PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

आफ्नै क्षेत्रमा कमजोर बन्दै घनश्याम भुसाल : तिलोत्तमाका मेयर र उपमेयरले पनि छाडे साथ, रुपन्देहीमा ओली पक्ष बलियो



पूजा पन्थी

आफ्नै क्षेत्रमा कमजोर बन्दै घनश्याम भुसाल : तिलोत्तमाका मेयर र उपमेयरले पनि छाडे साथ, रुपन्देहीमा ओली पक्ष बलियो

बुटवल : हालसम्म प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड- माधव नेपाल समूहमा रहेका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै त्यसको विरोधमा विज्ञप्ति निकाल्ने मेयर बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरी नेकपाको ओली समूहमा प्रवेश गरेका हुन्। नेता घनश्याम भुसालको क्षेत्रमा रहेको नगरपालिकाका मेयर र उपमेयर दुवै भुसाल निकटका नेता हुन्। यसअघि दुवै नेकपाको प्रचण्ड-माधव नेपाल समूहका कार्यक्रममा सहभागि हुँदै आएका थिए। दुवैलाई ओलीले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। तर, उनीहरुले सदस्य पद अस्वीकार गरेको घोषणा गरेका थिए।

घिमिरे र चौधरीसगै तिलोत्तमाका अधिकांश कार्यपालिका सदस्यले आइतबार बिहान बैठक बसी उक्त समूह छोड्ने निर्णय गरेको एक सदस्यले बताए। नेकपा महासचिव विष्णु पौडेलले आइतबार बिहान फेसबुकमा फोटो राख्दै घिमिरे र चौधरी आफूहरुको साथमा रहेको पुष्टि गरेका छन्।

घिमिरेका प्रेस सल्लाहकार विपी गौतमले पनि नगरप्रमुख र उपप्रमुखसगै अधिकांश कार्यपालिका सदस्यहरू ओली समूहमै रहेको बताए।

बुटवलको भेलालाई सम्बोधन गर्न बुटवल आएका महासचिव पौडेललाई बिदाइ गर्न प्रमुख घिमिरे तथा उपप्रमुख चौधरीसहित सैनामैनाका प्रमुख चित्र कार्की भैरहवा विमानस्थल पुगेका थिए। घिमिरेको समूह परिवर्तनसँगै रुपन्देहीमा ओली समूह थप बलियो बनेको छ।

रूपन्देहीका १६ वटा स्थानीय तहमध्ये नेकपाले ८ तहमा प्रमुख तथा उपप्रमुख जितेको थियो। अर्को, एउटा तहमा उपाध्यक्ष जितेको थियो। ७ स्थानीय तहका प्रमुख उपप्रमुख ओली समूहको समर्थनमा उभिएका छन्।

अब एक स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र एउटा तहका उपाध्यक्ष मात्र प्रचण्ड–माधव नेपाल समूहमा रहेका छन्।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमादेवी आचार्य ओली समूहमा लागेका छन्। सुवेदी दुई पार्टी एकीकरणपछि बनेको जिल्ला समितिका अध्यक्षसमेत हुन्। त्यस्तै सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्की र उपाध्यक्ष विना रानाले पनि ओलीलाई साथ दिएका छन्।

कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्री र उपाध्यक्ष गोमा तरामु, शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली, ओमसतिया गाउँपालिकाका हीरा केवट र उपाध्यक्ष सुदरमतीकुमारी हरिजन, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु, देवदहकी उपाध्यक्ष विद्या गुरुङ ओली पक्षमा लागेका छन्।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी, उपाध्यक्ष उमा काफ्ले, सियारी गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङ प्रचण्ड–नेपाल समूहमा रहेका छन् । प्रत्यक्ष तर्फ ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा नेकपाले तीन क्षेत्रमा जित हात पारेको थियो। रुपन्देही १ मा छविलाल विश्वकर्मा, ३ मा घनश्याम भुसाल र ४ मा विष्णु पौडेलले जित हात पारेका थिए। जसमध्ये विश्वकर्मा र पौडेल ओली समूहमा छन् भने भुसाल मात्र माधव समूहमा छन्।

शनिवार मात्र नेकपाको ओली समूहले बुटवलमा सभा गर्दै शक्ति प्रदर्शन गरेको थियो। सभामा सहभागि हुन बुटवल आएका अर्थमन्त्री तथा नेकपाका महासचिव पौडेल शनिबार नै काठमाडौ फर्किने कार्यतालिका रहेको भए पनि तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफलका लागि बुटवलमै बसेका थिए। उनी आइतबारमात्रै काठमाडौं फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell