PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

रामकुमारीको नाटकीय इन्ट्री, नारायणकाजीले थर्काए ऋषि धमलालाई : ओलीलाई धम्क्याएका प्रचण्डले सम्बोधन गरेनन् कार्यकर्ताको माग



प्रकाश भण्डारी

रामकुमारीको नाटकीय इन्ट्री, नारायणकाजीले थर्काए ऋषि धमलालाई : ओलीलाई धम्क्याएका प्रचण्डले सम्बोधन गरेनन् कार्यकर्ताको माग

काठमाडौँ: काठमाडौँमा हाल भइरहेका ठूल्ठूला सभा कानुनतः एउटै पार्टीका हुन्। नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राजनीतिक रूपमा विभाजन भए पनि कानुनी मान्यता पाइसकेको छैन। शक्ति प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओली इतरको नेकपा मात्रै होइन ओली नेतृत्वकै नेकपा पनि छ। पुस ५ मा भएको प्रतिनिधिसभा विघटनपछि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले ओलीलाई निशाना बनाएका छन्। पुस १४ र माघ ९ मा ओलीलाई आफूहरूले देखाइदिएपछि ओलीले पनि कास्टिङ गर्ने उद्घोष गरेका थिए। उनकै इच्छा अनुरूप ओली समूहका नेता माघ २३ मा नारायणहिटी अगाडि शक्ति प्रदर्शन गर्न तयार भए। फितलो व्यवस्थापन गरेका ओली समूहलाई प्रचण्ड नेपाल समूले भने नारायणहिटी अगाडि क्वाँक्वाँ रोएको संज्ञा दिएका छन्।

ओलीलाई सत्ताबाट हटाउन भन्दै प्रचण्ड नेपालले बुधबार काठमाडौँमा शक्ति प्रदर्शन गरे। ओलीको सभामा धेरै मानिस नआएको र आफ्नो सभामा व्यापक उपस्थिति भएको भन्दै प्रचण्ड-नेपाल सभामा हौसिएको देखिए। कार्यक्रम भव्य बनाउने प्रयास गरिएको भए पनि प्रचण्ड-नेपाल समूहको कार्यक्रम भने आलोचनामुक्त रहन सकेन।

वक्ता मात्रै भन्दा माधवको अनुहार कालो

माघ ९ को सभाको व्यवस्थापन चुस्त नभएपछि प्रचण्ड र संघर्ष समितका संयोजक नारायणकाजी श्रेष्ठबीच चर्काचर्की नै भएको थियो। नारायणकाजीले सार्वजनिक रूपमा सभा व्यवस्थापनमा कमजोरी भएको र आफूले ठाउँको ठाउँ विरोध गरेको प्रस्टीकरण दिएका थिए। आफ्नो सभाप्रति भएको आलोचनालाई ध्यान दिएरै प्रचण्ड-नेपालले होसियारी अपनाएका थिए। यसअघि नेताहरूलाई सोफामा राख्ने गरिएकोमा बुधबारको सभामा मञ्चमा सबैलाई कुर्सी मात्रै राखिएको थियो। कार्यक्रमलाई समावेशी बनाउन वक्ताको सूची पनि लामै बनाइएको थियो। कार्यक्रम सञ्चालनको जिम्मेवारी पाएका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले प्रचण्डलाई सुरुमा आसन ग्रहण गराए। उनलाई उनले प्रमुख अतिथि तथा मुख्य वक्ता भनेर सम्बोधन गरेका थिए। प्रचण्ड पछि आसन ग्रहण गर्ने पालो माधवकुमार नेपालको थियो। सञ्चालक पोखरेलले सम्बोधनका क्रममा 'आजका वक्ता' मात्रै भनेपछि माधव नेपालले अनुहार निलो कालो बनाएका थिए।

प्रचण्डले त्यसको भेउ पाएपछि पोखरेललाई सच्याउन इसारा गरेका थिए। तत्कालै पोखरेलले आफूले गल्ती गरेको बताए। 'मैले गल्ती गरे। हाम्रा पार्टीका दुवै अध्यक्ष मुख्य वक्ता हो,' उनले भने।

नेकपा विभाजनपछि सबैजसो ठाउँका सभामा प्रचण्ड अन्तिम वक्ताका रूपमा सम्बोधन गरिरहेका छन् भने त्यसअघि माधव नेपालले सम्बोधन गर्छन्।

कुर्सी नै पुगेन

आमसभामा कसले सम्बोधन गर्ने भन्ने टुंगो लगाउन प्रचण्ड नेपाल समूहले निकै समय लगाएको थियो। समावेशी बनाउनुपर्ने दबाब भएपछि धेरै दिन आन्तरिक छलफलपछि मात्रै टुंगो लागेको थियो। मञ्चमा सचिवालय, कार्यक्रमका वक्ता, स्थायी कमिटी सदस्यलाई बस्न आग्रह गरिएको थियो। तर कुर्सी भने पुगेन। कुर्सी नै नपुगेपछि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कुर्सी मागेर बस्नुपरेको थियो। अरू नेताहरू भने कार्यकर्तासँगै बसेका थिए। सभालाई समावेशी बनाउन भन्दै मञ्चमा विभिन्न क्षेत्र भूगोल लिङ्ग लगायतका आधारमा आसन ग्रहण गराइएको थियो। मञ्च सानो भएपछि नेताहरू भने अटेस्-मटेस गरेर बस्नुपर्‍यो।

मञ्चको बीचमा बसेका दुई अध्यक्षलाई निर्वाचन आयोगको काम हेर्ने पार्टीको जिम्मेवारी पाएका नेता सुरेन्द्र पाण्डे भने बेला बेलामा मञ्चमा गएर कानेखुसी गरिरहन्थे कार्यकर्ताको बाक्लो उपस्थिति भएकाले र मञ्चमा जान कडा सुरक्षा व्यवस्था गरिएकाले नेताहरूलाई मञ्चमा जान पनि सकस भइरहेको थियो।

कता गए योगेश?

नेकपाको दोस्रो तहका नेताको ट्याग पाएका नेताहरुमध्ये बुधबारको सभामा बोल्ने पालो स्थायी कमिटी सदस्य जनार्दन शर्माले पाएका थिए। घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेता भने मञ्चमा देखिएनन्। उनी मञ्चमा नआएपछि कार्यक्रम सञ्चालक पोखरेलले उनलाई जहाँ भए पनि मञ्चमा आउन आग्रह गरेका थिए। संघर्ष समितिका सह-संयोजकको जिम्मेवारीमा रहेका भट्टराई त्यसपछि पनि मञ्चमा देखिएनन्। भीम रावल कार्यक्रम सुरु हुनुभन्दा पहिला मञ्चमा देखिए पनि पछि भने उनी पनि देखा परेनन्। बरु उनले सुदूरपश्चिमको नेतृत्व गर्दै केन्द्रीय कमिटी सदस्य भानुभक्त जोशीलाई बोल्न लगाएका थिए।

प्रचण्ड-नेपाल समूहले वक्ता छान्दा नै समावेशी र अघिल्लो पटक बोलिसकेकालाई कम प्राथमिकतामा राखेर छानेको थियो। अघिल्लो पटक पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बोल्न इन्कार गरे पनि बुधबार भने लामै भाषण गरे। अघिल्लो पटक एक जना महिलालाई पनि बोल्न नदिएका प्रचण्ड नेपालले भने आज महिलालाई विशेष प्राथमिकता दिएको देखाउन तीन जना महिला वक्ता राखेको थियो। यस पटक वक्ता छान्दा नै महिलालाई बढी राख्नुपर्ने आवाज उठेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

'अघिल्लो पटक नेतृत्वको केही कमजोरी पनि भयो। यस पटक समावेशी बनाउनुपर्ने बाध्यता भएकाले पनि धेरै वक्ता राखियो। महिलालाई प्राथमिकता दिनुपर्ने त आवाज नै उठेको थियो। त्यसैले पनि महिला प्राथमिकतामा पर्नुभयो,' उनले भने।

ओलीबाट सिके प्रचण्ड नेपालले

अघिल्लो पटकको सभामा गृह मन्त्रालयले ड्रोन उडाएर आफ्ना गतिविधिको निगरानी गरेको आरोप लगाएको प्रचण्ड नेपाल समूहले आज भने आफैँले ड्रोन उडाएको थियो। ओली समूहले माघ २३ को काठमाडौँको सभामा ड्रोन उडाएर आफ्नो आमसभाका दृश्यलाई देखाउन लगाएको थियो। ठाउँ ठाउँमा हेर्नका लागि मनिटरको समेत व्यवस्था गरेको थियो ओली समूहले। प्रचण्ड नेपालले पनि आफ्नो आमसभा देखाउन आज मनिटर राखेका थिए। रत्नपार्क, भद्रकाली र पद्मोदय मोडसम्म भाषण सुनाउन माइक जोडिएको थियो।

कार्यक्रम सुरु नहुँदै दुई वटा ड्रोन उडे। र्‍याली कति ठुलो छ? भनी देखाउन सुरुदेखिनै ड्रोन उडाइएको थियो। एउटा ड्रोन भने मञ्चमाथि केन्द्रित गरेर उडाइएको थियो। ड्रोन माथि आएपछि कार्यकर्ताले त हुटिङ गर्थे नै मञ्चमा बसेका प्रचण्ड-नेपालले आफ्नो माथि ड्रोन आउँदा हात हल्लाएका थिए।

कार्यक्रमलाई खिच्न ड्रोन उडाइएको भए पनि कार्यक्रमकै बीचमा ड्रोन खसेको थियो। कार्यक्रम सञ्चालक पोखरेलले मञ्चबाट ड्रोन खसेको जानकारी दिएका थिए। हामीले ड्रोन उडाएका थियौँ। यता कता ड्रोन खसेको छ। भेटाउनुहुने महानुभावले सुरक्षित राखिदिनुहोला-पोखरेलले हराएको जानकारी सुनाएपछि कार्यकर्ता भने गलल हाँसेका थिए।

कार्यकर्ताले मानेनन् प्रहरीको आदेश

प्रचण्ड नेपालको सभा हेर्न भृकुटीमण्डप, भद्रकाली, रत्नपार्क र प्रदर्शनीमार्गको सडक खचाखच थियो। भुईँबाट राम्ररी नदेखिने भएपछि केही कार्यकर्ता भने सभास्थल अगाडिका रुखमा चढेका थिए। धमाधम रुखमा चढन थालेपछि नेताहरूले रुखबाट खसेर दुर्घटना हुनसक्ने भन्दै माइकबाट भुईँमा झर्न आग्रह गरे। स्वयंसेवकलाई भुईँमा झार्न आग्रह गर्दा पनि रुखबाट नेताले प्रहरी गुहारेका थिए। तर प्रहरीले हप्की दिँदासमेत रुखबाट झर्न कार्यकर्ताले मानेनन्। कार्यक्रमस्थलको अगाडितिर बसेरै भाषण सुनिरहेका कार्यकर्ता टाढाबाट नदेखिएपछि मनिटर अगाडि बसेरै हेरिरहेका थिए। ओली समूहको प्रदर्शनमा बसेर हेर्नेभन्दा उठेरै हेर्ने देखिएका थिए भने प्रचण्ड-नेपालकोमा बसेर हेर्नेको संख्या धेरै थियो।

केही कार्यकर्ता प्रहरीको हप्कीसँग डराए पनि धेरैजसो निर्धक्क देखिए। कार्यक्रम समापन हुँदासम्मै उनीहरूले सभालाई रुखबाट नियाले। बेलाबेलामा प्रहरीले भने उनीहरूलाई टर्चर भने दिइनै रह्यो। अघिल्लो पटक सभास्थल अगाडि डोरी बाँधेर सुरक्षा व्यवस्था कडा पारिएको भए पनि आज भने त्यति कडा देखिएन। मञ्चको अगाडि सञ्चारकर्मीलाई मात्रै प्रवेश गर्ने व्यवस्था गरिएको भए पनि कार्यकर्ताले भने त्यो निर्देशन पनि मानेनन्।

रामकुमारीको नाटकीय इन्ट्री

प्रचण्ड नेपाल समूहबाट प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को विरोध गर्ने नेताको सूचीमा छन् रामकुमारी झाँक्री। झाँक्रीले राष्ट्रपतिलाई समेत आलोचनाको तारो बनाएपछि ओली समूहका नेताहरूले रामकुमारीलाई निशाना बनाएर प्रहार थालेका छन्। उनले गोर्खामा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीलाई बालकोट जान सुझाव दिएपछि उनको चर्को आलोचना भएको थियो। उनलाई पक्राउ गर्नुपर्ने समेतको माग ओली समूहका नेताहरूले गरिरहेका छन्।

झाँक्री बुधबारको आमसभाको लागि वक्ता तोकिएकी थिइन। उनले के भाषण गर्लिन् भनेर धेरैलाई चासो पनि थियो। भाषण गर्ने पालो आउनेबित्तिकै उनको पक्षमा हुटिङ गरेका थिए कार्यकर्ताले। उनको इन्ट्री भने अरू नेताको भन्दा फरक रह्यो। उनले मुखमा पट्टी लगाएर मास्क लगाएका थिइन भने प्रतिगमन मुर्दावाद लेखिएका एप्रोन लगाएकी थिइन। उनले सुरुमा एप्रोन खोलेर फ्याँकिन् भने त्यसपछि मास्क खोलेर मुख टालिएको देखाइन। मुखको टेप खोलेपछि उनले बोल्न पाइन्छ भन्दै भाषण दिइन। राष्ट्रपतिको आलोचना गरेपछि आफूलाई नबोल्न दबाब आएको संकेत स्वरूप उनले मुखमा पट्टी लगाएकी थिइन।

'बोल्न पाइन्छ, नागरिकको अधिकारका लागि बोलेका हौँ। केपी ओली कागजी बादशाह हुन् ढलिसके अब घोषणा मात्र बाँकी छ। राष्ट्रपति पद हाम्रो रगत र पसिनाको हो। खलपात्रको विरुद्ध कसले भन्छ बोल्न पाइँदैन? कसले भन्छ महिला अस्मिता बेचिएको छ? झाँक्रीले प्रश्न गर्दै भनिन्।

नेताको मागबारे बोलेनन् प्रचण्ड नेपाल

प्रचण्ड नेपालले धेरैजसो सभाहरूमा एउटै प्रश्नको सामना गर्नुपरेको छ -तपाईँको प्रतिबद्धता कहिले आउँछ। यो प्रश्न नागरिक समाजका अगुवादेखि उनको नेता कार्यकर्ताले सोधिरहेका छन्। पत्रकारसँगको अन्तरक्रियामा प्रचण्ड नेपालले आफ्ना कमीकमजोरीको समीक्षा गर्दै प्रतिबद्धतासहितको श्वेतपत्र जारी गर्ने बताएका थिए। प्रचण्ड-नेपाल समूहको ने क पाभित्र यसबारे लामै समयदेखि चर्चा भइरहेको भए पनि हालसम्म प्रचण्ड-नेपालले त्यसप्रति रुचि देखाएका छैनन्। बरु उनीहरुले तयारी भइरहेको भन्दै टार्न खोजिरहेको देखिन्छ। बुधबारको आमसभामा प्रचण्ड-नेपाल दुबै जनाले श्वेतपत्रको नाम समेत उच्चरण गरेनन्। तर, उनीहरू अघि बोलेका नेताहरूले भने प्रचण्ड नेपालको प्रतिबद्धता खोजेका थिए। रामकुमारी झाँक्रीले ओलीजस्तो नेता अब पार्टीले नजन्माउने प्रतिबद्धता चाहिने माग गरेकी थिइन् भने जनार्दन शर्माले ओलीलाई अहिलेको ठाउँमा पुर्‍याउनमा नेतृत्वको हात रहेको भन्दै त्यसको समीक्षा हुनुपर्ने माग गरेका थिए।

राजनीतिसँगै उठाए बलात्कारको मुद्दा

महिला वक्ताको रूपमा थिए झाँक्रीसँगै अमृता थापा र अञ्जना विशंखे। उनीहरूलाई सुरुमै बोल्न लगाइएको थियो। तीनै जना महिला नेताको भाषण चर्को सुनियो। कार्यकर्ताले हुटिङ गरेर उनीहरूको भाषणको स्वागत गरेका थिए। थापाले ओलीलाई बालुवाटारबाट घिसार्ने चेतावनी दिएकी थिइन भने बलात्कारीसँग गृहमन्त्री रामबहादुर थापाको साठगाँठ रहेको आरोप लगाइन। 'गृहमन्त्रीलाई बलात्कारीलाई ल्याएर थुन्न कसले रोकेको छ। उहाँ नै त्यससँग जोडिनुभएको थियो। त्यस्ताले केपी ओलीलाई बा भन्छन्,' थापाले भनिन्।

अर्की वक्ता अञ्जना विशंखेले पनि प्रधानमन्त्री ओलीको चर्को आलोचना गरिन्। उनले विद्रोह गर्ने भन्दै ओलीलाई चेतावनी दिएकी थिइन। झाँक्रीले पनि प्रधानमन्त्रीले बलात्कारका मुद्दा सरकारको प्राथमिकतामा नपरेको भन्दै आलोचना गरिन्।

प्रचण्डको दाबी ५ लाख

कार्यक्रमको अन्तिम वक्ताको रूपमा सम्बोधन गरेका प्रचण्ड कार्यकर्ताको सहभागिता देखेर मक्ख देखिन्थे। बेला प्रचण्ड-नेपालले सहभागीलाई देखाएर कानेखुसी समेत गरिरहेका हुन्थे। बेला-बेलामा सञ्चालकले रत्नपार्क, भृकुटीमण्डप लगायतका ठाउँमा सहभागी भरिएको भन्दा उनीहरूले टाउको हल्लाइरहेका हुन्थे। अरू नेताले सम्बोधनका क्रममा कति सहभागी छन् भन्नेबारे केही अनुमान नगरे पनि प्रचण्डले भने सम्बोधनका क्रममा ५ लाख सहभागी रहेको दाबी गर्न भ्याए।

'मलाई साथीहरूले एसएमएस गर्नुभएको छ। ५ लाख अहिले सहभागी हुनुहुन्छ भन्ने छ,' उनले भने।

५ लाख सहभागी भएको भन्दै उनले अब १० लाख लिएर बालुवाटार घेर्ने चेतावनी दिए। उनले भाषणका क्रममा ओली अब निकै कमजोर भएको दाबी गरेका थिए। दुई जना मन्त्रीले समेत आफ्नो समूहमा आउन चाहेको उनको दाबी थियो।

'ओली नसच्चिए चाँडै १० लाख मानिस लिएर बालुवाटार र सिंहदरबार घर्नेछौँ। धेरै त म भन्दिनँ अरू त अरू दुई जना मन्त्री पनि आउन मसँग वार्ता गरिरहेका छन्,' उनले भने।

नारायणकाजीले थर्काए ऋषि धमलालाई

अघिल्लो पटक मञ्चमै प्रचण्डसँग मुखामुख गरेका नारायणकाजी श्रेष्ठले आज पनि झोक्किए। आज भने उनी आफ्ना नेतासँग मख्ख देखिन्थे। तर जब उनको भाषण सुरु भयो पत्रकार ऋषि धमलालाई डिस्टर्ब नगर्न भन्दै हप्काए। उनले इन्टरभ्यू लिएर नेता कार्यकर्ताको ध्यान नमोड्न माइकबाट चेतावनी दिए। 'ऋषिजी त्यहाँ उभिएर कार्यक्रम नचलाउनुस्। तपाईँको कार्यक्रम बन्द गरिहाल्नुस् त!,' झक्किँदै श्रेष्ठले भने।

एकपटक भनेर धामलाले नमानेपछि श्रेष्ठले पटक-पटक उनलाई कार्यक्रम रोक्न चेतावनी नै दिए। उनले चेतावनी दिँदा भने भुईँमा बसेका कार्यकर्ता उठेर पत्रकार होसियार भन्दै नारा लाउन भ्याए। केही बेर खैलाबैला भए पनि श्रेष्ठले भाषणलाई निरन्तरता दिएपछि फेरि माहोल शान्त भएको थियो। उनको भाषण ओलीको प्रतिगमन कदमविरुद्ध कम पार्टीले सरकार बनाएमा के गर्ने छ भन्नेबारे बढी केन्द्रित थियो।

'केपी ओलीले विकासका नाममा फाँसीवादको अभ्यास गर्दैछन्। संयुक्त संघर्ष गर्न चाहिरहेका छौँ। हाम्रो सरकार बनेमा घुसखोरी अन्त्य गर्नेछौँ। नयाँ प्रणालीको विकास गर्नेछौँ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell