काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नक्सा प्रकाशित गरेपछि पार्टी भित्रैबाट आफूविरुद्ध चलखेल भएको आरोप लगाएका छन्। बुटवलमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफू पक्षीय सभामा बोल्दै प्रधानमन्त्रीले यस्तो आरोप लगाएका हुन्।
'नेपालको भू-भाग समेटेर नक्सा प्रकाशित गरेपछि, नक्सालाई बहुमतले संविधानमा अनुसुचीकरण गरेपछि उहाँहरु आत्तिनुभयो,' उनले भने, 'अनि प्रधानमन्त्री हट्नुपर्यो। अध्यक्ष छाड्नुपर्यो। अन्तबाट होइन अरुले रोकेको होइन आफ्नै पार्टीभित्रबाट भयो।'
ओलीले नेकपाभित्रबाट प्रचण्ड-माधव नेपाललगायतका नेता हटेपछि पार्टी गतिशील भएको बताए। 'तीन वर्ष संवैधानिक निकायमा नियुक्त हुन सकेको थिएन। उहाँहरु हटेपछि नियुक्त भयो,' उनले भने, 'थाहा पाउनुभयो नि उहाँहरु हटेपछि काम भयो। पार्टी गतिहिन भएको थियो निष्प्रभावी भएको थियो। उहाँहरु हट्नुभयो। पार्टी गतिशील भएको छ।'
उनले हिजो पार्टीभित्र बसेर गाली गर्नेहरु अहिले बाहिर गएर गाली गरि रहेकोसमेत बताए। 'हिजो पार्टीभित्र बसेर गाली गरेका थिए। अहिले त्यही कुरा पार्टी बाहिर बोलिरहेका छन्। त्यति मात्र फरक हो,' उनले भने, 'हिजो सँगै हुँदा पनि पत्रिकामा गएर, टिभिमा गएर रेडियोमा बोलेर गरिरहेका थिए।'
उनले पार्टी सुदृढिकरणको ढोका खुलेकोसमेत बताए।
'आज आफै उहाँहरु बाहिर गएर महान शुद्धीकरणको ढोका खोल्नुभएको छ। आज पार्टी गतिशील ढंगले अगाडि बढेको छ। अब पार्टी सुदृढ ढंगले एकतावद्ध भएर अगाडि बढेको छ। केही मानिसहरु बाहिर गएका हुन्। कठैबरा भन्नुपर्ने भन्दा पार्टीको बदनाम गर्नेहरु गएका हुन्,' प्रधानमन्त्री ओलीले भने।
