PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

गोतामे पत्रकारिता पुरस्कार चित्राङ्ग थापालाई, चटपटे पत्रकारिता नगर्न काँग्रेस जिल्ला सभापतिको सुझाव



राधेश्याम पटेल

गोतामे पत्रकारिता पुरस्कार चित्राङ्ग थापालाई, चटपटे पत्रकारिता नगर्न काँग्रेस जिल्ला सभापतिको सुझाव

वीरगंज : स्व. गोपालचन्द्र गौतमको स्मृतिमा स्थापित,पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको गोतामे पत्रकारिता स्वर्ण पदक पुरस्कार यस वर्ष सूदुरपश्चिमका पत्रकार चित्राङ्ग थापालाई प्रदान गरिएको छ। वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आइतवार कार्यक्रम आयोजना गर्दै वीरगंजका वरिष्ठ उद्योगपति मुरलीधर रुगंटाले पुरस्कार तथा कदर पत्र प्रदान गरे।

पुरस्कार ग्रहणपछि पत्रकार थापाले मुहानैबाट गंगा फोहोर हुने प्रसंग सुनाउँदै माथिल्लो तहबाटै देश बिग्रेको आरोप लगाए। ‘हिन्दीमा एक प्रश्न सोध्छन्, गंगा कैसी मैली होगइ, म भन्छु, गंगा मुनितिरबाट फोहोर भएको होइन, मुहानबाटै फोहोर भएको हो,’ उनले भने, ‘राज्यमा लोकतन्त्र, सुशासन, नागरिकको अधिकार, हलिया, कमैयालगायतको विषय त्यस्तै ओझेलमा पर्दै गएको छ।’ चारै तिर सर्वसत्तावादले छोएको छ, त्यसैमा सबै नेपालीलाई रुवाउने घटना दिनप्रतिदिन बढदै गएको पनि उनले बताए। ‘आज निर्मलाको बलात्कारको घटना सेलाउन नपाउँदै दिनहु भागरथी जस्तै थुप्रै नेपाली चेलीले बालात्कारको सिकार भइरहेका छन्, भोलि साबित्रीको इजजत लुटेर हत्या भएको सुन्न नपरोस्।’ यस्तो अवस्थामा सम्पूर्ण नेपाली पत्रकारले अझै सशक्त भएर इमान्दारीको साथ काम गर्नू पर्ने उनको सुझाव थियो।

प्रतिष्ठानको अध्यक्ष तथा प्रतीक दैनिक वीरगंजका प्रधान सम्पादक जगदीश शर्माको अध्यक्षतामा भएको भएको कार्यक्रममा नेपाली काँग्रेस पर्सा सभापति अजयकुमार द्विवेदीले स्व. पत्रकार गोतामेले देखाएको पथमा पत्रकारहरूलाई हिँड्न सुझाव दिए। उनले चटपटे किसिमबाट समाचार सम्प्रेषण गर्ने जमातले शान्त, शालीन र समाजप्रति उत्तरदायी भएर पत्रकारिता गर्नको लागि स्व. गोतामेको सिको गर्नुपर्ने सुझाव दिए। यो पुरस्कार मोफसलकै एक उत्कष्ठ पुरस्कार र ठुलो राशीको पुरस्कार भएको चर्चा गर्दै यो पुरस्कारले वीरगंजलाई पनि देशविदेशमा चिनाएको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश २ का अध्यक्ष गणेश लाठले गोतामे पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै आएकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरे। उनले यो अभियानमा आफनो पनि सहयोग गर्ने प्रतिबद्धता जनाए। नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले स्व. गोतामेले मूल्यनिष्ठ पत्रकारिता गरेर समाजमा पत्रकारितालाई मर्यादित बनाएको बताए। नेपाल प्रेस युनियनका महासचिव अजयबाबू शिवाकोटीले यसपाली यो पुरस्कार सूदुरपश्चिमका नामधारी पत्रकारलाई प्रदान गरिएकोमा खुशी व्यक्त गरे।

नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य महेश दासले उपत्यकाबाहिर प्रदान गरिने यो पुरस्कार आफैमा सर्वोत्कृष्ट रहेको बताए। २०६८ सालमा १० हजार रुपैयाँले शुभारम्भ हुँदै अहिले एक तोला सुनको पदकसहित वितरण गर्दै पुरस्कार राशी बढाउँदै लागिएको छ। यसअघि यो पुरस्कारबाट मकवानपुरका पत्रकार प्रताप विष्ट, विराटनगरका पत्रकार मोहन भण्डारी, बुटवलका पत्रकार डिआर घिमिरे, राजविराजका पत्रकार शिवहरि भट्टराई, झापाका पत्रकार स्व मदन ढकाल, पाल्पाका पत्रकार मेघराज शर्मा, सप्तरी (कञ्चनरूप)का पत्रकार भोला पासवान, भैरहवाका पत्रकार अर्जुन ज्ञवाली, झापाका पत्रकार केशव आचार्यले प्राप्त गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell