा होटल क्वारेन्टाइन अनिवार्य, शुल्क २ लाख ८० हजारभन्दा बढी
Photo: REUTERS

इङ्ल्यान्डको क्वारेन्टाइन होटलमा बस्न चाहने यात्रुले १ हजार ७५० पाउण्ड (करिब दुई लाख ८० हजारभन्दा बढी नेपाली रुपैयाँ) तिर्नु पर्ने भएको छ। क्वारेन्टाइन होटलमा बस्ने यात्रुले बसाइ खर्चबापत सो रकम तिर्नु पर्ने स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले मंगलवार जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ

यो नियम ३३ वटा ‘रेड लिस्ट देशहरु’बाट घर फर्किने बेलायत तथा आयरल्यान्डका नागरिकहरुलाई लागू हुने बताइएको छ। ह्यान्ककका अनुसार सरकारले व्यवस्था गरेको क्वारेन्टाइन होटलमा नबस्ने यात्रुलाई १० हजार पाउण्डसम्म जरिवाना गरिनेछ।

त्यस्तै, ‘रेड लिस्ट देशहरुबाट’ फर्केको बारेमा झुठो विवरण दिने यात्रुलाई १० वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ। यो नियम विकसित राष्ट्रहरुबाट फर्किनेको लागि पनि लागू गर्नेबारे सोचिएको ह्यान्ककले बताए। सोमवारदेखि लागू हुने यस नियम कार्यान्वयन गर्नको लागि १६ होटलहरुसँग सम्झौता गरिएको उनले बताए।

सबै अन्तर्राष्ट्रिय यात्रुका लागि नयाँ ‘विस्तृत टेस्ट’ समेत गरिनेछ। सो नियम पनि सोमवारदेखि लागू हुनेछ। जसअनुसार क्वारेन्टाइनमा रहँदा दुई पटक परीक्षण गर्नुपर्नेछ।

इङ्ल्यान्ड फर्किने यात्रुहरुले १० दिने क्वारेन्टाइन बसाइमा दोस्रो र आठौँ दिनमा परीक्षण गर्नुपर्ने बताइएको छ। होम आइसोलेसन वा होटलमा बस्ने सबैको लागि यो नियम लागू हुनेछ।

नयाँ यात्रा नियमको उल्लंघन गर्नेहरुले सबैलाई जोखिममा पार्ने ह्यान्ककले बताए।

उनले भने, ‘कानुन अनसार यात्रुवाहक विमानहरुले यात्रुलाई यो नयाँ नियम पालना गर्न लगाउनु पर्ने जिम्मेवारी हुन्छ। र, यो नियम नमान्नेहरुलाई कडा कारबाही तथा जरिवाना गरिनेछ।’

उनले थपे, ‘यो नियमअनुसार पहिलो आवश्यक परीक्षण नगर्ने अन्तर्राष्ट्रिय यात्रुलाई १ हजार पाउण्ड जरिवाना लाग्नेछ। त्यस्तै, दोस्रो परीक्षण नगर्नेलाई २ हजार पाउन्ड जरिवाना तथा १४ दिनसम्म क्वारेन्टाइन अवधि लम्ब्याइने छ। र, तोकिएको क्वारेन्टाइन होटलमा नबस्नेहरुको लागि न्युनतम ५ हजारदेखि १० हजार पाउण्डसम्म जरिवाना लाग्ने छ।’

क्वारेन्टाइन होटलमा बस्नुपर्ने यात्रुले अनलाइनमार्फत अग्रिम बुकिङ गर्नुपर्नेछ। सो बुकिङ प्रणाली बिहीवारदेखि खुला हुने बताइएको छ। १ हजार ७५० पाउण्ड शुल्कमा होटल खर्च, यातायात र परीक्षण समावेश गरिएको छ।

‘यस्ता यात्रुहरु हाल अधिकांश यात्रु प्रवेश गरिरहेका केही विशेष पोर्टमार्फत मात्रै बेलायत प्रवेश गर्न पाउनेछन्,’ ह्यान्ककले भने।

डुंगा, रेल तथा विमान जुनसुकै माध्यमबाट बेलायत आउने यात्रुहरुले प्रवेश अनुमतिको लागि कोभिड-१९ नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्ने अनिवार्य गरिएको छ। यो परीक्षण यात्रा गर्नुभन्दा ७२ घण्टा अघि गरिएको हुनुपर्नेछ। बिनापरीक्षण आउने यात्रुलाई ५०० पाउण्डसम्मको जरिवाना लाग्नेछ।

यात्रुहरुले आफ्नो सम्पर्क विवरण तथा बेलायतको ठेगाना समेत दिनु पर्नेछ। त्यसपछि मात्रै उनीहरु सार्वजनिक यातायातमार्फत क्वारेन्टाइनमा जान सक्नेछन्। ब्रिटिश नागरिकसहित सबै यात्रुहरुले आफूलाई १० दिनसम्म आइसोलेसनमा राख्नु पर्नेछ।

‘रेड लिस्ट देशहरु’ बाहेक अन्य देशबाट आएका यात्रुहरुले पाँचौँ दिनमा परीक्षण गरी नेगेटिभ आएपछि बाहिर हिँडडुल गर्न पाउनेछन्। यात्रुहरुले ‘गोल्ड स्ट्याण्डर्ड’ तथा अझ महँगो परीक्षण विधिबाट पीसीआर टेस्ट गर्नुपर्नेछ।

लकडाउनको नियम अनुसार अत्यावश्यक कामको लागि मात्रै देशबाहिर यात्रा गर्न भनिएको छ। यो नियम आन्तरिक यात्राको लागि पनि लागू हुनेछ। जसअन्तर्गत घरबाटै गर्न नसकिने कामहरुको लागि, स्वास्थ्य परीक्षण तथा शैक्षिक कारणहरुमा मात्रै यात्रा गर्न सुझाइएको छ।

इङ्ल्यान्डबाट बाहिर जान चाहने यात्रुहरुले भ्रमणको कारण बारे जानकारी दिनु पर्नेछ जुन देश छाड्नुअघि छानबिन गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell