PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

विस्मृत हुँदै जनयुद्धको इतिहास : नेतृत्वले भुल्दै, विरोधीले क्यास गर्दै लिगेसी



विधुर ढकाल

विस्मृत हुँदै जनयुद्धको इतिहास : नेतृत्वले भुल्दै, विरोधीले क्यास गर्दै लिगेसी

काठमाडौं : २०५२ साल फागुन १ गते तत्कालिन नेकपा (माओवादी) ले तत्कालीन राज्यसत्ताविरुद्ध जनयुद्धको घोषणा गर्‍यो। जनयुद्ध सुरु भएको २५ वर्ष पूरा भएको छ। तत्कालिन नेकपा (माओवादी)ले जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको फागुन १ गते ओझेलमा पर्दै गएको छ। शनिवार पनि यो ओझेलमा पर्‍यो।

तत्कालिन माओवादीको नेतृत्व विभाजन हुँदा जनयुद्ध दिवस मनाउने विषय ओझेलमा पर्‍यो। तीन वर्ष अगाडि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि जनयुद्ध दिवसलाई नेकपाले जनआन्दोलन र जनयुद्धका शहीदहरुको सम्झनामा भन्दै फागुन १ मा कार्यक्रम गर्दै आएको थियो। तर, यसपटक नेकपा विभाजनको अवस्थामा पुगेको छ।

योसँगै प्रधानमन्त्री केपी शर्मा ओली 'जनयुद्ध' शब्द प्रति सकरात्मक छैनन्। उनले हिजो पनि हिंसात्मक युद्ध भन्थे आज पनि भन्छन्। पार्टी एक हुँदा समेत फागुन १ को कार्यक्रममा उनी सहभागि भएनन्। अहिले उनले जनयुद्धका घाइते योद्धाको सम्झना गर्छन्। वाध्यात्मक रुपमा। तर जनयुद्धलाई भने सम्मान गर्दैनन्। प्रचण्डको चटकको संज्ञा दिन्छन्।

अर्को तर्फ प्रचण्ड समूहले पनि जनयुद्ध दिवसको शुभकामना दिए पनि ब्यानरमा कार्यक्रम गर्न छाडेको छ।

जनयुद्ध दिवसमा शनिवार मोहन वैद्ध नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले युवा मार्चपासको आयोजना गर्‍यो। जनयुद्धमा सहभागि अर्को नेतृत्व नेत्र विक्रम चन्द 'विप्लव' समूह प्रतिवन्धि छ। यो समूहले भूमिगत रुपमा आफ्ना पकड भएका ग्रामिण इलाकामा कार्यक्रम गर्‍यो।

त्यस्तै अर्को नेतृत्व डाक्टर बाबुरा भट्टराईले पनि सामाजिक सञ्जालमा शुभकामना दिए। 'गुमनाम आमाहरुको कथा' सार्वजनिक गरे।

जनयुद्धको लिगेसी क्यास गर्दै 'विरोधी'

तत्कालीन माओवादीमा विभाजन आएसँगै जनयुद्धको लिगेसी क्यास गर्न जनयुद्ध र माओवादीका कट्टर विरोधी आलोचकका रुपमा रहेका प्रधानमन्त्री ओली अहिले उद्धत छन्। तर, उनले माओवादीले चलाएको जनयुद्धलाई आन्दोलनको रुपमा लिन अझै पनि चाँहदैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सशस्त्र विद्रोहमा मारिएका र घाइते भएकाहरूप्रति सहानुभूति प्रकट गरेका छन्।  उनले बुटवलमा आयोजित सभामा बोल्दै 'प्रचण्डले उचालेर, झूटा सपना बाँडेर कतिलाई मराएको, अङ्गभङ्ग गराएको, विधवा र टुहुराटुहुरी बनाएको' आरोप लगाए। प्रचण्डले 'जनवाद, क्रान्ति र सुखका दिनको सपनाको नाममा जादु देखाए आब्राका डाब्रा भन्दै' ओलीले भनेका थिए।

उनले घाइते, लडाकु र सबै पक्षका पीडितहरूलाई सम्मान गर्ने बताए। 'उहाँहरूलाई सम्मानपूर्ण ढङ्गले परिचयपत्र वितरण गर्छौँ, शरीरमा गोली बोकेकाहरू, घाइते र अपाङ्ग जो छन्, उपचार गराएर अरू व्यवस्था गर्छौँ,' उनले भने। तर उनले जनयुद्धलाई प्रचण्डकको 'सनक'को रुपमा चर्चा गरे।

उनी मात्र होइन जनयुद्धको नेतृत्व गरेका तत्कालिन जनमुक्ति सेनाको कमिसारको रुपमा काम गरेका टोप बहादुर रायमाझी बुटवलमा शनिवार नै ओलीसँग कुममा कुम जोडेर बसे। भाषण गरे। सामाजिक सञ्जालमा जनयुद्ध सम्बन्धित 'इपिक पोस्टर' सेयर गर्दै शुभकामना दिएका उनले हजारौं‌ सहभागी सभामा जनयुद्धलाई भने सम्झिएनन्। जनयुद्धका योद्धाहरुलाई सम्झिएनन्। बरु उनले माओवादी चलाएको आन्दोलनलाई उट्पट्याङको संज्ञा दिए। उनको भाषण फौजी भने थियो।

-प्रधानमन्त्रीलाई बिग्रिएको थ्रिनट थ्रि लिएर विशेष अधिवेशन मार्फत अधिवेशन माग गर्ने हटाउन सक्ने स्थिति थिए। त्यसका लागि उहाँहरुसँग १३८ जना सांसद आवश्यक पर्थ्यो उहाँहरुसँग ५५ जना मात्र पुग्ने स्थिति भयो। त्यसपछि उहाँहरुले प्रतिपक्षीको काँधमा बसेर सुट गर्ने त्यो थ्रिनट थ्रि बिग्रेको राइफलले सुट गर्छु भन्नुभयो के प्रतिकात्मक रुपमा थ्रिनटथ्री राइफल लिएर त्यो पनि बिग्रेको राइफल लिएर उहाँहरुले सुट गर्ने इच्छा ब्यक्त गर्नुभयो।  त्यो खुलेआम गरिसकेपछि केपी शर्मा ओलीसँग स्वचालित हतियार थियो। कुनै बिग्रेको हतियार थिएन्। उहाँसित एके ५७ थियो। जब उहाँहरु (प्रचण्ड-माधव नेपाल समूह)ले कक गर्न थाल्नुभयो सुट गर्न थाल्नुभयो। अब आफू सिद्धिनुभन्दा पहिला उहाँ (ओली)ले दिनुभयो दनक। सडकमा पछारिनुभयो।  हामीले भनेका थियौँ केपी शर्मा ओलीसँग पचास अप्सन छन्। तपाईँहरुसँग एक दुईटा अप्सन पनि छैनन्। यो हर्कत नगर्नुहोस्। तपाईँहरु सडकमा पछारिनुहुन्छ भन्दा नभन्दै उहाँहरु सडकमा जानुभयो।

उनले प्रचण्ड माधव नेपालसँग तीन विकल्प भएकोसमेत बताए। कि ओलीको सिग्नेचर लिएर टिकट लिएर चिन्ह लिएर चुनावमा जान पर्‍यो। कि पार्टीबाट चोइटिइएर जानुपर्‍यो। निर्वाचन बहिस्कार गर्ने हो भने मोहन वैद्यसँग जानपर्‍यो।

जनयुद्धबाट आएका रायमाझीले प्रचण्डहरुमा युद्ध र आन्दोलनको धङ्धङी अझै नसिद्धिएको छैन।

रायमाझीले यसअघि नेकपा माओवादीले काठमाडौंमा गरेको ६ दिने आम हड्तालसहितको आन्दोलनलाई उट्पट्याङसमेत बताए। 

अहिले नेकपाको ओली समूह पूर्व लडाकुहरुलाई आफ्नो पक्षमा पार्नका लागि राहतका प्याकेज घोषणा गर्दै हिँडेका छन्। शुक्रवार मात्र बुटवलमै ओली समूहले पूर्व लडाकुहरुको राष्ट्रिय भेलाको आयोजना गरेको थियो। त्यसमा रायमाझीसहित पूर्व माओवादी नेता लेखराज भट्ट सहभागि थिए।

नेकपाको ओली पक्षले बुटवलमा शुक्रवार आयोजना गरेको पूर्व जनमुक्ति सेनाको राष्ट्रिय भेला।

विस्मृत हुँदै जनयुद्धको स्मृति

 जनयुद्धमा सहभागि नेतृत्व विभाजित छ। अहिले जनयुद्धको इतिहास भइसकेको छ। तर, इतिहास पनि विस्मृत हुन थालेको छ।

जनयुद्ध दिवसलाई प्रचण्ड नेपाल समूहले पनि मनाएन्। यद्पी उसले शहीदको सम्झनामा कार्यक्रम गर्‍यो। तर जनयुद्ध दिवसको रुपमा मनाउन छाडिसकेको छ। सामाजिक सञ्जालमा पूर्व माओवादी नेताहरुले जनयुद्धको शुभकामना व्यक्त गरे।

जनयुद्ध दिवसलाई अहिले पनि मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपाले मनाए पनि पहिले जस्तो चर्चामा भने रहेको देखिँदैन्।

२६ औं जनयुद्ध दिवसको अवसरमा क्रान्तिकारी माओवादीले आयोजना गरेको युवा मार्चपास र सभालाई सम्बोधन गर्दै वैद्यले क्रान्ति जारी रहेको उद्घोष गरे। 'जनयुद्धको बत्ति निभेको छैन, जनयुद्धको झण्डा गिरेको छैन, क्रान्ति जारी छ।'

तत्कालिन माओवादीले चलाएको जनयुद्धमा सात डिभिजन जनमुक्ती सेना निर्माण गरेको थियो। शान्ति प्रक्रियापछि सेना समायोजन भइसकेको छ। केही नेपाली सेनामा सामेल भए। कोही अवकास र बहिर्गमनमा परे। उनीहरु कति विदेशी भूमिमा छन्।

'यस अवधिमा हामीले सात डिभिजन जति जनमुक्ति सेना बनायौं। र, विश्वलाई समगरमाथाको देशबाट क्रान्तिको महान सन्देश दियौं। दशवर्षे जनयुद्ध नेपाली क्रान्तिको लागि मात्रै होइन विश्व क्रान्तिका निम्ति पनि एउटा महान ऐतिहासिक उद्घोष थियो। तर दुःखको कुरा पार्टीभित्र पैदा भएको दक्षिणपन्थी अवसरवाद र संशोधनवादले धोका दियो। तसर्थ, हामीले जनयुद्धको लक्ष्य पूरा गर्न सकेनौं,' वैद्यले शनिवार आयोजित सभामा भनेका थिए, 'तैपनि गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता आंशिक उपलब्धि पनि जनयुद्धका उपलब्धि हुन्। अहिले तिनलाई पनि ध्वस्त पार्ने षड्यन्त्र भइरहेको छ। संसद विघटनसम्म आउँदा संसदीय व्यवस्था सम्पूर्ण रुपले असफल भइसकेको छ। मजदुर, किसान कसैका समस्या समाधान भएका छैनन्। महिलाहरु हत्या र बलात्कारका शिकार भइरहेका छन्। जनजातिहरुको नाम मात्रको संघीयता छ। मधेसी मुस्लिम लगायत जनसमुदायका हक अधिकारहरु स्थापित हुन सकिरहेका छैनन्। तसर्थ अब संघीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नुको विकल्प छैन।'

फोटो : शनिवार आयोजित कार्यक्रममा बोल्दै मोहन वैद्य। मूलबाटोबाट साभार।

जनयुद्ध यसरी विस्मृत हुँदै गर्दा युएईबाट मनोज काउचाले सामाजिक सञ्जालमा आक्रोश ब्यक्त गरेका छन्-

'नेपालको विधमान सविधानको प्रस्तावनमा सशस्त्र युद्ध मात्र लेखिएको छ! सविधानमा लेख्न हिजोको सशस्त्र जनयुद्धको क्रान्तिकारी भनाउदाहरुले जनयुद्ध भन्ने शब्द संविधानमा उल्लेख गर्न किनलाज माने र आज जनयुद्ध दिवसको दिन किन जनयुद्ध उच्चारण गर्न किन रामे (रामबहादुर थापा) र टोपे (टोपबहादुर रायमाझी) डराए व हिच्किचाए यसको जवाफ शहीद वेपत्ता घाइते योद्धाहरु को परिवार ले छिटै लिनेछ यिनिहरुलाई,' काउचाले लेखेका छन्, 'यस्ता ब्याक्ती ले गर्दा जनयुद्ध भएकै थिएन कि भन्ने भ्रम कालान्तरमा नयाँ पुस्तामा फैलाउन सक्छ। तर सहिद बेपत्ता घाइतेको परिवार हजारौं जनता राजनैतिक बैचारिक रुपमा संगठित भएर ब्यवस्था परिवर्तनको लागि प्राण आहुती दिनुहुने मेरो बाबा जस्तो हजारौं शहीद बेपत्ता घाइते सबैले प्राण आहुती दिनसम्म पछि नपरेर लिएको जनयुद्ध त्यो कालखण्ड नै जनयुद्ध नै हो। आजको हजारौं सहिद बेपत्ता घाइते योद्धा बाट आएको जनयुद्ध दिवस नै आजको जनयुद्ध दिवस हो कुनै व्यक्तिले जनयुद्ध दिवस मानोस वा नमानोस्।'

रुपन्देहीका काउचाका बुवा बालकृष्ण काउचा नवलपरासीमा सेनासँगको भिडन्तमा मारिएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell