PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओलीको आमसभामा देखिएका 'वामदेव' प्रचण्ड-नेपाल समूहको आमसभामा पनि, हातमा बोकेका थिए यस्ता 'प्लेकार्ड'



लक्ष्मी बलायर

ओलीको आमसभामा देखिएका 'वामदेव' प्रचण्ड-नेपाल समूहको आमसभामा पनि, हातमा बोकेका थिए यस्ता 'प्लेकार्ड'

सत्ताबाट सडकमा झरेका होस् या सत्तामा बसेर सडकमा उत्रेका नेकपा। अहिले राजधानी केन्द्रित शक्ति प्रदर्शनको होडमा छ। दुबै पक्षको प्रदर्शनमा अहिलेको एउटै डर हो कोरोना महामारीको। कोरोना संक्रमणको जोखिमकाबीच उनीहरु सडकमा मास्क नलगाई नाराबाजी गरिरहेका भेटिन्छन्।

बिहीवार देखियो त्यस्तै।

चर्को भिडमा मानिसहरु ठेलमठेल गर्दै गर्दा उनीहरुको मुखमा मास्क कमैमात्रमा देखिन्थे। हातमा पार्टीको झन्डा बोकेर ओलीविरुद्ध नारा घन्काउँदा सायद मास्कले साथ दिएन। अथवा आन्दोलनको रापले पेलिएका उनीहरुलाई के मतलब मास्कको। 

यस्तै भिडमा एउटा दृश्य भने फरक देखियो।

सेतो टी-सर्ट माथि जिनको ज्याकेट भिरेका। खैरो टोपी, अनि चस्मा लगाएका। ‘हजुरको मास्क खै?’ भन्ने प्ले कार्ड बोकेर ती युवा ओहोरदोहोर गरिरहेको देखिन्थे। 

‘हजुर कसलाई देखाउन मास्क नलगाइ आएको? आफैँलाई सोधौँ,’ भिडका बीचमा सोधिरहेका हुन्थे।

पुरानो बसपार्क नजिकै उभिएका उनी कहिले उता पुग्थे, कहिले यता। ‘कृपया मास्क प्रयोग गरौँ’, पोस्टर फेरिफेरी देखाइरहन्थे उनी। अनि मास्क लगाउनुहोस् भन्दै सम्झाइरहेका पनि देखिन्थे।

भिडमा कोरोनाविरुद्ध सचेतता फैलाउन एक्लै उभिएका उनी कपिलबस्तुका वामदेव पौडेल रहेछन्। हाल ललितपुरमा बस्ने उनी त्रिचन्द्र कलेजमा स्नातक प्रथम वर्षमा पढ्छन्। विज्ञान विषय पढ्ने उनी धेरैजसो मानिसहरुले र्‍यालीमा मास्क नलगाएको देखेपछि सचेत बनाउन आएो बताउँछन्।

‘मैले गर्दा कसैलाई सकारात्मक प्रभाव पर्छ भनेर व्यक्तिगत इच्छाले यस्तो गरिरहेको छु। कसैलाई यस्तो गरेको देखिनँ। त्यसैले यस्तो गर्ने सोच आयो’, उनी भन्छन्, ‘यसरी देखाउँदा र मास्क लगाउनुहोस् भन्दा धेरै मान्छेले मास्क लगाइरहनुभएको छ।’

कुनै पनि पार्टीमा समर्थन नरहेको दावी गर्ने उनले मानव भएको धर्म निभाउँदै चेतना फैलाउन आएको सुनाए।

‘राम्रो कामहरु एक जनाबाट शुरु गर्दा नि फरक पर्दैन। मैले गरेको देखेपछि अरुले नि गर्नुहुन्छ। जुन राम्रो कुरा हो,’ उनले भने।

मानिसहरुलाई मास्क खै? भन्दा गोजीमा छ भन्दै देखाउनुहुन्छ त्यो कुरामा भने उनलाई निकै अचम्म लाग्छ। भन्छन्, ‘कोरोना फैलिरहेको बेला हामीले मास्क लगाएर आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ।’

उनले नेकपा ओली पक्षले दरबारमार्गस्थित शुक्रवार गरेको आमसभामा पनि यसरी नै चेतना फैलाएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell