PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रचण्ड-माधव समूहको विरोध कार्यक्रमका भुइँमान्छे : कसैलाई बस छुट्ने चिन्ता, कोही खाली खुट्टै दौडिँदै



समर्थ रञ्जित

प्रचण्ड-माधव समूहको विरोध कार्यक्रमका भुइँमान्छे : कसैलाई बस छुट्ने चिन्ता, कोही खाली खुट्टै दौडिँदै

काठमाडौं : बुधवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको विरोधसभा सुरु हुँदै थियो। रत्नपार्क र भद्रकालीको बीच सडकमा आयोजित विरोधसभामा आएका खड्कबहादुर यादव सुन्धारामा भेटिए। ट्राफिक प्रहरीसँग केही सहयोग माग्दै थिए उनी।

यादव नेपाली राम्ररी बोल्न जान्दैनन्। सँगै आएका साथीहरु भिडमा हराए। त्यसैले समस्या थियो अब घर कसरी फर्कने, कहाँ जाने ?

उमेर त्यस्तै ६० देखि ६५ वर्ष हुनुपर्छ यादवको। नवलपरासीबाट करिब २० वटा बसमा आएका थिए जिल्लावासी वासी। तिनै मध्ये एउटा बस चढेर आज बिहान काठमाडौं ओेर्लिएका थिए उनी। आफ्नै जिल्लाबाट पनि उनले चिनेका ४/५ जना भन्दा धेरै मान्छेहरु थिएनन्। चिन्ता बढो थियो उनलाई।

बसपार्कबाट घर फर्कने गाडी पाइन्छ भन्ने त थाहा थियो उनलाई। तर, कता हो, कति बेला पुग्ने हो मेसो थिएन्।

दुई जना मैथिली भाषी हुनुपर्छ सायद। उनीहरुले यादवलाई महांकालबाट रत्नपार्कतर्फ जानेबाटो सम्म पुर्‍याइदिए ताकी उनले विरोध सभामा गएर आफ्नो जिल्लाका साथीहरु खोज्न सकुन्। उनी त्यहीबाट अगाडि बढे।

विरोधसभामा रामकुमारी झाँक्री बोल्दै थिइन्, भिड थामि नसक्नु थियो। 

झाँक्री राष्ट्रपतिलाई चुनौति दिँदै थिइन्। यादवलाई भने भाषण सुन्न भन्दा जिल्लाका साथी भेट्न हतारो थियो।

नत्र आफू अलपत्र परिने भय त हुने भयो नै। त्यतिकैमा कुरा गर्न खोज्दाखोज्दै यादव त्यही भिडमा मिसिए। कता हराए, हामीले पत्ता लगाउन सकेनौं। हजारौैको उपस्थितिबीच यादवको अनुहार चिन्न कहाँ सक्नु ?

अनि हामी लाग्यौं आफ्नो बाटो। नेपाल विद्युत प्राधिकरण अगाडिको आकाशे पुल चढ्यौं। तल हेर्दा विरोधसभामा आएकाहरुको संख्या बढ्दै थियो। भिडबाट निस्कन कहाँ सक्नु? 

यादवलाई खोज्दा खोज्दै एकैछिन हामी नै अलपत्र पर्‍यौं। त्यही बसेर रमिते भइयो। 

जनप्रदर्शनमा आएका अधिकांशको अगाडि बदामको थुप्रो अनि स्कृनमा भाषण सुन्दै थपडी पड्काइहरेका कार्यकर्ताहरु देखिन्थे।

बाराबाट आएको अर्को समूह शहीद गेट अगाडि बसेको थियो। उनीहरु पनि सजग थिए आफ्नो समूह नछुटोस भनेर, 'खाना अघि नै खाइयो, आजै बेलुकी लैजान्छ रे,' त्यही समूहका एकजनाले भने।

त्यहीँ भेटिए विराटनगरका नेकपाका कार्यकर्ता उदय यादव। उनले आफ्नो परिचय दिँदै गौरवमा साथ धक्कु लगाउँदै थिए: यो आन्दोलनमा सबैभन्दा ठूलो झण्डा हामीले ल्याएका छौं, विराटनगरबाट।

त्यहाँ भन्दा केही अघि पुग्दा तराइबाटै आएका केही बालबालिका सहितको समूह देखियो। निधारमा सूर्य चिह्न अंकित झण्डा बेरेका उनीहरु आन्दोलनलाई 'सेलिब्रेट' गरिरहेका थिए।

भाषण सुरु भएसँगै सुन्धारातर्फबाट गाडीहरुलाई प्रवेश गर्न अनुमति दिएको थियो। सुन्धारादेखि जमलहुँदै दरबारमार्गसम्म गाडीको जाम देखियो। अर्कोतर्फ भने महेन्द्र शालिकबाटै भद्रकालीसम्म नेकपा कार्यकर्ताहरुले भरिएको थियो। भिडमा हिँडने अधिकांशको मुखमा मास्क थिएन।

त्यही तल बागबजार जाने बाटोतर्फबाट आकाशेपुलमा हेर्दा मानिसहरु 'बाँदरे पोजमा' बसिरहेका देखिन्थे।

महेन्द्र शालिक नजिकै आइपुग्दा अर्को फरक दृश्य पनि देखियो। र्‍यालीकै क्रममा एउटी आमा आफ्नो बच्चासँग खालि खुट्टै र्‍यालिमा दौडिइहरेकी थिइन्।

बिहानदेखि विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै र्‍यालीमा आएकाहरुले बाजागाजा बजाउँदै प्रधानमन्त्री ओली विरुद्धको नारा लगाइरहेका थिए। र्‍यालीका क्रममा प्रदर्शनकारीले एम्बुलेन्सलाई अघि बढ्न पास दिएका थिए।

पुरानो बसपार्कमा गाडी नपाएर अलमलमा परेकाहरु भने बिहानै देखि त्यतिकै बसिरहेका थिए। र्‍याली सुरु भयो, भाषण सुरु भयो। टाढाबाट आउनेहरु गाडीसँग समन्वय मिलाउनमा हतारिएका देखिन्थे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell