PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

महिला मार्चका केही अनुहार जो असन्तुष्ट छन् न्यायालय र सरकारप्रति, 'राष्ट्रपतिले केही गर्न सकिनन्'



लक्ष्मी बलायर

महिला मार्चका केही अनुहार जो असन्तुष्ट छन् न्यायालय र सरकारप्रति, 'राष्ट्रपतिले केही गर्न सकिनन्'

कोटेश्वर बस्ने विश्व ऐर बलात्कारका समाचार सुनेर निकै दिक्क थिए। निकै उकुसमुकुस पनि। उनले महिला मार्चको बारेमा इन्स्टाग्राममा थाहा पाएछन्। थाहा पाउनेबित्तिकै साथी सुजन चौलागाईँसँग शुक्रबार नागरिक आन्दोलनमा सहभागी भए।

सम्बन्धित समाचार : जब महिला मार्चको अघिअघि निस्कियो 'प्रतिगमन' को शव यात्रा

महिला मार्चमा भेटिएका विश्व भन्छन्, ‘बलात्कारजस्ता घटनालाई जरैबाट निकाल्नुपर्छ। युवा यसरी बाटोमा आउन निकै जरुरी छ।’

यस्ता घटना बढी जस्तो ग्रामीण क्षेत्रमा भइरहेको हुँदा सबैले शिक्षित हुन जरुरी रहेको उनले बताए।

इन्दिरा क्षेष्ठ पनि विरोध प्रदर्शनमा नौमती महिला सहकारी समूहसँगै आएकी थिइन्। भन्छिन्, ‘विरोधमा प्रदर्शन भएका कुरा नारामा मात्र सीमित नहोस्, काम पनि होस्। हुन त नाराले झक्झकाउने काम गर्छ। नाराको कुरा सरकारसम्म पुगोस्।’

 उनले बलात्कार गर्नेलाई कारबाही गर्न कडा कानुन बनाउन सरकारसँग माग समेत गरिन्।

कालिकोटका महेश भट्टराई हाल गोठाटार बस्छन्। महिला मार्च सिंहदबार अघि पुगेर सभामा परिणत हुँदा उनी पनि साथीसँगै बसिरहेका थिए।

भन्छन्, ‘सत्यको पक्षमा भनेर म यो आन्दोलनमा रेगुलर आइरहेको छु। म स्वतन्त्र रुपमा आएको छु गर्व लाग्छ मलाई।’

बलात्कारी र हत्यारासँग सरकार नै मिलेको हुनाले हत्यारा पत्ता लाग्न नसकेको उनको दाबी छ।

उनले भने, ‘एसिड छ्याप्ने र बलात्कार गर्नेको लिङ्ग नै काट्नुपर्छ। कडा कानुन बनायो भने मात्र यस्ता घटनाहरु कम हुन्छन्।’

भक्तपुरकी मनीषा थापालाई पनि अहिलेको यो अवस्थाले निकै दुःख लागिरहेको छ। विरोध आन्दोलनमा पुरुषहरु कम भएको र महिलाको संख्या बढी देखेकोमा चित्त बुझेको छैन उनलाई।

‘यो महिला पुरुषभन्दा पनि मानव अधिकारको विषय हो,’ उनले भनिन्।

अध्यागमन विभागले केही राष्ट्रहरुमा ४० वर्ष मुनिका महिला पहिलोपटक विदेश जान परिवार र वडाको सिफारिस लिनुपर्ने कुरा सुनेयता उनी सरकारसँथ थप  आक्रोशित छिन् उनी। भन्छिन्, ‘आखिर हामीले कहिलेसम्म पुरुषकै अधीनमा बस्ने?’

महिला राष्ट्रपति भएपछि महिलालाई राम्रो होला भनेर निकै खुसी लागेको थियो उनलाई। तर, बलात्कारको घटना बढ्दा पनि महिला राष्ट्रपति भएर पनि महिलाको सुरक्षाको लागि केही गर्न नसकेको गुनासो छ उनको। आन्दोलनमा आफूहरुलाई सिंहदरबारसम्म पनि जान नदिएको र रोकेको कुराले पनि मन दुखेको बताउँछिन् उनी।

रितान्त खनाल र बबिन वाग्ले पनि आन्दोलनमा सरिक थिए। अदालतले पनि बलात्कारको घटनाबारे राम्रोसँग नहेर्ने आरोप लगाए बबिनले।

‘न्याय र सरकार फेल खाएर नै बलात्कारका घटना बढेका हुन्,’ उनले भने। 

रितान्त बलात्कारका घटनाका दोषीलाई कारबाही गर्न राज्य चुकेको मत राख्छन्। भन्छन्, 'अहिलेसम्म पनि निर्मलाको हत्यारा पत्ता लाग्न सकेन, अब यी मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा लानुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell