PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'बाजा बजाउन जान्नेहरु' गोरखाबाट बाजा लिएर आए



लक्ष्मी बलायर

'बाजा बजाउन जान्नेहरु' गोरखाबाट बाजा लिएर आए

रत्नपार्कको आकाशे पुल तल रातो रंगको सारी र चोलो, कम्मरमा पहेलो पटुकी लगाएर लहरै महिलाहरु बसिरहेका छन्। प्राय: सबैले एकै प्रकारको पहिरन लगाएका। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले गरेको जनप्रदर्शनमा आएका उनीहरु सचेत देखिन्थे एकअर्कासँग छुटिएला भनेर त्यसैले 'सँगसँगै हिड्नुपर्छ'  भनेर एकले अर्कालाई भनिरहेका थिए।

जनप्रदर्शनमा भिड बढ्दै थियो। उनीहरुलाई हराइन्छ भनेर चिन्ता थियो। त्यसैले एउटै समूहमा उनीहरु बसिरहेका थिए। जनप्रदर्शनमा रौनक थप्न भनेर पञ्चेबाजा बजाउने महिलाको समुह रत्नपार्क पुगेको रहेछ।

मंगलबार साँझ गोरखाबाट बसमा काठमाडौँ हिँडेका रहेछन्। आज बिहान काठमाडौं पुगे र सोझै पुगे प्रदर्शनस्थल। सुरुमा त भिडमा हराउने भन्ने डर भयो। पछि एकले अर्कालाई सम्हाल्दै एकै ठाउँमा भेला हुँदै बसे।

ती महिलाहरु जनप्रदर्शनमा आउनुको मुख्य उद्देश्य थियो- आफुमा रहेको क्षमता देखाउन।

पञ्चेबाजा समूहको नाम  'शुभारम्भ उद्यमी महिला समुह'। गोरखामा विवाह, व्रतबन्धमा पञ्चेबाजा तथा नौमति बाजा बजाउने उनीहरुको पेशा।

महिलाहरुले पञ्चेबाजा बजाउने भनेपछि गाउँघरमा पहिला रोकतोक थियो। तैपनि समाजलाई चुनौति दिँदै सुरुमा २-४ जना मिलेर समुह खोलेको बताउँछिन् समूहकी अध्ययक्ष मिना काप्री।

भन्छिन् 'शुरुमा पैसा सापटी लिएर बाजा किनेका थियौँ। पछि महिलाहरु आकर्षित भएर अहिले ६० जनाको टिम बनेको छ।'

आउन त सबै टिम नै काठमाडौं आउने चाहना थियो नौमती र पञ्चेबाजा बजाउन। प्रदर्शनमा रौनक थप्न। आफूहरुभित्र रहेको कला देखाउन। तर केही महिला भने घरायसी कारणले गोरखामै छुटे।

प्रचण्ड नेपाल समूहको जनप्रदर्शन भएपनि आफूहरु पार्टी हेरेर काठमाडौं नआएको बताउँछिन् समूहकी कोषाध्यक्ष रमा बस्नेत।

यद्यपि, उनी केपी शर्मा ओली सरकारसँग असन्तुष्ट छिन्। प्रतिनिधिसभा विघटनका कारण जनताले दु:ख पाएको उनको मत छ।

भन्छिन् ' हामीले ५ वर्षको लागि भनेर चुनेर पठाएको हो। तर २ वर्षमै केके खलबल भयो। नेता नेताको कुरा हामी बुझदैनौँ। दु:ख जनताले पाइरहेका छौँ।'

त्यसैले प्रधानमन्त्री ओलीको 'प्रतिगमन' विरुद्ध शान्तिपूर्ण आन्दोलन रहेछ भन्ने थाहा पाएर आएका सुनाउँछिन् उनी। काठमाडौंसम्म आउन बस्न १५ हजार रुपैयाँको बन्दोबस्त समेत भएको रहेछ।

प्रदर्शनमा क्षमता नि देखाउन पाइन्छ अनि समूहको नि विज्ञापन हुन्छ भनेर आएको रमा बताउँछिन्।

'यो ठाउँमा आउँदा सबैले देख्छन्। महिला पनि यसरी बाजा बजाउन सक्दा रहेछन् भनेर देख्छन्। यही सोचेर हामीहरु आयौँ' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell