काठमाडौँः मोरङको जहदा गाउँपालिका- १ मा सोमबार १४ वर्षीया बालिका बलात्कृत भएकी छिन्। सोमबार राति करिब ९ बजेतिर घरबाट नै मोटरसाइकलमा हालेर लगेका दुई युवाले बलात्कार गरेको खुलेको छ। उनीहरूले मोटरसाइकलमा हालेर केही पर लगेर बलात्कार गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। भोलिपल्ट प्रहरीमा उजुरी परेपछि प्रहरीले घटनाको अनुसन्धान गरेको थियो।
'रातिको घटना रहेछ। भोलिपल्ट परिवारले उजुरी लिएर आउनुभएको थियो। हाम्रो अनुसन्धानले मानिस पहिचान गरिसेको छ। चाँडै समात्छौँ,' जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोक दर्शन थापाले भने।
प्रहरीले उनीहरूले प्रयोग गरेको को २ प १९१६ नम्बरको मोटरसाइकल समेत फेला पारेको छ। उनीहरूले राति बालिकालाई घरबाट लगेर बलात्कार गरेपछि घर नजिकै छोडेर भागेका थिए। बालिकालाई उनीहरूले घटनाको बारेमा कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्की समेत दिएको खुलेको छ।
'उनीहरूले राति बाइकमा हालेर लगेको देखिन्छ। त्यसपछि फेरी घटना गराएर घर नजिकै ल्याएर छोडेका थिए। उनीहरू भारततिर भागेको बुझिएको छ। हामी अनुसन्धान गरिरहेका छौँ,' डिएसपी थापाले भने।
अभियुक्तहरू नजिकैको अर्को गाउँमा बस्दै आएका थिए। बालिकासँग उनको चिनजान समेत भएको देखिन्छ। त्यसो त धेरै जसो बलात्कारका घटना चिने जानेका मानिसबाट नै हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।
त्यस्तै गत बिहीबार मात्र मोरङकै कानेपोखरीमा १७ वर्षीय बालिका बलात्कृत भइन्। प्रहरी बलात्कार गरेको अभियोगमा कानेपोखरी २ का २९ वर्षीय प्रेम चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। अनुसन्धानको क्रममा प्रेम पनि पीडित किशोरीसँग चिनजान भएका मानिस नै हुन्।
गएको चालु आर्थिक वर्षमा देशभर १ हजार २ सय ७२ जना बलात्कृत भएका छन्। जसमा ८ सय ४ जना बालिका रहेका छन्। प्रदेश नम्बर एकमा मात्र ३ सय २५ जना बलात्कारको सिकार भएका हुन्। अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै हो।
यी दुई घटनामा प्रहरीले अभियुक्तको पहिचान गरेपनी एक साता अघि ( बिहीबार) दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा मृत अवस्थामा भेटिएकी १७ वर्षीय भागरथी भट्टको अभियुक्त भने समात्न सकेको छैन।भट्टको बलात्कारपछि हत्या भएको खुलेको छ।
