PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

विदेश जाने रकम ठगिएपछि यसरी अपराधमा जोडिए चिजकुमार



सविन ढकाल

विदेश जाने रकम ठगिएपछि यसरी अपराधमा जोडिए चिजकुमार

काठमाडौं : करिब तीन वर्षअघि गोरखा अजिरकोटका ३८ वर्षीय चिजकुमार गुरुङ विदेश जाने सपना लिएर काठमाडौं ओर्लिए। कुन देश जाने? कसरी जाने दोधार थियो नै। त्यही क्रममा बसपार्कमा रेणु सारु मगर भन्ने महिलासँग उनको भेट भयो।

रेणुले चिजबहादुरलाई विदेश पठाइदिने मानिससँग भेटाइदिने विश्वास दिइन्। चिजबहादुर ढुक्क भए। केही दिनमा नै रेणुले एक पुरुषसँग चिनजान गराइदिइन्। ती पुरुष थिए- शेख सम्शेर आलम। घर भारत। आलमले चिजबहादुरलाई इरान पठाइदिने वचन दिए।

राम्रै कमाई हुने देखेपछि उनी पनि लोभिए इरान जान।

तर चिजकुमारको लागि इरान यात्रा निकै खर्चिलो बन्दै थियो। १३ लाख रुपैयाँ लाग्ने भयो। जसोतसो गरेर आलमलाई पैसा बुझाए। अनि इरान गएर मेहनत गरेपछि पैसा कमाउने योजना बनाए। दिन बित्दै गयो तर चिजबहादुरको विदेश उड्ने दिन आएन। एकाएक आलमले नै खबर गरे विदेश नहुने भयो। अनि पैसा पनि डुब्यो।

अब के गर्ने? त्यतिकैमा रेणु र आलमले नै उनलाई पैसा कमाउने जुक्ति दिए। उनीहरु पैसा कमाउने उपाय सजिलो पक्कै थिएन। त्यसमाथि गैर कानुनी। चिजबहादुरले डुबेको पैसा उठाउन त्यही बाटो रोजे। जसको कारण उनी अहिले प्रहरी हिरासतमा छन्।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले माघ २५ गते काठमाडौंको टोखा नगरपालिकाबाट चिजकुमारलाई नियन्त्रणमा लियो। उनको कोठाबाट लागूऔषध एम्फेटामाइन १० ग्राम, एम्फेटामाइन २२२ ग्राम र लागूऔषध तौल गर्ने डिजिटल तराजुसमेत बरामद गरेको छ।

प्रहरीले आइतवार लागूऔषध कारोबार गर्ने ९ जनालाई सार्वजनिक गरेको थियो। त्यही क्रममा चिजकुमार पनि समातिएका हुन्। 'विदेश जान लागेको रकम डुबेपछि कारोबारमा लागेको बयान दिएको छ। त्यस विषयमा हामी अनुसन्धान गरिरहेका छौं,' ब्युरोका एसएसपी दिलिपकुमार चौधरीले भने।

चिजकुमार मात्र होइन उनलाई अपराधको बाटोमा डोर्‍याउने रेणु र आलम पनि अहिले कारागार जीवन बिताइरहेका छन्। तर उनीहरुको अपराध भने फरक देखियो। उनीहरु लागूऔषधमा नभएर ठगीमा कारागारमा सजाय कटाइरहेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले आलम र रेणुलाई ठगी मुद्दामा समातेको हो। गत मंसिर २७ गते उनीहरुलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि जिल्ला अदालत काठमाडौंले आलमलाई पूर्पक्षको लागि कारागार पठाउने निर्णय गर्‍यो। रेणुको हकमा भने ३ लाख रुपैयाँ माग्यो। रेणुले धरौटी बुझाउन सकिनन्। त्यसपछि कारागार नै पुगिन्। अहिले उनीहरु केन्द्रीय कारागार सुन्धारामा छन्।

'उनीहरु समातिएपछि चाँही चिजकुमारसँग सम्पर्क छ वा छैन भन्ने अनुसन्धानमा खुलेको देखिदैन। हामी यसको पनि गहन अनुसन्धान गरिरहेका छौं,' एसएसपी चौधरीले भने।

एम्फेटामाइन(आइस)को कारोबारी पछिल्लो समय संक्रिय भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। आइस नेपालमा प्रयोग गर्नभन्दा पनि कारोबारीको ट्रान्जिक प्वाइन्टको रुपमा रहेको देखिन्छ। 'यो महंगो हुन्छ। त्यसैले यसको युजर कम नै छ भन्ने हो,' एसएसपी चौधरीले भने।

नेपालमा भने थाइल्यान्ड, म्यानमार, भारत हुँदै नेपाल आउने गरेको छ। आइसलाई स्मोकमा रुपमा प्रयोग गर्ने गर्दछन्। 'यो हुक्कामा राखेर प्रयोग गरेको पाइएको छ। नेपालमा पनि हुक्कामा राखेर लिने समूह भएको आशंका गरिएको छ। त्यसमा अनुसन्धान गरिरहेका छौ,' एसएसपी चौधरीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell