PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एकै महिनामा 'दुई आमसभा' गर्न प्रचण्ड-नेपाललाई सकस, आजको शक्ति प्रदर्शनबाट ओली आत्तिने दाबी



प्रकाश भण्डारी

एकै महिनामा 'दुई आमसभा' गर्न प्रचण्ड-नेपाललाई सकस, आजको शक्ति प्रदर्शनबाट ओली आत्तिने दाबी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बुधवार शक्ति प्रदर्शन गर्दै छ। आमसभाको तयारी पुरा भइसकेको नेताहरुले बताएका छन्। पुस ५ को संसद विघटनपछि सडक संघर्षमा उत्रिएको प्रचण्ड नेपाल समूह काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ। पुस १४ र माघ ९ मा काठमाडौंमा आमसभा गरेको उक्त समूहले बुधवार पनि आमसभा गर्दै छ। यसअघिका भन्दा दोब्बर मान्छे उतार्ने नेताहरुको दाबी छ।

निर्णायक आन्दोलन

प्रचण्ड नेपाल समूहले बुधवारको सभा एतिहासिक भएको भन्दै प्रधानमन्त्री केपी ओलीलाई एक कदमपछि हटाउन आन्दोलन सफल हुने बताएको छ। त्यसका लागि दुई लाख मानिस सडकमा ल्याउने उनीहरुको दाबी छ। ओली समूहले २३ गते गरेको सभामा थोरैमात्र मानिस उपस्थित भएको र त्यही दिनबाट ओली डिफेन्सिभ भएको प्रचण्डले शिक्षक संघको भेलामा दाबी गरेका थिए। आजको सभाले ओली झनै कमजोर हुने स्थायी कमिटी सदस्य तथा संघर्ष समितिका सदस्य गणेश साहले दाबी गरे। 'जति गरे पनि ओली सुन्नेवाला त छैनन्। तर मनोविज्ञान के हो भने ठुलो सभाहरु र बिरोधहरु भइरहे भने शासकहरु आतिन्छन्,' उनले भने।

यी नेताले गर्दैछन् भाषण

संघर्ष समितिको मंगलवार बसेको बैठकले सम्बोधन गर्ने नेताको टुंगो लगाएको छ। यस अघिका सभामा सबैको प्रतिनिधित्व नभएको भन्दे प्रचण्ड नेपालको आलोचना भएको थियो। प्रचण्डले आत्मासमिक्षा गर्दै गल्ती नदोहोर्‍याउने बताएका थिए। आजको सभालाई समावेशी बनाएर केन्द्रीय कमिटीदेखि सचिवालय सदस्यलाई बोल्न लगाइने छ। दुई अध्यक्ष, प्रवक्ता नारायणकाजी श्रेष्ठ, बरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य भीम रावल, जनार्दन शर्मा, महिलातर्फ अम्रिता थापा, रामकुमारी झाक्री, अन्जना विसंखे र मधेशीतर्फ रामचन्द्र झा लगायतले बोल्ने तय भएको संघर्ष समिति सदस्य सूर्य सुवेदीले जानकारी दिए।

धेरै वक्ता भएकले अध्यक्षबाहेकलाई ५ मिनेट भित्रै भाषण सक्नुपर्ने तय भएको छ। 'आज धेरैले बोल्नु हुन्छ। त्यसैले समय एकदमै छोटो दिएको छ। ५ मिनेटमात्रै होला भाषण गर्ने,' उनले भने।

कार्यक्रम व्यवस्थापनमा जटिलता

नेताहरुका अनुसार प्रचण्डले टाउकोमै हान्न फेरि काठमाडौंमा अमसभा गर्नुपर्ने अडान लिएपछि १९ दिनको फरकमा दुई वटा आमसभाको आयोजना गरिएको हो। नेताहरुले विशाल आमसभा बन्दै प्रचार गरेपछि प्रतिष्ठाका लागि व्यवस्थापन गर्न जटिल भएको साहाको भनाई छ। 'नेताहरुले भनिहाल्नु भो। एक महिनामै ठुला आमसभा गर्न निकै कठिन रहेछ। व्यवस्थापन गर्नै सकस छ अहिले,' सुवेदीले भने।

आमसभामा सहभागी धेरै हुने भएकाले २ वटा मनिटर राख्ने तयारी छ। जिल्ला जिल्लाबाट मानिसहरु ल्याउन र स्थानीय हत मातहतका कमिटीलाई कोटा नै छुट्यार मानिस ल्याउन निर्देशन दिइएको छ।

काठमाडौं बिउँझाउने

आजको आन्दोलनमा बाहिरका सहभागी भन्दा पनि काठमाडौंका जनता बढी ल्याउने नेताहरुको दाबी छ।  जति चाँडो काठमाडौलाई आन्दोलित पार्न सक्यो त्यति चाँडो ओली सत्ताबाट बाहिरिने बुझाइमा प्रचण्ड नेपाल छन्। 'अदालत, निर्वाचन आयोग जे जे भनेपनि सडक नै हो हाम्रो आधार हो भन्ने बुझाइ छ हाम्रो। त्यसमा पनि काठमाडौं हो हाम्रा लागि टर्गेट। यसअघि काठमाडौ अलि सशक्त भएन भन्ने छ,' स्थायी कमिटि सदस्य साहले भने। प्रचण्ड नेपालले श्वतपत्र जारी गर्नुपर्ने माग उठिरहेको भएपनि श्वेतपत्र जारी गर्ने छैनन्। बरु उनीहरुले प्रतिबद्धता पत्र भने आमसभा पछि सार्वजनिक गर्ने तयारी छ।

पाँच ठाउँबाट जुलुस

बिहान ११ बजे पाँच ठाउँबाट जुलुस निकाल्ने तयारी प्रचण्ड माधव समूहले गरेको छ। राजधानीका पाँच स्थानबाट जुलुस निकाल्दै प्रदर्शन गर्ने नेकपाले जनाएको छ।

त्रिपुरेश्वरबाट निस्कने जुलुसलाई अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र जनार्दन शर्मालगायतले नेतृत्व गर्नेछन्। जुलुसमा वर्षमान पुन, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायतका नेताहरु पनि हुनेछन्।

त्यस्तै माइतीघरबाट शुरु हुने जुलुसलाई अमृत बोहरा, गिरिराजमणि पोखरेल, गणेश साह, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेललगायत नेताहरुले नेतृत्व गर्नेछन्।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र रघुजी पन्तलगायतले गर्नेछन्।

यस्तै केशरमहलबाट शुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतलगायत नेताहरुले गर्नेछन्। त्यसैगरी जमलबाट आउने जुलुसलाई लीलामणि पोख्रेललगायत नेताहरुले अगुवाइ गर्ने छन्। मुल जुलुस राजधानीको विभिन्न स्थान हुँदै काठमाडौंको प्रदर्शनी मार्गस्थित सभास्थलमा जम्मा हुने कार्यक्रम तय भएको नेकपाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell