PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

यसरी लगियो रामकुमारी झाँक्रीलाई प्रहरी कार्यालय

यसरी लगियो रामकुमारी झाँक्रीलाई प्रहरी कार्यालय

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: गोरखमा पुगेर करिव दुई साता अघि दिएको एक अभिव्यक्तिको कारण प्रहरीले आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिएको छ। झाँक्रीलाई नियन्त्रणमा लिन बिहीबार प्रहरीको ठूलै जत्था शंखमुलस्थित उनको निवासमा पुगेको थियो।

बिहानै महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले फोन गरेर झाँक्रीलाई सोधपुछको लागि भन्दै बोलाएका थिए। १० बजेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको थियो। तर झाँक्रीले सोधपुछको लागि फोनकै भरमा आएको जानकारीमा नजाने प्रतिक्रिया दिइन्। त्यसपछि महाशाखाले सादा पोसाकमा प्रहरी उनको घरमा पठायो। प्रहरी उनको घरमा पुग्दा उनी घरभित्रबाट नै त्यहाँ पुगेका सञ्चारकर्मीलाई आफ्नो भनाइ राखिरहेकी थिइन्।

सादा पोसाक प्रहरीले घरभित्र छिरेर उनलाई नियन्त्रणमा लिने हुर्मत देखाएनन्। झाँक्रीले पनि पुर्जी लिएर नआएसम्म प्रहरी कहाँ नजाने भन्दै बसिरहेकी थिइन्। त्यसपछि एकाएक उनको घरमा पत्रकार भेला भए। उनका समर्थक र कार्यकर्ताहरू भेला भएर नाराबाजी गर्न थाले।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विरुद्ध चर्का नारा लगाए। प्रहरी दमन मुर्दावाद भन्दै नारा धम्कियो। झाँक्री भने यो दृष्य घरभित्रबाटै नियालिरहेकी थिइन्। आफ्ना समर्थक र कार्यकर्तालाई उनले घरबाटै सम्बोधन समेत गरिन्।

प्रहरीलाई प्रधानमन्त्री र गृह मन्त्रालयबाट झाँक्रीलाई पक्राउ गर्न दबाब थियो। त्यसैले प्रहरी खालि हात फर्किने मुडमा देखिएन। त्यसपछि करिब १ बजेतिर प्रहरी पक्राउ पुर्जी लिएर पुग्यो। राज्य विरुद्धको अपराधमा उनलाई जरुरी पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि झाँक्री प्रहरीसँग जान तयार भइन्।

झाँक्रीले प्रहरीसँग जानुअघि उपस्थित सबैलाई सम्बोधन गरिन्। र आफैले गिरफ्तारी दिएको बताइन्। उनी घरबाट निस्किदा सयौँ कार्यकर्ताको भिड थियो। उनीहरूले प्रहरीलाई रोक्न खोजे। तर झाँक्रीले नै समर्थन गरेपछि कार्यकर्ता त्यति आक्रामक भएनन्। प्रहरी पनि सम्यम नै देखियो। तर पनि सामान्य धक्कामुक्की भने भयो।

उनले गोरखामा भएको एक कार्यक्रममा राष्ट्रपतिलाई बडामहारानी भन्दै चुनाव लड्ने भए शीतल निवास छोडेर बालकोष नै गए हुन्छ भन्ने अभिव्यक्ति दिएकी थिइन्। कार्यक्रम नेतृ झाँक्रीले भनेकी थिइन् 'मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर जुन शक्ति आर्जन गर्ने गलतलाई सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमाले त्यसको प्रतिउत्पादन हो विद्या भण्डारी।'

त्यसपछि अखिल नेपाल महिला सङ्घ(अनेमसंघ)ले झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र समेत बुझाएको थियो।

बुधवार प्रचण्ड-नेपाल समुहले गरेको कार्यक्रम पनि उनले राष्ट्रपतिलाई कटाक्ष गरेकी थिइन्। त्यति मात्र होइन उनले बुधवार मुखमा कालो पट्टी बाँधेर लोकतन्त्रमा बोल्न नपाइने छैन भन्दै साङ्केतिक विरोध समेत जनाएकी थिइन्।

प्रहरीले उनलाई आज सामान्य सोधपुछ गर्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell