PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रतिवन्धित विप्लव नेतृत्वको नेकपासहितको कम्युनिस्ट मोर्चा : संसदीय राज्यसत्ता ढलाउन क्रान्तिको उद्घोष



पहिलोपोस्ट

प्रतिवन्धित विप्लव नेतृत्वको नेकपासहितको कम्युनिस्ट मोर्चा : संसदीय राज्यसत्ता ढलाउन क्रान्तिको उद्घोष

काठमाडौं : प्रतिवन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका चार साना बाम घटकले संयुक्त मोर्चा घोषणा गरेका छन्। संसदीय व्यवस्था खारेजीको नारासहित जनगणतन्त्र, वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि क्रान्तिको घोषणा गर्दै विप्लव नेतृत्वको नेकपा, महोन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल 'आहुती' नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको रणनीतिक मोर्चाको घोषणा बिहीवार काठमाडौंमा गरिएको हो।

पार्टी माथि प्रतिवन्ध लागेका कारण विप्लव समूहको उपस्थिति विना नै तीन पार्टीका नेतृत्वले मोर्चाको घोषणा गरेका छन्। बिहीवार नै १५ सदस्यीय केन्द्रीय कमिटीको गठन गरेको जानकारी दिएका छन्। मोर्चाको केन्द्रीय कमिटीमा क्रान्तिकारी माओवादीबाट सिपी गजुरेल, रामसिंह श्रिस र पवनमान श्रेष्ठ रहेका छन्। त्यस्तै, विप्लव नेतृत्वको नेकपाका सन्तोष बूढा, नविनकुमार विश्वकर्मा, अज मोहम्मद छन्। कट्टेल नेतृत्को नेकपाबाट कट्टेलसहित रामदुलार महतो र राजेश वान्तवा राखिएका छन्। त्यस्तै, वैज्ञानिक समाजवादी पार्टीबाट जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमाल रहेका छन्। बाँकी तीन सदस्य पछि थप गर्ने बताइएको छ।

मोर्चाले प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहसम्म नै समितिहरू गठन गर्ने जनाएको छ। मोर्चा घोषणा गर्दै चरणमा फागुन ६ गते बुटवल, फागुन १४ गते धनगढी, र फागुन १८ गते इटहरीमा सभा आयोजना गर्ने भएको छ।

'नेपाली समाजको तत्कालीन वा दीर्घकालीन समस्या दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताबाट सम्भव छैन, त्यसका लागि क्रान्तिद्वारा जनगणतन्त्रवैज्ञानिक समाजवादी व्यवस्था निर्माण अनिवार्य छ भन्ने यथार्थप्रति हामी स्पष्ट र दृढ छौ,' मोर्चाको अवधारणापत्रमा भनिएको छ।

पार्टी एकता गर्ने सम्मको लक्ष्यसहित निर्माण गरिएको रणनीतिक मोर्चाले संसदीय व्यवस्था र राज्यसत्ताले नेपाली समाजका आधारभत समस्या समाधान गर्न असफल भई आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा संकटग्रस्त हुन पुगेको जनाएको छ।

'व्यवस्थामा उत्पन्न उक्त सङ्कटबाट फाइदा उठाएर गणतन्त्रमाथि नै प्रहार गर्न प्रतिगामी तत्वहरू लागिपरेका छन् भने संकटलाई देश र जनविरोधी हर्कतमार्फत् हल गर्न राजनीतिक प्रतिगमन तथा फासीवादी निरंकुशतातिर कम्युनिस्ट खोलधारी ओली सरकार तीव्र रूपमा अघि बढिरहेको छ,' मोर्चाको अवधारणापत्रमा भनिएको छ, 'अन्य संसदवादी पार्टीहरू मध्यावधि चुनाव वा संसदको पुनस्थापनालाई संकटको समाधान बताइरहेका छन्। वस्तुतः आजको राजनीतिक संकट दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलता, दलाल पुँजीपति वर्गका विभिन्न स्वार्थ समूहबीचको टक्कर र बास्य शक्तिहरूको हस्तक्षेपका कारण उत्पन्न भएको हुनाले विद्यमान व्यवस्थाभित्रैबाट यथास्थितिको पुनरुत्पादन गरेर संकट समाधान सम्भव छैन।'

यस्ता छन् मोर्चाका रणनीति

मोर्चाले संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी जनगणतन्त्र, वैज्ञानिक समाजवादी व्यस्था गर्ने उद्देश्य राखेको अवधारणा पत्रमा भनिएको छ।  'यस रणनैतिक संयुक्त मोर्चाको उद्देश्य दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी जनगणतन्त्र/वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु हुनेछ,' अवधारणापत्रमा भनिएको छ। मोर्चाले रणनीतिक उद्देश्य

जनगणतन्त्र/वैज्ञानिक समाजवादको रणनैतिक उद्देश्य पूरा गर्न संक्रमणकालीन राजनीतिक अवस्थामाथि हस्तक्षेपसहित अधि बढ्नु अनिवार्य भएकोसमेत मोर्चाले बताएको छ। 'न्याय, शान्ति, स्थिरता, स्वाधीनता र समृद्धि दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाबाट सम्भव छैन। त्यसैगरी राजनीतिक प्रतिगमन र संकटको समाधान एक वा अर्को प्रकारको प्रतिक्रियावादी संसदीय व्यवस्थाभित्रबाट गरिने प्रपञ्चबाट पनि सम्भव छैन,' मोर्चाको अवधारणापत्रमा भनिएको छ, 'त्यसैले संसदीय व्यवस्थाको विकल्प र संकट समाधानको दिशामा अघि बढ्न राजनीतिक समीक्षा सभा, वैकल्पिक संयुक्त सरकार र जनगणतन्त्र वैज्ञानिक समाजवाद स्थापनाको राजनीतिक शृंखला हुँदै अघि बढ्नु आवश्यक छ। यस राजनैतिक शृंखलालाई अघि बढाउन सङ्घर्षकै एक औजारका रूपमा राजनीतिक समीक्षा सभाहरूमार्फत् व्यापक जनताका सरोकारहरूलाई संगठित गर्ने नीति लिइनेछ।'

त्यसका लागि मोर्चाले देश एवं जनताका समस्याहरू समाधान गर्न राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरूमा निरन्तर जनपरिचालन र सङ्घर्ष गर्ने जनाएको छ। कार्यगत एकतामा आधारित गठबन्धनहरू, विभिन्न जनवर्गका न्यायपूर्ण सङ्घर्ष एवं सन्दर्भहरूलाई समेत मोर्चाले नीतिगत तथा व्यावहारिक नेतृत्व दिन निरन्तर लागिपर्नेसमेत मोर्चाले जनाएको छ।

अवधारणापत्रमा रणनैतिक संयुक्त मोर्चा गठनको मुख्य लक्ष्य कम्युनिस्ट पार्टीहरूबीच अवीकरण र पार्टी एकता भएकोसमेत उल्लेख छ। मोर्चामा अन्य दलहरुलाई पनि समावेश गर्दै अगाडि बढ्ने बताइएको छ। मोर्चाको नेतृत्व आलोपालो रुपमा ६/६ महिनामा पार्टीगत रुपमा फेरिने छ। केन्द्र र प्रदेश समितिमा हाललाई १५ जना रहनेछन् भने जिल्ला तहमा ११ सदस्यीय समिति बनाइने अवधारणापत्रमा उल्लेख छ।

मोर्चामा आवद पार्टीहरूबाट समान संख्यामा प्रतिनिधि रहनेछन्, साथै घटकहरूको सहमतिमा थप पार्टी तथा स्वतन्त्र व्यक्तित्वहरू सामेल गर्दै जाने नीति लिइने बताइएको छ।

क्रान्तिको संयुक्त उद्घोष

घोषणासभामा बोल्दै क्रान्तिकारी माओवादीका महासचिव वैद्यले नयाँ राज्यसत्ताको प्राप्तिकालागि फेरी युद्धमा जान तयार रहेको बताए।

सरकारले समाजवाद र समृद्धिको कुरा गरेर साम्राज्यवादी नवउदारवादको सिरानी हालेको आरोप उनले लगाए। अहिले आफूलाई क्रान्तिकारी भन्नेहरुले क्रान्तिलाई धोका दिएको बताए। 'ओली जी झापा विद्रोहको ब्याज खाँदै हुँनुहुन्छ। प्रचण्डले जनयुद्धको ब्याज खाँदै छन्। शहीदको रगतमा आहाल खेलेर क्रान्तिलाई धोका दिँदै छन्,' उनले भने। आवश्यक परे अर्को युद्ध गर्न तयार रहेको उनको उद्घोष थियो।

'आवश्यक परे फेरि अर्को युद्ध गर्न तयार छौँ। यस्तो भन्दा मानिसले पत्याउँदैनन्। हिजो राणा ढल्दैन भन्थे पञ्चायत ढल्दैन भन्थे राजा ढल्दैन भन्थे तर ढले। संसदीय व्यवस्था असफल भएको छ। अब संसदीय व्यवस्थाले काम गर्दैन। दक्षिणपन्थी संसोधनवादको पनि असफलता हो,' उनले भने। उनले विप्लव नेतृत्वको नेकपा माथि प्रतिवन्ध हटाउन मागसमेत गरे।

कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष कट्टेलले पनि कान्तिको उद्घोष गर्दै। उनले विप्लव माथिको प्रतिबन्ध हटाउन माग गर्दै पक्राउ नेता कार्यकर्ता नछाडे जेलका ढोका फोडेर क्रान्तिको सुरुवात गर्ने चेतावनी दिए। उनले राज्यसत्ता खारेज गरेर जनताको राज्यसत्ता स्थापनाको मोर्चाले नेतृत्व गर्ने घोषणा गरे।

'यो असफल व्यवस्था खारेज गरेर,यो राज्यसत्ताको विस्थापन गरेर जनताको राज्यसत्ता नबनाउँदा सम्म यो समस्या समाधान हुन्न,' उनले भने।

वैज्ञानिक समाजवादी पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले विप्लव माथि लागेको प्रतिवन्ध हटाइनुपर्ने माग गरे। उनले प्रतिगमन पुस ५ गतेबाट नभई दोस्रो संविधानसभाबाट भएको उद्घोष गरे। उनले अहिले राज्यसत्तामा प्वाल परेको भन्दै त्यसलाई क्रान्तिले ठूलो भ्वाङ पार्ने उद्घोष गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell