PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मुख्यमन्त्री राईले प्रतिनिधिसभा विघटनलाई भने 'लोकतान्त्रिक कदम' : अविश्वासको प्रस्ताव सामना गर्ने



अनन्तराज न्यौपाने

मुख्यमन्त्री राईले प्रतिनिधिसभा विघटनलाई भने 'लोकतान्त्रिक कदम' : अविश्वासको प्रस्ताव सामना गर्ने
तस्विर : रासस

विराटनगर  :  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरूद्ध आएको अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन्। प्रदेश सरकार गठन भएको तीन वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले अविश्वासको सामना गर्ने बताएका हुन्।

‘प्रदेशमा समेत अस्थिरता र अराजकता सिर्जना गर्ने, जनतामा पैदा भएको विश्वास, उत्साह र आशामा तातोपानी खन्याउँदै विकास र समृद्धिको चाहनालाई तुषारापात गर्दै, संविधान र सङ्घीयतालाई नै कमजोर बनाउने गलत उद्देश्यका साथ हामीमाथि अविश्वासको प्रस्ताव आएको छ’, उनले भने, ‘यसलाई हामीले सामना गर्नुपर्ने भएको छ’ उनले भने।

प्रदेश सभाको कार्य व्यवस्था समितिमा प्रदेश सभा सञ्चालनमा दलहरूको कुरा नमिलेपछि बैठक यही फागुन ९ सम्मका लागि स्थगित गरिएको थियो।

राईले नेपाली जनताको चाहना र कल्पनाबाहिर गएर प्रधानमन्त्री केपी शर्मा ओली र आफूविरूद्ध समेत अविश्वासको प्रस्ताव ल्याइएको टिप्पणी गरे।

उनले अहिले सबै नेपालीको ध्यान अविश्वासकै प्रस्तावमा केन्द्रित भएको बताए।

‘हामीले सिधा भन्दा वा बुझ्दा देशमा पहिलो पटक स्थिर र बलियो सरकार बनेको थियो’, उनले सम्बोधनका क्रममा भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षामा मुलुक एक ढिक्का भएको थियो यो चाहनाको नेतृत्व केन्द्रीय सरकार र त्यस राष्ट्रिय आकांक्षामा जोडिएर प्रदेश र स्थानीय सरकारले गरिरहेका थिए।’

उनले थपे, ‘तर एक्कासि सत्तारूढ दल भित्रैबाट मलुकलाई अस्थिरता र अराजकतातर्फ लग्ने काम भयो। दुइतिहाईको बहुमतको सरकारलाई ढालेर प्रधानमन्त्री, राष्ट्राध्यक्ष अनि क्रमशः प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई अपदस्थ गरेर पुनः विगतको झैँ ६ महिने, ९ महिने, १५ महिने, १८ महिने सरकार बनाउने, ढाल्ने फोहोरी खेलमा लैजाने प्रयास भयो। यसपछि प्रधानमन्त्रीको लोकतान्त्रिक कदमबाट मुलुक ताजा जनादेश लिने बाटोमा गएको छ।’

उपलब्धीहरुको लिस्ट

मुख्यमन्त्री राईले प्रदेश सरकारले तीन वर्षका अवधिमा ४९ वटा ऐन, २४ वटा नियमावली, २८ वटा कार्यविधि, १० वटा निर्देशिका, १ मापदण्ड र १ गठन आदेश गरी जम्मा गरी जम्मा १ सय १३ वटा कानुन निर्माण गरेको तथ्याङ्क प्रस्तुत गरे।

उनले कानुनी वातावरण बनाउने र कानुनी संरचना तयार गर्ने सन्दर्भमा यो एउटा उत्कृष्ट उपलब्धि भएको दाबी गरे।

राईले प्रदेश १ का भोजपुर, इलाम, सङ्खुवासभा र सोलुखुम्बु गरी ४ जिल्लामा कोभिड–१९ को सङ्क्रमण शून्य भएको जानकारी दिए।

उनले प्रदेश १ मा हालसम्म कोरोना भाइरसको सङ्क्रमणले ४ सय ६५ जनाले असामयिक मृत्युवरण गर्नु परेको सूचित गरे।

राईले माघ २९ गते सम्मको आँकडा प्रस्तुत गर्दै प्रदेश १ मा जम्मा सङ्क्रमित ३० हजार १ सय ६९ रहेकोमा ९८ दशमवल ४५ प्रतिशत अर्थात् २९ हजार ६ सय ८० जना निको भएर घर फर्केको बताए।

मुख्यमन्त्रीले प्रदेश योजना आयोगद्वारा गरिएको समीक्षा उद्धृत गर्दै सरकारको पहिलो अढाई वर्षको अवधि अर्थात् मध्यावधिमा प्रदेश सरकारको भौतिक प्रगति ७२ दशमलव ५, वित्तीय प्रगति ६५ दशमलव ३५ र समग्र प्रगति ६८.७५ रहेको स्पष्ट पारे।

उनले कोभिड१९ ले खडा गरेको विषम परिस्थितिका परिप्रेक्ष्यमा पनि प्रदेश सरकारको प्रगति सन्तोषजनक भएको जिकिर गरे।

मुख्यमन्त्री राईले कोभिड महामारी र बन्दाबन्दीबाट पीडित १ हजार ६ सय ८० पीडित किसानलाई ७ करोड ९१ लाख ७४ हजार बराबरको राहत सहयोग उपलव्ध गराइएको जानकारी गराए।

उनले कोभिडका कारण कृषि क्षेत्रमा भएको हानि–नोक्सानीका बारेमा प्रदेश सरकारले सर्वेक्षण र मूल्याङ्कन गरेको तथ्य प्रस्तुत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell