PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

पोखरीया अस्पतालको सेवा सुधारको लागि धर्ना, नगरप्रमुखले मागे चैत १ गतेसम्मको समयसीमा



राधेश्याम पटेल

पोखरीया अस्पतालको सेवा सुधारको लागि धर्ना, नगरप्रमुखले मागे चैत १ गतेसम्मको समयसीमा

वीरगंज : जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन समानीको नेतृत्वमा पोखरीया अस्पताल सुधारको लागि धर्ना दिएपछि सहमति भएको छ। पोखरीया नगरपालिका कार्यालयअगाडि आज दिउँसो साढे १२ देखि साढे २ बजेसम्म धर्ना दिएपछि नगरप्रमुख दीपनारायण रौनियारले चैत १ गतेसम्मको समयसीमा माग गरेका थिए र सो विषयमा सहमति भएको थियो।

नगरप्रमुख रौनियारले प्रदेश सरकारले पठाएको रकम सम्बन्धमा प्रक्रियागत काम अगाडि बढेको र चैत १ गतेसम्म सो प्रक्रिया पूरा हुने आश्वासन दिएपछि उक्त मितिसम्मको लागि धर्ना कार्यक्रम स्थगित गरिएको नेता समानीले बताए। प्रदेश सरकारले ४ करोड ४ लाख रुपैयाँ पोखरीया अस्पतालको विकासमा पठाएको तर सोअनुरूप काम नभएपछि आज धर्ना दिइएको उनले बताए।

नेता समानीले पोखरीया अस्पताल सञ्चालन व्यवस्थापनको लागि औषधि तथा आवश्यक उपकरण खरीद नगरेको, प्रसूतिको लागि चिकित्सक भएपनि आवश्यक उपकरण नहुँदा शल्यक्रिया नहुने गरेको, स्वास्थ्य बीमा गराएकाहरूले औषधि नपाएको र अस्पतालको अवस्था दिन प्रतिदिन दयनीय भएकोले आफूहरुले धर्ना दिएको बताए।पोखरीया नगरपालिकालाई प्रदेश सरकारले उपलब्ध गराएको रकम अहिलेसम्म खर्च नगरिएको र सो सम्बन्धमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि अटेर गरिएकोले धर्नामा बस्न बाध्य भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell