PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

सार्वजनिक अभियुक्तको लिस्टबाट एकाएक गायब टेकबहादुर, १६ वर्षअघिको रसियन नागरिकसँगको त्यो अपराध कनेक्सन



सविन ढकाल

सार्वजनिक अभियुक्तको लिस्टबाट एकाएक गायब टेकबहादुर, १६ वर्षअघिको रसियन नागरिकसँगको त्यो अपराध कनेक्सन

काठमाडौं : प्रहरीले लहरै अभियुक्तहरूको नाम लेखिएको प्लेट राखेको थियो। सँगै बरामद भएको लागू औषध र रकमसमेत। त्यही अभियुक्तहरूको नाममा एउटा नाम थियो- टेकबहादुर राउत। तर एक छिनमै  हट्यो त्यो नेमप्लेट। धेरैले हटाएको पत्तोसमेत पाएनन्।

आइतवार लागूऔषध नियन्त्रण ब्युरोले लागू औषध कारोबारमा संलग्नलाई सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिएको थियो। पत्रकार सम्मेलन सकियो। ९ जना अभियुक्तलाई सार्वजनिक पनि गरियो। तर टेकबहादुरको विषयमा प्रहरीले शब्दसमेत उच्चारण गरेन। एकाएक अभियुक्त टेकबहादुर प्रहरीको टेबलबाट नै गायब भए!

आखिर को थिए टेकबहादुर? अनि किन अभियुक्तको सुचीमा राखेर प्रहरीले सुटुक्क हटायो? पत्रकार सम्मेलन सकिएपछि केही समय कुरेर ब्युरोका प्रमुख एसएसपी दिलीप चौधरीसँग भेटियो। अनि सोधिखोजी गर्दा पत्ता लाग्यो - टेकबहादुर त नामी लागूऔषध तस्करी रहेछन्। देशभित्र मात्र होइन अन्तर्राष्ट्रिय रूपमा नै उनको लागूऔषध कारोबारीसँग कनेक्सन भेटियो। आखिर यस्ता अभियुक्तलाई किन सार्वजनिक गरिएन?

'केही अनुसन्धान बाँकी भएर हो। कसैले याद गरेन भनेको तपाइले थाहा पाउनु भएछ। यसको छुटै कथा छ,' एसएसपी चौधरीले त्यसपछि सुनाए।

रसियन कारोबारीसँग टेकबहादुरको कनेक्सन

२०६१ जेठ ९ गते प्रहरीले ठमेलबाट मिखायल सुक्रपात नाम गरेको रसियन नागरिकलाई पक्राउ गर्‍यो। कारण उही नै लागू औषध कारोबार। उनी नेपालबाट रसिया १३ केजी चरेस लैजान लाग्दा पक्राउ परेका थिए। नेपालमा बसेर उनी रसियामा लागूऔषधको कारोबार गर्थे।

नेपाल आएको समयमा नै मिखायल र टेकबहादुरको भेट भएको थियो। प्रहरीले उनलाई लागूऔषध कारोबारमा अदालतबाट म्याद लिएर अनुसन्धान गर्‍यो। उनको अपराध पुष्टिसमेत भयो। जिल्ला अदालत काठमाडौँले ४ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनायो।

'हामीले मिखायलको बारेमा जानकारी दिएका थियौँ। उ नेपाल र रसिया गरेर कारोबारमा सजायसमेत भुक्तान गरेको देखियो,' एसएसपी चौधरीले भने।

मिखायल जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदनमा पुगे। त्यसपछि पुनरावेदनले मिखायलको मुद्दा हेर्‍यो। जिल्ला अदालतको भन्दा केही फरक फैसला गर्‍यो। उनको सजाय समय घट्यो। अब मिखायलले २ वर्ष ६ महिनामात्र जेल बस्नुपर्ने भयो। ५० हजार रुपैयाँ बुझाए। त्यसपछि कारागार समय भुक्तान गरेर उनी रसिया पुगे।

१६ वर्षपछि फेरि मिखायलको अपराधको कनेक्सन नेपालमा भएको खुल्यो। मिखायललाई नेपालबाट लागूऔषध कारोबारमा साथ दिने व्यक्ति उनै टेकबहादुर निक्लिए। मिखायललाई रसिया प्रहरीले सन् २००८ जुन २५ मा ५ केजी चरेससहित समात्यो।

केही दिनअघि रसियाबाट नै ब्युरो प्रहरीलाई मिखायलको कनेक्सन टेकबहादुरसँग देखिएपछि खबर आएको हो। 'हामीलाई उतैबाट जानकारी आएपछि नियन्त्रणमा लिएका हौँ। उसलाई निकै मुस्किलले समातेको हो। थप अनुसन्धान भइरहेको छ,' एसएसपी चौधरीले भने।

प्रहरीले आइतबार जिल्ला अदालतबाट लागूऔषध कारोबारमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ। प्रहरीको अनुसन्धानमा टेकबहादुर यसअघि पनि २ किलो ९ सय ग्राम चरेससहित पक्राउ गरेको खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २०६९ फागुन १५ गते समातेको थियो।

जिल्ला अदालत काठमाडौंले ५० हजार रुपैयाँ धरौटी राखेर छोडेको थियो। त्यसपछि पुनरावेदन अदालतले फैसला उल्टाएर ६ महिना कैद सुनायो। तर कैद सुनाएपछि उनी फरार भए। त्यही फरार अभियुक्त आज प्रहरीको सार्वजनिक लिस्टमा थिए। तर प्रहरीले सार्वजनिक भने गरेन।

उनी अहिले लागूऔषध नियन्त्रण ब्युरो नियन्त्रणमा छन्। तर प्रहरीको सार्वजनिक अभियुक्तको लिस्टबाट आइतवार भने गायब भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell