श्रीमती भान्सामा तरकारी काट्छिन्। भाडा माझ्छिन्। सर सफाइको जिम्मेवारी पनि उनकै। श्रीमान आराम गरिरहन्छ। सासु कहिले घर भित्र र कहिले बाहिर गर्छिन्। मलयालम भाषामा बनेको एक कम बजेट फिल्म 'द ग्रेट इन्डियन किचन'को कथा यस्तै दृश्य वरपर घुम्छ।
फिल्मले भारतीय परिवारमा व्याप्त पितृसत्तात्मकतालाई प्रष्ट्याएको छ। पितृसत्ताले दैनिक जीवनमा नजानिँदो तरिकाले निम्त्याएको भयावह स्थिति देखाएको छ। इज्जतदार मध्यमवर्गीय घरको अँध्यारो भान्साको कथा देखाउने यस फिल्मलाई समीक्षकहरूले वर्षकै उल्लेखनीय फिल्म भनेका छन्। केरलका विभिन्न सार्वजनिक वृत्त र सामाजिक सञ्जालमा फिल्मको चर्चा भइरहेको छ। विशेषगरी फिल्मले उठाएको लैङ्गिक विभेदको विषयमाथि छलफल भइरहेको हो।
फिल्मका निर्देशक जीयो बेबी भन्छन्, 'यो हरेक ठाउँको कथा हो। भान्सा भित्रको संघर्ष प्राय भारतीय महिलाको कथा हो। पुरुष सोच्छन्, महिला एक मेसिन हो। उ चिया पकाउनेदेखि कपडा धुने र बच्चा हुर्काउनका लागि हुन्।'
उनले फिल्म 'द ग्रेट इन्डियन किचन' बनाउने प्रेरणा पनि आफ्नै घरको भान्साबाट मिलेको बताउँछन् बेबी। सन् २०१५ मा विवाह भएपछि आफूले भान्सामा अधिक समय बिताउन थालेको र त्यसपछि बल्ल भान्साको काम कति अप्ठ्यारो हुँदो रहेछ भन्ने बुझेको बताउँछन् उनी। 'लैङ्गिक समानताका कुरा गर्दै श्रीमतीलाई सघाउन पुगेको म चाँडै भान्साबाट छुट्कारा खोज्न थालें', उनले बीबीसी हिन्दीसँग भनेका छन्,'मलाई जेलमा परेकोजस्तो महसुस हुन थाल्यो। लगत्तै मैले ती महिलाहरूबारे सोच्न थालें जो यस चक्रबाट बाहिर निस्कनै सक्दैनन्।'
उनले यस विषयमा सोच्न थाले र बन्यो त्यो उल्लेखीय फिल्म।
फिल्मको सुरुवात एक मागी विवाहको दृश्यबाट हुन्छ। बेहुली र बेहुला बनेका छन् निमिशा सजयान र सूरज बेन्जरामुडु।
विवाह लगत्तै बेहुलीको काम सुरु हुन्छ। उनको काम अर्थात् – आफ्नो श्रीमानले राम्रोसँग खाना खाए खाएनन् ख्याल राख्नु। इच्छा भएपनि नभएपनि। भान्सामा मात्र होइन कोठमामा पनि महिला पात्रको इच्छाको सम्मान हुँदैन। इच्छा विपरित शारीरिक सम्बन्ध राख्न बाध्य हुन्छिन् उनी।
अमेजन र नेट्फ्लिक्सले राख्न नकारेको फिल्म नीस्ट्रीम एपमा प्रदर्शनरत् छ। प्रदर्शनपछि भने फिल्म समीक्षात्मक हिसाबमा सफल ठहरिएको छ।
केरल भारतको प्रगतिशील राज्यमध्य एक हो। शत् प्रतिशत साक्षरता भएको राज्य हो यो। यहाँ महिलाहरू संगठित क्षेत्रमा काम गर्छन्। तर पनि यस राज्य पितृसत्तात्मक भएको बताउँछिन् क्राइस्ट कलेजकी सह प्राध्यापक क्लिन्टा पीएस।
भन्छिन्,'केरलमा हामी महिला सशक्तीकरणको कुरा गर्छौं। यहाँका महिला काम गर्न निस्कन्छन्। तर, बेलुकी फर्किएपछि घरको सबै काम गर्न पनि उनीहरू नै जिम्मेवार हुन्छन्। प्रगतिशील र पढेका परिवारमा पनि त्यस्तो दृश्य देख्न सकिन्छ।'
पुरुषहरूले लैंगिक समानताको कुरा गरेपनि आफ्नो घरमा ती कुरा लागू नगर्ने दाबी गर्छिन् क्लिन्टा। उनीहरूले महिलालाई लिएर दोहोरो मापदण्ड राख्ने बताएकी छिन्। यिनै विषयलाई समेट्छ फिल्म 'द ग्रेट इन्डियन किचन'ले।
फिल्मबारे सामाजिक सञ्जालमा चर्चा छ। महिलाहरू एकअर्कालाई फिल्मले 'हाम्रो कथा भन्छ' भनिरहेका छन्। फिल्म हेर्न अपिल गरिरहेका छन्। केहीले पुरुष निर्देशकले महिलाको मनोविज्ञान दुरुस्त उतार्नुको प्रशंसा गरेका छन्। फिल्मले बढाई चढाई नगरी आम भान्साको कथामार्फत् पितृसत्ताविरुद्ध प्रश्न गरेको जनाइएको छ।
