PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

परदेश यात्रामा माधवनारायण, पशुपतिमा स्नानपछि पुगे फर्पिङ

परदेश यात्रामा माधवनारायण, पशुपतिमा स्नानपछि पुगे फर्पिङ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: स्वस्थानी व्रत आरम्भ भएदेखि साँखुस्थित शालीनदीमा भक्तजनहरुको घुँइचो लाग्ने गर्छ। बिहानैदेखि शालीनदी पुगेर माधवनारायणको दर्शन गरेर स्नान गर्नेहरुको लाम उत्तिकै। बुधवारबाट भने यो संख्या केही पातलिएको छ। कारण-  माधव नारायण अहिले 'परदेश'को यात्रामा छन्।

स्वस्थानी सुरु भएदेखि नै माधवनारायण दिनहुँ साँखु घुमिरहेका थिए। 'द्य: ध्वाखा' बाट माधव नारायणको मूर्तिलाई दैनिक रुपमा साँखु नगरको परिक्रमा गराइएको थियो। बुधबारबाट भने माधवनारायण साँखु (सक्व दे:) बाट बाहिरिएका छन्। अर्थात् साँखु देशबाट माधवनारायण परदेश हिँडेका छन्।

बुधबार साँखुबाट बज्रयोगिनी मन्दिर पुगेर त्यहाँबाट माधव नारायणलाई पशुपति पुर्‍याइएको थियो। साँखुमा एक महिना लामो व्रत बसिरहेका व्रतालुहरु माधवनारायणसँगै पैदल हिँडेर पशुपति पुगेका थिए। आज पशुपति मन्दिर परिसरमा रहेको विरुपाक्ष मन्दिरमा माधवनारायणको पूजा गरिएको थियो। साँखुदेखि नै पैदल आएका व्रतालुहरुले वाग्मतीमा स्नान गरेका थिए। त्यसपछि व्रतालुहरुले मन्दिर परिसरमा रहेका मूर्ति पूजा गरेर अन्य भक्तालुलाई टीका लगाइदिएका थिए। परालको बिच्छ्यानमाथि बसेका सबैले लगत्तै नित्य पूजा गरेका थिए। आजै पशुपतिबाट माधवनारायणलाई फर्पिङ  लगिएको छ।

परदेश यात्राको क्रममा माधवनारायणलाई साँखुबाट पनौती र चाँगुनारायण समेत लग्ने गरिन्छ। यात्रामा सहभागी हुने व्रतालुहरुले चिउरा, सुन्लता, घ्यू, चाकु, रातो मुला, अदुवाको व्यवस्था आफैँले गर्नुपर्ने नियम छ।



ट्रेन्डिङ पोस्ट

Ncell