काठमाडौं: गोरखामा करिब दुई साताअघि दिएको एक अभिव्यक्तिको कारण प्रहरीले आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार बिहान नियन्त्रणमा लियो। उनलाई राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएको थियो।
सादा पोसाकका प्रहरी शंखमुलस्थित उनको घर पुगेसँगै माहोल तातेको थियो। त्यसअघि बिहानै महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले फोन गरेर झाँक्रीलाई सोधपुछको लागि भन्दै बोलाएका थिए। १० बजेसम्म प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको थियो।
तर, झाँक्रीले सोधपुछको लागि फोनकै भरमा आएको जानकारीमा नजाने प्रतिक्रिया दिइन्। प्रहरी उनको घरमा पुग्दा उनी घरभित्रबाट नै त्यहाँ पुगेका सञ्चारकर्मीलाई आफ्नो भनाई राखिरहेकी थिइन्। प्रहरी उनको घरमा पुग्दा उनले पक्राउ पुर्जी माग गरिन्।

प्रहरीले घर घेराउ हालेपछि झाँक्री समर्थक विद्यार्थी नेता तथा कार्यकर्ता पनि त्यहाँ पुगेका थिए। झाँक्रीलाई पक्राउ गरिएको विरोधमा ‘केपी विद्या बाइबाइ’ लगातयका नारा लगाएका थिए।
झाँक्रीले प्रहरीसँग जानुअघि उपस्थित सबैलाई सम्बोधन गरिन्। र, आफैँले गिरफ्तारी दिएको बताइन्। उनी घरबाट निस्किँदा सयौँ कार्यकर्ताको भीड थियो। उनीहरूले प्रहरीलाई रोक्न खोजे। तर, झाँक्रीले नै समर्थन गरेपछि कार्यकर्ता त्यति आक्रामक भएनन्। प्रहरी पनि संयम देखियो।
झाँक्रीलाई पक्राउ गरेको विरोधमा प्रचण्ड-नेपाल समूहले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकाले। प्रदर्शनकारीले झाँक्रीलाई रिहा गर्नुपर्ने मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरे। दुई वर्षअघि कञ्चनपुरमा १३ वर्षीय निर्मला पन्तको बलात्कारीलाई पक्राउ गर्न नसक्ने तर अभिव्यक्ति दिएको आधारमा नै झाँक्रीलाई पक्राउ गरेको भन्दै उनीहरुले विरोध गरे। यस्तै, बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई गिरफ्तार गर्न उनीहरुले माग गरे।
झाँक्रीलाई रिहा गर्न माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्यो। प्रहरी र प्रदर्शनकारीबीच तनाव बढेपछि प्रहरीले लाठी चार्ज गरेर स्थितिलाई नियन्त्रणमा लियो। झडपका क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा समेत तोडफोड गरे।
प्रहरीले उनलाई पाँच घण्टासम्म उनले दिएको अभिव्यक्तिबारे सोधपुछ गर्यो। उनलाई राष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्तिमा केही प्रश्न गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पालले बताए। उनले हिजो पनि आज पनि र भोलि पनि राष्ट्रपतिप्रति सम्मान भएको बताएपछि छोडेको उनले बताए।
झाँक्रीले लिखित जवाफ दिएपछि प्रहरीले उनलाई साँझ शंखमुलस्थित उनकै घरमा लगेर छाडेको थियो।
