PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

'समृद्धिको नारा फगत पाखण्ड' भन्दै प्रतिगमनविरुद्ध अभियानमा जोडिए प्रवासमा रहेका नेपाली स्रष्टा



पहिलोपोस्ट

'समृद्धिको नारा फगत पाखण्ड' भन्दै प्रतिगमनविरुद्ध अभियानमा जोडिए प्रवासमा रहेका नेपाली स्रष्टा

काठमाडौं : प्रवासमा रहेका नेपाली स्रष्टा एवं अभियन्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोध गरेका छन्।

विभिन्न देशमा रहेका करिव ७० जनाले सामूहिक विज्ञप्ती जारी गर्दै प्रतिगमनको विरोध गरेका हुन्। उनीहरूले अग्रगमनको पक्षमा उभिन आह्वान समेत गरेका छन्।

प्रधानमन्त्री ओलीले दश वर्षको सशस्त्र द्वन्द्व, दोस्रो जनआन्दोलन हुँदै दशक लामो संक्रमणकाल पार गरेर बनेको नेपालको संविधान २०७२ को मर्म र भावना विपरीत संसद विघटन गरेको र त्यसले नागरिकको ठूलो त्याग र बलिदानपश्चात् प्राप्त सामाजिक, राजनैतिक उपलब्धीहरूसमेत खतरामा परेको उनीहरुले बताएका छन्।

'नयाँ संविधान र ऐतिहासिक बहुमतको सरकार गठन भएपछि राजनीतिक स्थायित्वसँगै मुलुक विकास र समृद्धितर्फ अघि बढ्ने जनअपेक्षाको ठीक विपरीत चालिएको स्वेच्छाचारी कदमले जनमतको ठाडो अपमान गरेको मात्र नभएर देशलाई नै गम्भीर राजनीतिक संकटमा पुर्‍याएको छ,' विज्ञप्तीमा लेखिएको छ, 'मधेसी, थारु, दलित, आदिवासी, महिला, जनजाति, मुस्लिमलगायतका सीमान्तकृत समुदायलाई थप अधिकार सम्पन्न बनाउँदै लोकतान्त्रिक एवं समतामूलक समाज निर्माणतर्फ उन्मुख हुनुपर्नेमा मुलुकलाई निरङ्कुशतातर्फ धकेल्दै चालिएको प्रतिगमनकारी कदमको हामी घोर भत्र्सना गर्दछौँ।'

स्रस्टाहरूले अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दै आयोजित नागरिक प्रदर्शनहरूमा हुँदै आएका निर्मम दमन र धरपकडले वर्तमान सरकारको निरङ्कुश चरित्रलाई थप नङ्ग्याएको बताएका छन्।

कोरोना भाइरस महामारीको कहरबीच सरकारले नागरिकको स्वास्थ्य र सुरक्षामा ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा पार्टीको आन्तरिक कलहमा समय व्यतित गर्नुलाई गैरजिम्मेवारीपूर्ण कदमको संज्ञा दिएका छन्।

नागरिकले चुनेका जनप्रतिनिधिहरूको कार्यकाल बाँकी छँदाछँदै संसद विघटन गरेर चुनावको बेमौसमी बाजा बजाइनु, संवैधानिक निकायहरूमा असंवैधानिक नियुक्तिहरू गरिनु, सरकारको महत्वपूर्ण समय र राज्यकोषको दोहन गर्दै प्रधानमन्त्री नै असान्दर्भिक देश दौडाहामा लाग्नुविरुद्ध श्रष्टाहरूले खेद प्रकट गरेका छन्।

लेखिएको छ,'यी कार्यहरूबाट सरकारको स्थायित्व, सुशासन र समृद्धिको नारा फगत पाखण्ड सिवाय केही नभएको पुष्टि हुन्छ।'  

स्रस्टाहरूले सत्तारुढ दलभित्रै व्याप्त खिचातानी, सत्तालिप्सा र पदलोलुपताका कारण उत्पन्न सङ्कटको निकास खोज्नु पर्ने तर्क राखेका छन्। भ्रष्टाचार, बेथिति र राजनैतिक सङ्कट र संसद विघटनजस्तो प्रतिगामी कदमको बिरोधमा हुने शान्तिपूर्ण आन्दोलनहरूप्रति प्रवासी स्रष्टाहरूको ऐक्यवद्धता रहेको प्रष्ट पारिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell