PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विदेश जाने ४० वर्षभन्दा कम उमेरका महिलाले सिफारिस लिनुपर्ने कुरा उठ्यो कसरी?



पहिलोपोस्ट

विदेश जाने ४० वर्षभन्दा कम उमेरका महिलाले सिफारिस लिनुपर्ने कुरा उठ्यो कसरी?

काठमाडौं : पहिलो पटक भिजिट भिसा (पर्यटन भिसा)मा विदेश जना लागेका महिलाहरूका लागि अध्यागमन विभागले कडाइ गर्ने नियम ल्याउन लागेको छ। विभागले भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधिलाई संशोधन गर्दै थप कडाइ गर्ने नियम ल्याउन लागेको हो।

विभागले पठाएको कार्यविधि गृह मन्त्रालयको कानुन शाखामा पुगेको छ। गृह मन्त्रालयले विभागले गरेको संशोधनलाई स्वीकृत गरेमा महिलाहरूलाई भिजिट भिसामा विदेश जान थप कागजत्र पेश गर्नुपर्ने हुन्छ। ४० वर्षभन्दा कम उमेरका महिलाहरूले भिजिट भिसामा विदेश जाँदा परिवारको स्वीकृति र वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था प्रस्तावित कार्यविधिमा उल्लेख छ।

'हामीले परिवारको स्वीकृति पत्र भनेका थियौँ। त्यसपछि वडाको सिफारिस गर्ने भन्ने विषयमा बहस भएपछि हामीले संशोधनका लागि गृह मन्त्रालयमा पठाएका छौँ,' अध्यागमन विभागका महानिर्देशक रमेश कुमार केसीले भने।

यो नियम भने जोखिमयुक्त महिलाहरूका लागि लागू हुने विभागले जानकारी दिएको छ। पटकपटक विदेश गइरहेका महिलामा यो नियम लागू हुनेछैन। त्यस्तै, पढेलेखेका महिलामा पनि यो नियम खासै लागू नहुने केसीको तर्क छ। यो विषय सार्वजनिक भएलगत्तै महिलामाथि अध्यागमनको सोचलाई लिएर सामाजिक सञ्जाल तातेको छ। 

'जोखिमयुक्त महिलामा बढी हो। जो हातमा युएईको भिसा लागेको पासपोर्ट बोकेर कहाँ जाने भन्न समेत सक्दैनन्, उनीहरूको लागि यो नियम बढी प्रभावकारी हुनेछ। पहिलो पटक विदेश जानेहरूको लागि हो,' विभागका महानिर्देशक केसीले भने। विभागले महिलाको मानव तस्करी, विदेशमा गएर अलपत्र गरेका घटना बढिरहेकाले यसलाई नियन्त्रण गर्न यस्तो नियम ल्याएको दाबी गरे।

भिजिट भिसामा विदेश जाने महिला पुरुषको लागि यसअघि टू वे टिकट, होटेल बुकिङ लगायतका कागजपत्र देखाउनुपर्थ्यो। त्यस्तै एक हजार डलर समेत साथमा बोकेर जानुपर्ने थियो। तर, अहिलेको नयाँ संशोधनमा पुरुषको हकमा १५ लाख रुपैयाँसम्मको बिमा अनिवार्य गरिएको छ।

त्यस्तै, साथमा बोक्ने हजार डलरको सटही रसिद समेत देखाउनु पर्ने भएको छ। पहिले डलर सटही गरेको छाप पासपोर्टमा लगाएको भए पुग्थ्यो।

'परिवारको स्वीकृति महिलाका लागि मात्र हो। १५ लाखको बिमा र सटहीको रसिद भने पुरुषको हकमा पनि लागू हो,' महानिर्देशक केसीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell