काठमाडौंः आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) समुहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको विरोध गर्दै प्रर्दशन गरिएको छ। प्रचण्ड- नेपाल समुहले काठमाडौंको माइतीघर देखि नयाँ बानेश्वरसम्म र्याली निकाले।
महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई आज दिउँसो शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। उनलाई राज्य विरुद्धको कसुर अन्तर्गतको दफा ५८ को कसुरको अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
प्रर्दशनकारीले झाँक्रीलाई रिहा गर्नुपर्ने माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेका थिए। दुई वर्षअघि कञ्चनपुरमा १३ वर्षीय निर्मला पन्तको बलात्कारीलाई पक्राउ गर्न नसक्ने तर अभिव्यक्ति दिएको आधारमा नै झाँक्रीलाई पक्राउ गरेको भन्दै उनीहरुले विरोध गरिरहेेका छन्। यस्तै बैतडीकी भागीरथी भट्टकी अपराधीलाई समेत गिरफ्तार गर्न उनीहरुले माग गरेका छन्।
झाँक्रीले माघ १६ गते गोरखाको सिरान चोक गाउँपालिमा भएको एक कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारी माथि कटाक्ष गरेकी थिइन्। त्यही विषयलाई लिएर प्रधानमन्त्रीको चर्को दवावपछि प्रहरीले झाँक्रीलाई नियन्त्रणमा लिएको हो।
