PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'कोग्ले' पुस्तक अंश : सन्जोगले बाँचेकाहरु



पहिलोपोस्ट

 'कोग्ले' पुस्तक अंश : सन्जोगले बाँचेकाहरु

  • प्रेम बोहरा

“आज भैंसी चराउन जालाई त भाउवा?” बजैले सोध्नुभयो।

मलाई खेतबारीको काम वा ग्वालाभन्दा स्कुल जान मनपर्छ भनेर उहाँलाई थाहा थियो। भन्नुहुन्थ्यो, बोबोबजै सानो छँदा गाउँमा स्कुल थिएन। बुबाको पालामा स्कुल त थियो। तर उहाँले पनि स्कुले शिक्षा पूरा गर्न पाउनुभएन। म जन्मिएपछि मलाई बोबोबजैले रेखदेख गर्नुभयो।

बाल्यकालमा प्रायः म बोबोबजैसँगै हुन्थें। जब म स्कुल जान थालें, तब आफैंलाई खेतबारी, मेलापातभन्दा बढी समय स्कुलमा पाउन थालें। बजैले पनि स्कुल गइराख्ने मेरो इच्छामा अवरोध आउन दिनुभएन।

कहिलेकाहीँ आमाले मलाई काममा लगाउन खोज्दा पनि बजैले नकार्नुहुन्थ्यो। उहाँ आफूले अक्षर चिन्नुभएको थिएन। तर म स्कुल जाँदा पनि कि बोबोलाई मसँगै पठाउनुहुन्थ्यो कि आफैं मेरो पछि लाग्नुहुन्थ्यो। स्कुलको चौरमा पुगेपछि मात्र उहाँ फर्किनुहुन्थ्यो। तर आज उहाँले मलाई भैंसी चराउन जा भनिरहनुभएको थियो। घरमा कोही नभएकाले यो काम मेरो भागमा परेको थियो। बुबा बिहानै लेकमा गाइगोरुका लागि बर्खे खोर बनाउन गइसक्नुभएछ। आमा कोदो गोड्न जानुभयो। बोबो भने कचहरीमा। घरमा खाना बनाउने र बच्चा अर्थात् मेरा भाइ हेर्ने काम बजैको थियो। कचहरीबाट फर्केर बोबो ग्वाला जाने योजना रहेछ।

बजैले भनेको नमान्ने कुरा भएन। यसअघि पनि पटकपटक अरु छाछौरीसँग भैंसी चराउन गएकै थिएँ। मज्जा पनि हुन्थ्यो। भैंसी चढ्ने, ऐंसेलु खाने, डन्डिबियो खेल्ने र भैंसी जुधाउनमा म पनि रमाउँथें।

त्यसैले भनें, “म जाउँला है, बजै भैंसी चराउन?”

बजैलाई भने भैंसीभन्दा मेरै पीर बढी थियो। भन्नुभयो, “राम्मरी हिँड्नू है, भाउवा ? अनि छिट्टै ल्याइल्नू, स्कुल जान बार होला।”

म तीन कक्षा पढ्ने भइसकेको थिएँ। अझै पनि बजैले मलाई सानै ठान्नुहुन्थ्यो। मेरै उमेरको साइँलो लेकमा ग्वाला लाग्ने भइसकेको थियो। म भने भैंसी चराउन सक्दिन झैं सोच्नुहुन्थ्यो। कामबाट बच्नुपर्दा खुसी लाग्थ्यो। तर सानो र कमजोर भएको महसुस हुँदा दुःखी हुन्थें। बजैले कतै जान दिनुहुँदैनथ्यो। यही निहुँ बनाएर साथीहरु गिज्याउँथे। आफू बलियो भए झैं फूर्ति लगाउँथे। मलाई कमजोर ठान्थे।

बजैले दिएको लठ्ठी समातेर भैंसी निकाल्न गोठतिर गएँ। भैंसीका सिङ लामा र घुमाउरा थिए। सिङ देखेरै कति बच्चा तर्सिन्थे पनि। भर्खर किनेर ल्याउँदा मलाई पनि डर लाग्थ्यो। तर अहिले बानी परिसक्यो।

लठ्ठी बोकेर भैंसीलाई वनतिर लैजाँदै थिएँ, पँधेरोमा ठूलाबाकी छोरी सम्झना (नाम परिवर्तन) भेटिई। सानैदेखि ऊ आमास“ग काममा गइरहन्थी। हेर्दै जाँगरिली छे। उमेर एउटै भए पनि गुन्युचोला लगाउँदा ठूली लाग्थी। म कम बोल्ने भएर हो कि ऊ बढी बोल्ने भएर हो, मलाई जिस्काइरहन्थी। पानी भरेको गाग्री बोकेर हिँड्न लागेकी रहिछ, त्यही समयमा म त्यहीँ पुगें। जिस्काउँदा झ्याउ लागे पनि मलाई माया गर्ने र गोठालो जाँदा गाली नगर्ने कसैले पिटे धुरो उठ्ने भएकाले मलाई जिस्काएको पनि सहन सक्छु जस्तो लाग्थ्यो। सहन्थें पनि।

म सम्झनाको अगाडि पुग्दा भैंसीले खोलामा पानी पिउँदै थियो।

“खुब सुहाया छ है तुकन?” जिस्किने भावमा सम्झना बोली।

“क्या सुहाया छ मकन?”

“स्कुल पढ्न्या मान्छ ग्वाले भया खुब सुहाया छ,” सम्झनाले थपी, “कति स्कुल मात्तै जालै त, ग्वाला पनि जानुपढ्यो त।”

यति भन्दा त मलाई खासै प्रभाव परेको थिएन। तर त्यसपछि उसले जे भनी, त्यसले मलाई रिस उठायो।

भनी, “स्कुल गयो, पढ्यो। खुब मजा छ धै तुकन त ? आज बल्ला ठीक परेछ, हिहि...।”

“स्कुल जान मजा भया जानिनै त ? पढ्न सजालो भया गया भइयो त,” म आवेगमा बोलें।

“छोरी पुनि काहीँ स्कुल जानन् ?” उसले उल्टै प्रश्न गरी।

मायालु सम्झनाको ह“सिलो मुखले यस्तो कुरा गरिरहँदा भनक्क टाउको रि“गायो। उसले मलाई गिल्ला गरेकाले हो या ऊ स्कुल जान नपाउँदा मैले साथी नपाएकाले हो, रिस उठ्यो। त्यही रिसको आवेगमा दौडेर भैंसीलाई एक लठ्ठी हानें, भैंसी दौडियो। पाखामा पुगेपछि भैंसीलाई चर्न दिएँ। भैंसी घाँस चर्दै थियो, अग्लो ढुङ्गामाथिबाट भैंसीको ढाडमा चढें। त्यहीँ बसेर बुबाले हाटबाट ल्याइदिएको वर्णमाला किताब पल्टाएँ। केए क। केएचए ख। कण्ठ पार्न चर्कोसँग पढें अनि दोहोर्‍याइरहें।

असार महिना। पानी पर्नै लागेको दिन। चारैतिर कुहिरोले छपक्क थियो। धुमिल उज्यालोले नजिकैका ठूला रुख र ढुङ्गाको जुर पनि मुस्किलले देख्न सकिन्थ्यो। अरु बेला म, रामबहादुर र सूर्य सबै सँगै भैंसी चराउन ल्याउथ्यौं। तर आज म एक्लै परें। त्यसैले मनमा न्यास्रोपन छाएको थियो। कुहिरोले छाएको अँध्यारोले मनमा डर चुलिँदै थियो।

भैंसी चर्दै झाडीछेउमै पुग्यो। म भैंसीको ढाडमै थिएँ। तर कियाराको का“डाले घोच्ने हो कि भन्ने डरले म भुइ“मा ओर्लिन बाध्य भएँ। भुइँमा टेकेको के थिएँ, झाडी र पाखामा छिरलिएका पुराना सेता साना हाड देखें। लठ्ठीले डन्डिबियो खेले झैं हड्डीहरु खेल्दै थिएँ, नजिकै ऐंसेलुको बोट देखियो। कियारो र अन्य काँडाको झाडीमाझमा थियो, ऐंसेलुको बोट पनि। ऐंसेलु देख्दै मुख रसाएकाले म त्यहीँ छिरें। झाडीभित्र। किताब फिनाभित्र हालें र ऐंसेलु टिप्न थालें; काँडाकै बीचबाट।

ऐंसेलु टिप्दै गएँ। खाएँ पनि। वर्णमाला फिनाबाट सर्दै तलतिर गयो र झाडीमै खस्यो। पछि निकाल्छु भनेर ऐंसेलु टिप्ने र खाने कामलाई निरन्तरता दिएँ। केहीबेरपछि भैंसीलाई हेरें। कतै देखिनँ। ध्यान दिएर हेरें, नजिकैको कोदो बारीमा पो पुगेको रहेछ। तनाव भयो। झनक्क रिस उठ्यो। हतारहतार ऐंसेलुको बोटबाट बाहिर निस्किँदा कियाराको काँडाले अल्झायो। म हुत्तिएर टेक्दा खुट्टा चिप्लियो। कर्‍याक्क आवाज आयो।

हैन के भाँच्चियो ?

बलगरी उभिएँ। अनि के होला भनेर हेरेको सानो टाउको जस्तो डल्लो देखें। छेउमै अर्को डोले चीज देखें, जसले मेरो होस उडायो। मैले टेकेको चिप्लो कुरा बच्चाको लास पो रहेछ। मेरो खुट्टा त्यहीँमाथि परेको रहेछ। त्यो पनि घाँटीमा। र शरीर छुट्टिएर टाउको खुट्टा भएछ। जुन दृश्य त्यहाँ देखियो, मेरो सातोपुत्लो उड्यो। भर्खरै गाडे जस्तो देखिने लासको मासु कुहिएको रहेछ, र्‍याल खुट्टामा लागेछ। म चिच्याएँ। कराएँ। तर केही उपाय लागेन। नजिकै कोही नदेखेपछि डरले सीमा नाघ्यो। म आँसु झार्दै घरतिर फटाक भए, भैंसीलाई त्यसै छाडेर। बाटोमा कुदिरहँदा अघि खेलेका हड्डी सम्झिँदा झन् डर बढ्दै गयो। लाग्यो, मरेका बच्चाहरुको भूतले मलाई लखेटिरहेको छ।

म घर पुग्दा बजै घरमा हुनुहुँदैनथ्यो। सम्झनाको घरमा भने मान्छे जम्मा भइरहेका थिए। म त्यतैतिर लागें, बजै खोज्दै। तर त्यहाँ पनि उहाँलाई देखिनँ। बरु मान्छेहरुले गोलो घेरा बनाएको देखें। सबैका अनुहार मलिन देखिन्थे। सम्झना र उनका दाइ रोइरहका थिए। सम्झनाकी आमा पनि घुँक्कघुँक्क गरिरहेकी थिइन्। महिना दिनको पैदल हाट गएका सम्झनाका बुबा बाटोमै बितेछन्। त्यो खबर पाउन पनि एक महिना लाग्यो। हिजै मात्र घर फर्केका हटौरेले खबर ल्याएका रहेछन्। सम्झनाले बिहानसम्म पनि थाहा पाएकी रहिनछ। र त मसँग जिस्किरहेकी थिई।

त्यहाँ कसैले भन्दै थिए, कालले मान्छे लग्या लग्यै छ त।

कालले कसरी लिन्छ भनी मैले बजैलाई सोधेको थिएँ। भन्नुभएको थियो, “काल यतैकतै हाम्मै वरिपरि लुकेर बस्या हुन्छ। जब मान्छ कमजोर हुन्छ, तब उसले तानेर लान्छ। जब मान्छलाई रोग, भोक, शोक र दोख (देउता रिसाएर वा भूत लागेर मान्छे बिरामी पर्नु)ले छुन्छ, तब ऊ कमजोर हुन्छ। कमजोरलाई सबले हेप्तान्, कालले पनि हेप्तु छ।” मैले धेरै नबुझे पनि कमजोर भइयो भने कालले पनि छाड्दैन भन्ने बुझें।

बजै भन्नुहुन्थ्यो, “अहिले त रोग हटाउन्या औषधि छ। भोक हटाउन्या अन्न छ। शोक हटाउन्या आफन्त छन् र दोख हटाउन्या देउता छन्। ऊ बेला केही थिएनन्, अन्न नफल्दा सिकार जानुपढ्दो छियो। कति लोग्नेमान्छे वन्यजन्तु सिकार गर्न गएका आफैं वनबाट फिर्ता आएनन्। कतिलाई गोली लाग्यो। कति जनालाई भीरले खायो। कति जनालाई भूतले खायो। कतिलाई रोगले लग्यो त कतिलाई दोखले। को कतिखेर कसरी मर्‍यो पत्तो नै हुनैनछियो।”

जन्मिएदेखि बुढेसकालसम्म कालबाट बच्नु नै मुख्य कुरा रहेछ, त्यो बेला। हुन त अहिले पनि मर्ने मान्छेको कमी थिएन। कोही जन्मेकै दिन, कोही जन्मेको भोलिपल्ट त, कोही जन्मेको केही दिनमै मर्दा रहेछन्। कति आमा बच्चा पाउन नसकेर त कति बच्चा औषधि नै नपाएर मर्थे। म जन्मिँदाताका गाउँका पाँच, खोलापारि गाउँका १४ र मामाघर लाहाराका नौ जना बच्चा फुतुफुतु मरेछन्। मर्न त अरु बेला पनि मरिरहन्थे रे। तर त्यो वर्ष झपाझप मर्दा मलाई पनि गुमाउने डर भएछ। मेरो परिवारमा। 

‌+++

म जन्मिनुको पनि कहानी। सुन्दा पत्यारै नलाग्ने। तर मैले मेरा भाइ र बहिनीहरु जन्मेको देखेकाले मलाई पत्याइहाल्न गाह्रो पनि भएन।

०४४ फागुन २४ गते दिन मेरी आमा स्याउला लिन वनतिर जानुभएछ। बाटोमा बेस्मारीको बिमारीले बेहोस हुनुभएछ। स्याउलाको भारी बोकेर फर्किंदै गर्दा गाउँकै ठूलीआमाले देख्नुभएछ। र उहाँले स्याउला छाडेर आमालाई बोकी घर पुर्‍याउनुभएछ। बुबा पनि घरमा हुनुहुँदो रहेनछ। टोलछिमेकका बजैहरु आएर आमालाई होसमा ल्याउन कोसिस गर्नुभएछ। खर्सुको दाउराले राप दिइरहेको चुला नजिकैको मैडामा अचेत आमालाई पल्टाइएको रहेछ। कसैले गाग्रोमुनिको हिलो माटो चाँदा (निधार)मा लगाइदिएछन् त कसैले मनतातो तेलले सेकापातो।

भूतप्रेत लागेको शङ्का गरिएछ। घरकी बजै धमेनी हुनुहुन्थ्यो। बजैलाई देउता बसाल्न खोजेछन्। तर देउता आइदिएनछन्। किनकि आमालाई भूतप्रेत होइन, सुत्केरी व्यथा लागेको रहेछ। यस्तो बेला देउताले गर्न सक्ने केही थिएन। नजिकै स्वस्थ्यचौकी पनि थिएन। सिएमए पास डाक्टर भेट्न पनि चार घण्टा टाढा जिल्ला सदरमुकाम दुनै पुग्नपथ्र्यो। सुत्केरी व्यथा लागे अस्पताल जानुभन्दा पीडा सहनु स्वाभाविक बुझिन्थ्यो पनि। त्यसमा आमा बनेर अनुभव लिइसकेका बजैहरुले केही नहुने र बढी चिन्तित हुनुपर्ने आवश्यकता नरहेको सुनाउनुभएछ। चिन्ता लिएर पनि गर्न सक्ने केही थिएन।

निरन्तरको सेकापातपछि आमाको होस खुलेछ। त्यसपछि आमाको छटपटी झनै बढेछ। जम्मा भएका सुडेनीहरुले सुत्केरी व्यथाले थलिएकी आमालाई गोठमा लगेछन्। गोठमा सुडेनी आमाले आमालाई ठाडो बस्न, घोप्टो पर्न, उभिन, झुन्डिन जस्ता अनेक कृत्य गर्न लगाएछन्। यस्तै अनेक तरिकाको निरन्तरताको चक्रसँगै आमाले मलाई जन्म दिनुभएछ। मेरो च्याहाँच्याहाँको चिच्याहटले गोठका भेडाबाख्रा पनि तर्सिएर कान ठाडा र याटयाट पार्दै आफ्नो झुन्ड बनाएछन्। सुडेनी आमाहरुले घाँस काट्ने आँसी (हँसिया)ले मेरो नाइ (नाभि) काटिदिनुभएछ। रगतपच्छे भएकी आमालाई नुहाइधवाइमा सघाइदिएर आफू पनि नुहाइधुवाइ गरी चोखिनुभएछ। सुडेनी आमा नुहाइधुवाइबाट तत्कालै चोखिए पनि मेरी आमा भने चोखो हुनुभएनछ। त्यसैले उहाँलाई १५ दिनसम्म गोठमै राखिएछ।

पछि भाइबहिनी जन्मिँदा मैले देखें, अध्याँरो गोठमा गाईगोरु वा भेडाबाख्रासँगै सुत्नुपर्ने र छेउको कुनामा आगो बालेर खाना पकाई खानुपर्ने हु“दो रहेछ। अहिले सम्झि“दा मात्र पनि काल्पनिक कथाको आङ नै सिरिङ्ग हुने डरलाग्दो दृश्य जस्तो लाग्छ। तर त्यो सत्य थियो भनी थाहा पाउँदा दिक्क लाग्छ। अनि घीन पनि।

सकसका साथ आमाले मलाई जन्म दिनुभएको रहेछ। मैले भोगेको थाहा पाइनँ। तर मेरै जन्मका कारण आमाले भोगेको कहानी सुन्दा मात्र पनि उकुसमुकुस भयो। अति पीडादायक। आमाले भोगेको पीडा म कल्पना गर्न सक्छु। किनकि मैले एक पटक उहाँ बिरामी हुँदा मैले पनि त्यत्तिकै दर्द महसुस गरें। असह्य पीडा भयो।

‌‌+++

चारैतिर हिमालले घेरेको माझफाल गाउँ। त्यति बेला फागुनको अन्त्यतिर आइपुग्दा हिउँ कम हुन्थ्यो। कामको रफ्तार भने बढ्थ्यो। त्यही मौसमको एक दिन म पनि सन्त, साइँलो, सम्झना र रामबहादुरस“ग मेतौरा खोज्न गएँ।

त्यो दिन मेतौरा खोजेर घर फर्किएँ। घरभित्र छिर्ने ढोका लगाएको थिएन। ढल्केको घाम ढोका र झ्यालबाट छिरेर भित्र मैडासम्म पुगिरहेको थियो। दैलोमा सिरानी र पारिलो घाममा ओछ्यान लगाइएको थियो। परबाटै कोही सुतिरहेको स्पष्ट देखिन्थ्यो। मेतौरा नल्याई रित्तै फर्किएँ। धेरै मेतौरा घर ल्याउन पाएका बेला हँसिलो मुख हुन्थ्यो। भोक लागेको पनि पत्तो हुँदैनथ्यो। तर पनि आमाले, “भाउवाले खुब राम्मो काम गरेछ” भनेर अर्नीमा गहुँको रोटी पकाइदिनुहुन्थ्यो। तर आज रित्तै थिएँ। रित्तै आएकाले पेट पनि रित्तै थियो। मुख पनि मलिन थियो। आमाको हातबाट अर्नी होइन, अरु नै खान तयार थिएँ। मलाई त्यो दिन गालीले नै पुग्ने थियो। पेटमा अन्न नपर्दा कमजोर भइँदो रहेछ। म नजिक गएँ, अरु बेला कामले फुर्सद नहुने आमा सुतेको देखें। अचम्मको दृश्य देखेर म छक्क परें। उहाँको अनुहारमा पसिना आइरहेको थियो। मुख कालोनीलो बनेको थियो। “आमा आमा” भनि बोलाएँ। सुन्नुभएन। नजिकै गएर हातले हल्लाएँ। अहँ अझै सुन्नुभएन। चुपचाप सुतिरहनुभएको थियो। म धेरै कराउन सक्ने अवस्थामा थिइनँ। तर पनि सके जति डाँको छाडी रोएँ। कराएँ। कसैले सुनेर आइदियोस् भनेर झन चिच्चाएँ। छिमेकी बोबोले म आत्तिएको थाहा पाउनुभएछ। हतारहतार आउनुभयो। नाडी समात्नुभयो र भन्नुभयो, “यइत बेला तेरो बाबु कहाँ जानभछ त?”

मलाई पनि थाहा थिएन। वनतिर काममा गएकाले घरमा कोही थिएनन्।

“धामी घरै छन् कि नाई, हेर प ?” बोबोले भन्नुभयो।

धमेनी त बजै पनि हुनुहुन्थ्यो। तर आज कहाँ जानुभएछ ? बोबो पनि हुनुहुन्नथ्यो। छेउमा अर्को घर थियो। त्यहाँ बस्ने बोबो धामी हुनुहुन्थ्यो। म उछिट्टिँदै गएँ। र मेरो घरको लिस्नो चढें। छतबाट धामी बोबोको छतमा गएँ, त्यसपछि आगनमा पुगें। म त्यहाँ पुग्दा घरको ढोका बन्द थियो। ढोकामा ताल्चा नै लगाइएको थियो। म रन्थनिएँ। घरमा कोही थिएनन्। गाउँमा पनि बालबच्चा र केही बूढाबूढीबाहेक खासै कोही थिएनन्। धामीले आमालाई ब्युँझाउँछन् कि सोचेको थिएँ, त्यो आशा पनि मर्‍यो। आँखामा झिल्ली लागे जस्तो भयो। मेरा आँखाबाट पानी चुहिन थाल्यो। म नजिकैको कुनामा गएँ। बेस्मारी कराईकराई रmन मन लाग्यो। अरु बेला आमाको पिटाई खाएर झर्ने आ“सु आज अर्कै कारणले झरिरहेका थिए। मन डराइरहेको थियो। फेरि फर्केर आमाको हालत हेर्न सक्ने अवस्थामा म थिइनँ। खाली पेट भरिइसकेको थियो। भोक मरिसकेको थियो। मलाई केही चाहिएको थिएन, आमाको गाली चाहिएको थियो। प्याटप्याट पिटाइ चाहिएको थियो। केही सीप नलागेपछि आँसु पुछपाछ गरें र फर्किएँ।

म आमाको मुहार हेर्न आतुर थिएँ। म फर्किंदासम्म उहाँलाई ठीक भएको देख्न चाहन्थें। तर मैले चाहँदैमा केही भइहाल्ने थिएन। छतबाट आगनमा हेर्छु त आमा सुतेको ठाउँमा कोही देखिएनन्। आमा पनि देखिनुभएन। म झन् निराश बनें। ढोकाभित्र छिर्न लागेको थिएँ कोही बोलिरहेको सुनें। ढोका नजिकै मैडामा खाट थियो। त्यही खाटमा केही मान्छे झुम्मिएका थिए। कुनामा सानो दाउँको थियो। त्यहीमाथि चढें र पुलुक्क हेरें। आमालाई मैडामा सुताइएको थियो। बुबालाई त्यही छेउमा बसेको देखें। दुईटा बटुका अगाडि राखिएका थिए। एउटा लामा र काला लुगा लगाएको मान्छे फु...फा गर्दै थिए। उनी प्राकृतिक उपचार गर्ने लामा डाक्टर अर्थात् आम्ची रहेछन्। अर्को गाउँमा आएको थाहा पाएर आमालाई एक्लै छाडी बुबा उनलाई ल्याउन जानुभएको रहेछ। दुई घण्टापछि आमाले आ“खा खोल्नुभयो। बोबो र बजै लेक जानुभएको रहेछ। उहाँहरु पनि आइपुग्नुभयो।

एक हप्तामा आमा फेरि काममा जोतिन सक्ने हुनुभयो। बाँच्नु अर्थात् काममा जोतिनु, यी उस्तै त थिए। आमा जत्तिकै नभए पनि मैले पनि कामको जिम्मेवारी पाउन थालें। र त भैंसी चराउन गएँ।

+++

भैंसी चराउँदा मैले बच्चालाई टेकेकै वरिपरि सानोमै मरेका बच्चा गाडिँदो रहेछ। बजैले भनेपछि थाहा पाएँ, तिनलाई स्यालले उधिनेर खाँदा रहेछन्। र सेता हड्डी पाखामा असरल्ल छरिँदा रहेछन्। मेरो भाहरुलाई पनि त्यहीँ गाडिएको रहेछ। पछिपछि ती हड्डी र चिहान देख्दा मेरा भाइ पनि यहाँ छन् कि जस्तो लाग्यो। पाखामा भैंसी चराउँदा, अरु बेला बाटोमा हिँड्दा कतै दाइ भनेर बोलाए जस्तो लाग्थ्यो। मलाई कतै भाइलाई देखी पो हाल्छु कि भन्ने लाग्यो। जन्मेको चार वर्षपछि माइलो भाइले मृत्युवरण गरेको थियो। साइँलो केही महिनापछि त काइँलो भाइ जन्मेको केही दिनमै मरेका थिए। मेरी आमाको कोखबाट एउटा छोरी र पाँच छोरा जन्मिए। तीन भाइहरुले जन्मेको केही समयमै मृत्युवरण गरे। पहिलो म, चौथो बहिनी र छैटौं भाइ मात्र बाँच्यौं।

बाँचेका भाइबहिनी पनि प्राण जानजानै लागेको अवस्थाबाट फर्किएका थिए। बहिनीलाई लागेको भूत देउताले झारे र ऊ बाँची। कान्छो भाइ डेढ वर्षको हुँदा साह्रै बिरामी पर्‍यो। झाडापखाला र ज्वरोले ग्रस्त भयो। उसैलाई बोकेर म, बुबाआमा जुफाल गयौं। तीन घण्टा हिँडेपछि पुगिने सानो बजार जुफालमा भर्खर सिएमए पास गरेर आएका गणेश शाहीको मेडिकल थियो। उहाँले बचाउनुभयो। त्यसपछि उपचारको शक्ति मैले पनि बुझें। मेरा अरु भाइ पनि उपचार पाएको भए बाँच्थे कि ? मेरा भाइहरु जस्तै त्यति बेला गाउँमा अन्य बालबालिकाहरुले पनि उपचार नपाएर मरेका थिए।

आफ्ना सन्तान बाँचून् भनेर नचाहने को होला ? तर बच्चा बाँच्छ वा बाँच्दैन, त्यसमा बुबाआमाको हात हुँदैनथ्यो। कुन बाँच्छ वा कुन मर्छ, थाहा नहुने भएकैले एउटा बच्चा पाल्ने क्षमता नभए पनि जतिसक्यो धेरै बच्चा जन्माउँथे। दुई ओटा बच्चा भए पनि भर मान्दैनथे। त्यसैले निरन्तर बच्चाहरु जन्मिरहन्थे। र मर्थे पनि। गाउ“को यही नियति थियो।

 

सांग्रीला बुक्सबाट प्रकाशित प्रेमबहादुर बोहराको संस्मरणात्मक कृति कोग्ले शुक्रवार (आज) भृकुटीमण्डप पुस्तक प्रदर्शनी स्थलमा विमोचन हुँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell