PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

गर्भ तुहाउन औषधि खाँदा गयो किशोरीको ज्यान! प्रेमी फरार



राधेश्याम पटेल

गर्भ तुहाउन औषधि खाँदा गयो किशोरीको ज्यान! प्रेमी फरार
रिंकी कुमारीको घर।

वीरगंज : पर्सा पोखरीया नगरपालिका वडा नं ९ बैरियाकी १६ वर्षीया रिंकी कुमारीको शंकास्पद मृत्यु भएको छ। गत शुक्रवार बिहान बैरियाका बली मुखिया बिनकी छोरी रिंकी कुमारीको शंकास्पद मृत्यु भएको हो।

अन्दाजी ५ महिनाको गर्भवती अवस्थामा उनलाई गर्भ तुहाउने औषधी खुवाएर हत्या गरिएको आशंका प्रहरीले गरेको छ। गाउँकै एक युवकसँग उनको प्रेम सम्बन्ध रहेको खुलेको छ। रिंकीको गर्भ तुहाउन स्थानीय औषधी खुवाएको अवस्थामा छटपटिएर उनको ज्यान गएको प्रहरीको अनुसन्धानले देखाएको हो।

पर्सा प्रहरीका एक अधिकृतका अनुसार उक्त घटना शंकास्पद देखिएको र पोस्टमार्टम रिपोर्टमा उनी गर्भवती रहेको पुष्टि भएपछि घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताए। केटीको परिवारजन वा प्रेमी केटाकै उक्साहटमा रिंकीले औषधी सेवन गरेको बताइएको छ। गत शुक्रवार बिहान अचानक छटपटाउन थालेर बेहोस भएपछि उनलाई उपचारको लागि बिहान ५ बजे पोखरीया अस्पतालमा लगिएको थियो। तर उनको ज्यान बाटैमा गएको उनका बुवाले बताए। बिनले भने आफूहरुले छोरीलाई औषधी दिएर नमारेको दाबी गरे। उनले भने, ‘छोरी गर्भवती छिन् भनेर हामीलाई बताइनन्, हामीलाई पनि केही थाहा भएन।'


रिंकीको किरिया बसेका बुवा बलि मुखिया बिन र हजुर आमा जटही देवी।


रिंकीकी आमा संगीताले बिहानैबाट छोरीको अवस्था बिग्रेको सुनाइन्। ‘म बिहान साढे ४ बजे घरबाट सरेहमा गएको थिए,’ उनले भनिन्, ‘फर्केर आउँदा उनी छटपटाउँदै थिइन्, बेहोस भएपछि हस्याङफस्याङ गर्दै अस्पताल लैजाने भने, पछि मृत्यु भयो।’ परिवारजनले पोखरीया प्रहरीमा दिएको निवेदनमा गाउँका एक जना युवकमाथि शंका रहेको बताएका छन्। ती युवक फरार भएका छन्। इलाका प्रहरी कार्यालय पोखरीयका प्रहरी निरीक्षक दीपक थापाका अनुसार चिकित्सकले एक महिनापछि भिसेरा रिपोर्ट आएपछि उनको मृत्युको कारण 'ओभर डोज औषधी सेवन हो कि अर्कै?' त्यसबारे पुष्टि हुन उनले बताए। प्रहरीले रिंकीको परिवारजन, गाउँका ती दुई युवकलाई पनि शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ। केटाले फकाईफुलाई किशोरीसँग अनैतिक सम्बन्ध बनाएर गर्भवती बनाएको र औषधी खुवाएर बच्चा तुहाउन दुरुत्साहन गरेको वा परिवारजनले त्यस्तो चलाखी गरेको हुन सक्ने प्रहरीको आशंका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell