काठमाडौँ: २५ वर्षीय निशा राई सवार बस गोर्खाको पालुङटारबाट मंगलबार राति ९ बजे काठमाडौँका लागि छुट्यो। गाडीमा सवारहरुको उद्देश्य थियो -प्रचण्ड-नेपाल पक्षले घोषणा गरेको वृहत् आमसभामा भाग लिनु। तर, काठमाडौँ जाने हतारोबारे स्पस्ट जानकारी भने थिएन निशालाई।
बुधबार बिहान ४ बजे आइपुग्यो बस। पहिलोपटक काठमाडौँको यात्रा थियो उनको।
पूर्व लडाकुसमेत रहेका छिमेकी दाइले 'काठमाडौँ जानुपर्छ भाइलाई पनि लाने हो' भनेपछि भाई सानुबाबु भुजेललाई पनि सँगै ल्याइन् उनले।
उनै निशा प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसअघि भेटिइन्। प्रदर्शनकारीको घचेटमघचेट भीडमा भेटिएकी उनको ध्यान भने आन्दोलनमा रहेनछ।
भन्दै थिइन्, 'रात्रि बस चढाएर काठमाडौँ ल्याए। किन ल्याको थाहै थिएन। दुई छोरालाई माइतमै छाडेर आएकी छु।'
मेलापात गरेर गुजारा चलाउँदै आएकी निशा यस्तो आमसभामा पहिलोपटक सहभागी भएकी रहिछन्।
स्टेजमा नेताहरुको भाषण चलिरहेकै थियो। त्यहीबेला निशाका छेउमा एक जना व्यक्ति आए। ती व्यक्तिले थप कुरा नगर्न संकेत गरे। 'हामी आएको गाडी कहाँ होला?' निशाले प्रश्न गरिन्।
छुटिएला कि भन्ने डरले ती व्यक्तिसँगै भीडमा छिरे निशा र सानुबाबु।
+++
त्यही भीडबाट केही पर भेटिए ६६ वर्षीय मानबहादुर गुरुङ। उनको मोबाइल अफ भएको रहेछ। आफ्नो बगाल बिराएका उनलाई त्यसैले आपत परेछ। 'सँगै आएका साथीहरुसँग कसरी सम्पर्क गर्नु?' उनी पुस्तक पसलतिर उक्लेर चार्जर खोज्दै थिए।
'प्रतिगामी कदम मुर्दावाद्! संसद विघटन खारेज गर!! राष्ट्रिय युवा संघ, नेपाल' मास्कमा लेखिएको मास्क लगाएका थिए गुरुङले। कडा नारा लेखिएको मास्क लगाए पनि बाध्यताले काठमाडौँ आइपुगेको सुनाए गुरुङले।
मंगलबार साँझ नै काठमाडौँ आइपुगेका गुरुङ पोखरा उपमहानगरपालिका ३२ नम्बर वडाका स्थायी बासिन्दा रहेछन्। 'समाजमा बसेपछि त्यसै अनुसार चल्नुपर्ने। जे गरे पनि जनताले नै दु:ख पाउनुपर्ने रहेछ,' उनले भने 'आज नआए फेरि प्रतिगमनको समर्थक भन्लान भन्ने डरले आएको।'
आफैँ संलग्न आन्दोलनबाट दुबै नेकपालाई उनको प्रश्न थियो, 'चुनावका बेला गरेका वचन पूरा गर्नुपर्नेमा एकअर्कामा विभाजित भइ फेरि आन्दोलन गर्दै जनतालाई कति दु:ख दिएको?'
निशाले त्यस्ता महिलाहरुको प्रतिनिधित्व गर्दै थिइन् जो आन्दोलनमा हुल बाँधिएर सहभागी त भए तर किन? थाहै छैन। त्यस्तै मानबहादुरले पनि बाध्यात्मक परिस्थितिले सहभागी बनाएकाहरुको।
+++
दिउँसोको ३:०० बजिसकेको थियो। भीड बाक्लै थियो। आन्दोलनकारीहरुको बीचमा थिए लक्ष्मी र मनीषा कार्की।
रातो क्याप, गालामा नेकपा अंकित चिन्ह छाप बनाएका, कालो रङको विरोधाभाष झल्काउने टिसर्ट लगाएका थिए उनीहरुले। 'प्रतिगमनका छोराछोरीले प्रतिगमनलाई प्रतिगमन भन्दैनन् 'बा' भन्छन्'।
बर्दियाकी लक्ष्मी र दैलेखकी मनीषा दुवै विद्यार्थी संगठनमा आवद्ध रहेछन्।
आन्दोलनमा सहभागी हुनुको उद्देश्यप्रति स्पष्ट र दृढ देखिन्थे उनीहरु।
त्यहाँ उपस्थित केहीले उनीहरुसँग फोटो खिचाउँदा निकै उत्साहित देखिन्थे दुवै।
'आजसम्म भएको यो तेस्रो चरणको आन्दोलनमा पनि सक्रिय रुपमा सहभागी भइरहेको विरोधको प्रतीक कालो कपडामा,' मनीषाले भनिन्।
त्यसो त आन्दोलनमा सहभागी हुन अझै पनि परिवारको साथ पाएका रहेनछन् उनीहरुले। 'पढेर पनि देशकै लागि केही गर्ने हो भनेर परिवारलाई बुझाउन निकै गाह्रो छ,' मनीषाले सुनाइन्, 'तर हामी कुनै व्यक्तिभन्दा पनि अहिले सत्ताको पहुँचमा बिगारिएको सिस्टमको बिरोधमा छौँ। भोलिका दिनमा फेरि आजको नियति नदोहोरियोस् भन्ने हो।'