PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

घरभित्रै महिलाको वीभत्स हत्या: लाउड स्पिकरको कोलाहलले कसैले सुनेन कान्तिको चित्कार



राधेश्याम पटेल

घरभित्रै महिलाको वीभत्स हत्या: लाउड स्पिकरको कोलाहलले कसैले सुनेन कान्तिको चित्कार

वीरगंज: बारा महागढीमाई नगरपालिका १ बरियारपुर (मठवा) टोलका १९ वर्षीय अजय कुशवाह काठमाडौँमा एचए तेस्रो वर्षमा अध्ययनरत छन्। अन्तिम वर्षको परीक्षा सकेर काम गर्न सोचमा पुगेका थिए उनी। एक निजी क्लिनिकमा काम गर्न कुरा फाइनल भइसकेको थियो।

तर आइतबार राति गृह जिल्ला बाराको बरियारपुरबाट एक जना काका पर्नेले उनका जेठा दाइ सञ्जयलाई राति साढे ९ बजेको समयमा फोन गरेर भने - तिमीहरू चाँडै घर आऊ, आमाको अवस्था गम्भीर छ।

धेरै संवाद उचित नलागेर तीन दाजुभाइ र बहिनी घर लागे। काठमाडौँ छोड्दा रातिको सवा १० बजिसकेको थियो।

कुरा सिरियस रहेको भेउ अजयकी दिदी संगीताले पाइसकेकी थिइन्। उनले दाइसँग पटक-पटक घरमा के भएको भनेर सोधिन तर सञ्जयले केही बताएनन्।

+++

बिहानको ५ बजे घर पुग्दा मान्छेहरूको भीड थियो। घटना थाहा पाएपछि चारै जना स्तब्ध भए।

‘हामीलाई आमालाई सन्चो नभएर अवस्था गम्भीर छ भनेर बोलाएका थिए,’ अजयकी दिदी संगीताले भनिन्, ‘तर अवस्था त्यो थिएन। आमा यो संसार छोडेर गइसक्नु भएछ।’

काल गतिले संसार छोडेर गएकी होइनन् कान्तिदेवी कुशवाहले। वीभत्स हत्या भएको थियो।

४८ वर्षीय कान्तिदेवीको आइतबार राति ९ बजे घरभित्रै पसेर अज्ञात समूहले हत्या गरेको खुलेको छ।

‘घरभित्र पसेर हेर्दा आमाको निधन भइसकेको थियो। धारिलो हतियार प्रहार गरी आँखा नै बाहिर आउने गरी अनुहारको दाहिने भागमा घोचेर मारेका थिए,' कान्तिका जेठा छोरा सञ्जयले भने।'

सञ्जय काठमाडौँको टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रशासनतर्फ खरिदार छन्। माइलो भाइ पनि त्यहीँ विजय लेखा फाँटका खरिदार हुन्। बहिनी संगीता रेडियोलोजीको पढाई सकेर लोकसेवा आयोगको तयारीमा थिइन्।

उनीहरूको पक्की घर पनि निर्माण भइरहेको छ। छोराले घर बनाउन काठमाडौँबाट ५० हजार बैङ्कमार्फत पठाएका थिए। त्यो पैसा आइतबार झिकेर बुवा वैद्यनाथले कान्तिदेवीलाई राख्न भनेका थिए। त्यही पैसा चोर्न कान्तिदेवीले हत्या भएको हुनसक्ने परिवारको आशंका समेत छ।

'दु:ख सुख गरेर गाउँमा खेतीपाती गरेर छोराछोरीलाई ठूलो मान्छे बनाउने सपना बोक्नुभएको थियो। तर आमाको त्यो सपना अब अधुरै रह्यो। अब कहिल्यै हामीबीच आउन सक्नुहुन्न,' छोरी संगीताले भनिन्।

+++

लाउड स्पिकरको कोलाहलमा आइतबार मठवा टोलमा अष्ठयाम पूजा भइरहेको थियो। अष्ठयाम २४ घण्टे धार्मिक अनुष्ठान हो। अनुष्‍ठानमा हरेरामको धुन सुनाउन ठूल्ठूला लाउड स्पिकर बजाउने चलन छ। जस कारण कान्तिको हत्या हुँदा पनि छिमेकीले भेउ पाउन सकेनन्।

राति ८ बजे खाना खाएर कान्ति सुत्न गइन्। श्रीमान् वैद्यनाथ पूजा हेर्न गाउँ निस्केका थिए।

९ बजे वैद्यनाथ घर आउँदा कान्तिको हत्या भइसकेको थियो। वैद्यनाथले आँगनबाटै घरको छानोमाथि चढ्ने कोसिस गरिरहेका एक व्यक्ति देखे पनि। चोर आयो भनेर चिच्याए। तर कसैको पनि सहायता उनले पाएनन्। लाउड स्पिकरका कारण सुनिने अवस्था थिएन।

भर्‍याङबाट मूल ढोका हुँदै उक्त व्यक्ति घरको पछाडिबाट केही क्षणमै फरार भए।

प्रहरीले फेला पार्‍यो रातो गम्छा र औँठी

बारा प्रहरीले घटना अनुसन्धान जारी राखेको छ। प्रवक्ता गौतम मिश्रका अनुसार घटनास्थलबाट एक थान रातो गम्छा र औँठी फेला परेको छ। सामान हत्यामा संलग्न व्यक्तिकै भएको अशंका प्रहरीको छ।

प्रहरीले हेटौँडाबाट कुकुर मगाएर सोमबार बिहानदेखि विशेष अनुसन्धान गरिरहेको छ। उनले दोषीलाई चाँडै कानुनी कारबाहीको दायरामा ल्याइने आश्वासन दिए।

लाउड स्पिकर बन्द गर्न मेयरले पहल गर्ने

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले बरियारपुरमा भएको घटनापछि लाउड स्पिकर नियन्त्रणमा आफू गम्भीर भएको बताए। यादवले नीति नै बनाएर धार्मिक कार्यक्रममा चर्को ध्वनि रोक्न पहल गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell