विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले सर्वोच्च अदालतले संविधानको आत्मा तथा मूल मर्म र भावनाको रक्षा गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेस मोरङको आयोजनामा सोमवार विराटनगरमा भएको विरोध सभामा केन्द्रीय सदस्य आचार्यले सर्वोच्च अदालतप्रति विश्वास प्रकट गरेका हुन्।
‘हाम्रो संविधानले ५ वर्षसम्म कसरी स्थिर सरकार दिने भनेर कल्पना गरेको छ’, आचार्यले भने, ‘त्यसैले बहुमतको प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटन गर्न नपाउने संवैधानिक प्रावधान राखिएको हो। संविधानको आत्मा भनेको यही हो।’
उनले संविधानको आत्मा जोगाउन अदालतले प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरेर गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेको टिप्पणी गर्दै यसका विरोधमा नेपाली कांग्रेसले एक्लै सडक सङ्घर्ष सञ्चालन गर्ने जानकारी दिए।
उनले प्रधानमन्त्री ओलीले संविधानको आत्मामाथि आक्रमण गरको भन्दै निन्दा प्रकट गरे।
‘एक थरी वामपन्थी साथीहरू मांशाहारी आन्दोलन भन्दै हुनुहुन्छ’, उनले भने, ‘तर, आजको नेपाली कांग्रेस हिंसाको राजनीतिमा विश्वास गर्दैन। हामी मुलुकलाई द्वन्द्व र मुठभेडमा लैजान चाहँदैनौँ। हामी एक्लै सडकमा आन्दोलन सञ्चालन गर्छौँ।’
उनले नेपाली कांग्रेस भित्रका तरुण, युवा र विद्यार्थी कार्यकर्ताले उग्र खालको आन्दोलन गर्न आग्रह गरिरहेको स्पष्ट पारे।
उनको भनाइ थियो, ‘तर, हामी जिम्मेवार पार्टी हौँ। हाम्रो आन्दोलन जिम्मेवार ढंगको हुनुपर्छ र हुन्छ पनि। वीपी कोइरालाले हामीलाई विदेश र अन्य कुनै शक्तिको मुखापेक्षी नभई सङ्घर्ष गर्ने दीक्षा दिनुभएको छ।’