बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले आइतबार भागरथी भट्टका आफन्तसंग भेटघाट गरेका छन्। भागरथी हत्याको बिषयमा सत्यतथ्य बुझ्न बैतडी पुगेका लेखकले चडेपानीमै गएर भागरथीका आफन्तसँग भेटघाट गरेको उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए।
कांग्रेसले भागरथी हत्याका बिषयमा सत्यतथ्य बुझ्न कांग्रेस केन्द्रीय सदस्य लेखकलाई बैतडी खटाएको थियो। शनिबार कांग्रेसका नेताहरुसँग छलफल गरेका नेता लेखकले आज चडेपानीमै पुगेर मृतकका आफन्तसंग भेट गरेका हुन्। भेटमा उनले भागरथीका हत्यारा पत्ता लगाउन आफ्नो पार्टीले सबै पक्षबाट सहयोग गर्ने बताए । राज्य पक्षलाई पनि दोषी छिटो पत्ता लगाई कारवाही गर्न दबाब दिइरहेको उनले जानकारी गराए।
भागरथीका हत्यारा पत्ता लगाउने कार्य सबैको प्राथमिकतामा रहेको बताउँदै नेता लेखकले महिलामाथि हुने जुनसुकै प्रकारका हिंसाका विरुद्ध आफ्नो पार्टी लागिपरेको बताए।
नेता लेखकले भागरथी हत्या प्रकरणको अनुसन्धान गरिरहनु भएका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसँग अनुसन्धानका बारेमा जानकारी समेत लिएका छन्। उनले अनुसन्धानमा ढिलाई नगरी छिटो दोषी पत्ता लगाउन प्रहरीसंग आग्रह समेत गरे। प्रहरीले भने घटनाको दोषीको निकै नजिक पुगिसकेको जानकारी गराएको थियो।
नेता लेखकले भागरथीका आफन्तसंग भेटघाट गरेपछि घटनाको बिषयमा पार्टीको केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउने बताइएको छ। घटनाका बिषयमा पार्टीका तर्फबाट गरिएको अध्ययनको निष्कर्ष सहित प्रतिवेदन बुझाउने तयारी छ।
यसैबीच नेपाली कांग्रेसले मृतक भागरथीका आमा द्रोपती भट्टलाई दुई लाख नगद सहयोग प्रदान गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयले पठाएको सहयोग रकम नेता लेखकले मृतकका आमालाई हस्तान्तरण गरे। मृतकका आमालाई केही सहयोग पुगोस भनेर पार्टीका तर्फबाट सहयोग गरिएको नेता लेखकले बताए।
