PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भागरथी प्रकरणमा 'आइ विटनेस'को खोजी गर्दै प्रहरी : त्यो के क्लु थियो जसले अनुसन्धानमा ‘कन्फिडेन्स’ बढायो?



सविन ढकाल

भागरथी प्रकरणमा 'आइ विटनेस'को खोजी गर्दै प्रहरी : त्यो के क्लु थियो जसले अनुसन्धानमा ‘कन्फिडेन्स’ बढायो?

काठमाडौं : घटनास्थल नजिकै प्रहरीले एउटा मोबाइल फेला पार्‍यो, कभर निस्किएको थियो। केही पर त्यसको ब्याट्री। मोबाइल अरू कसैको थिएन, थियो त बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको।

माघ २२ गते नजिकैको लवलेक सामुदायिक वनमा उनको शव फेला परेको थियो। पोस्टमार्टम रिपोर्टलाई आधार मान्दै प्रहरीले भागरथीको बलात्कार अनि हत्या भएको भन्दै अनुसन्धान त्यसतर्फ गर्दैछ। तर, हत्यापछि बलात्कार कि बलात्कारपछि हत्या भन्ने चाहिँ अझै खुलिसकेको छैन।

घटनास्थलबाट बरामद गरेको मोबाइलले महत्वपूर्ण ‘क्लु’ तिर प्रहरीको अनुसन्धानलाई डोहोर्‍याएको छ। यसले केही हदसम्म भए पनि अनुसन्धानको दायरा साँघुर्‍याएको छ। मोबाइलमा आएका कल, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालबाट भएका कुराकानीलाई प्रहरीको अनुसन्धान टोलीले 'ट्र्याक' गरिरहेको छ।

कक्षा १२ मा अध्यायरत उनी करिब २ बजेतिर विद्यालयबाट घर जान भनेर निस्किएको खुलिसकेको छ। विद्यालयबाट नजिकै रहेको बजारमा केही साथीहरूसँगै उनी पनि आइन्। त्यसपछि उनी एक्लै घरतिर लागेको देखिन्छ। उनको घर पुग्न वन छिचोल्न पर्छ। बजारबाट घरतिर लागे पनि उनी त्यस दिन घर भने पुगिनन्। परिवारले प्रहरीको मद्दत लिएर उनको खोजी भने थालिहाल्यो। भोलिपल्ट करिब ५ बजेतिर बाटोमै पर्ने वनमा नै उनको शव भेटियो।


भागरथी पढ्ने विद्यालय।


प्रहरीको अनुसन्धानले घटना उनी विद्यालयबाट फर्किएको केही समयमा नै भएको देखाएको छ। अर्थात्, जे भयो, दिउँसो २ बजेदेखि ३ बजेभित्र नै भयो। उनको मोबाइलले त्यही पुष्टि गरेको छ। २ बजेर ४७ मिनेटमा भागरथीको मोबाइल स्विच अफ भएको देखिएको छ। उनी हत्यापछि मोबाइल अफ भयो वा सुरुमा नै अफ गरेर घटना भयो? पुष्टि गर्ने आधार भेटिसकेको छैन प्रहरीले।

जुन हालतमा मोबाइल भेटियो, त्यसले विभिन्नखाले अड्कलबाजीलाई साथ दिन्छ। अपराधीले घटनाको जानकारी हुने देखिएपछि मोबाइल फ्याँकेका हुन् या भागरथीले आफूलाई जोगाउन खोज्दा मोबाइल तीन टुक्रा भयो भन्ने पनि स्पष्ट खुलेको छ। तर, मोबाइलमा आएका कल र केही कुराकानीले भने अपराधी चिनजानकै हुनसक्ने सङ्केत गरिरहेको छ। उनको मोबाइलमा केही संदिग्द कलहरू पनि आएको देखिन्छ। त्यसैका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटना भएको समयमा त्यस क्षेत्रमा रहेको बीटीएस लोकेट गरेर अनुसन्धान गरिरहेको छ। पहाड र डाँडामा टावर भएकाले प्रहरीलाई घटनास्थल वरपरको बीटीएस लोकेट गर्न समस्या परेको छ। त्यसैले 'सेक्टर सी' अन्तर्गत रहेर अनुसन्धान गरिरहेको एक प्रहरी अधिकृतले सुनाए।
'सेक्टर बी अन्तर्गत भएको भए धेरै सजिलो हुन्थ्यो। सेक्टर सीमा पर्दा धेरै मानिसबाट अनुसन्धान गर्नु पर्ने हुन्छ। जसले गर्दा केही समस्या आइरहेको छ,' ती अधिकृतले भने।

त्यसो त भागरथीले धेरैजसो सम्पर्क डाइरेक्ट मोबाइलबाट भन्दा पनि डाटा चलाएको देखिन्छ। भाइवर तथा म्यासेन्जरबाट कुराकानी गरेको हुँदा मोबाइल कल डिटेलमा जसरी सहज अनुसन्धान हुन सकेको छैन। प्रहरीले भाइवर र म्यासेन्जरबाट डाटा पाउन सक्दैन। किनकि नेपालमा यस्ता संस्थाको आधिकारी कार्यालय छैन। तर पनि प्रहरीले प्राविधिक पक्षबाट सम्भव भएसम्म अनुसन्धान गरिरहेको छ।

'हाम्रो प्राविधिक टिम नै छ। जसले प्राविधिक रूपमा अपराधीले छोडेका केही लुप्स प्वाइन्टहरू केलाइरहेको छ। चाँडै केही पत्ता लाग्नेछ,' सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले भने।

प्रहरीले 'सेक्टर सी' अन्तर्गत रहेका केही शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनीहरूको भागरथीसँग चिनजान समेत भएको खुलेको छ। जसमा शिक्षकदेखि कर्मचारीसम्म रहेका छन्। घटनाको अनुसन्धान साँघुरिँदै गएको बताउँदै आएको प्रहरीले उनीहरूलाई नै अनुसन्धानमा राखेर थप भेरिफाइ गरिरहेको छ।

अहिले प्रहरीको शङ्काको घेरामा ५ जना रहेका छन्। उनीहरूको उपस्थिति घटनास्थल वरपर भएको देखिएको छ। तर, उनीहरु त्यस समयमा त्यही बाटोतिर भएको देख्‍ने अहिलेसम्म कोही फेला परेका छैनन्। 

'अन्य केही प्रमाणले सपोर्ट गरेको छ। तर, त्यस समयमा ती व्यक्तिलाई देख्‍ने 'आइ विटनेस' खोज्दैछौँ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

त्यसो त प्रहरी भागरथीको गाउँ नजिकैका एक युवकलाई पनि शङ्काको घेरामा राखेको थियो। अनुसन्धान गर्दै जाँदा उनी घटना भएको एक दिन अघि नै भारत गएको देखिएपछि उनीमाथिको शंका टर्‍यो। अहिले शङ्काको घेरामा परेका व्यक्तिहरूको पनि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको हो।

प्रहरीको नियन्त्रणमा रहेकामध्ये केहीले झुटो समेत बोलेको पुष्टि भएको छ। भागरथीको घटनालाई म्याच गराउँदै गएको प्रहरीको अनुसन्धानमा उनीहरूले झुटो बोलेको देखिएको छ। त्यसैले पनि प्रहरीले उनीहरूलाई विशेष अनुसन्धानमा तानेको हो।

शङ्काको दरिलो आधार

प्रहरीले भागरथीको हत्यारा चाँडै पत्ता लाग्ने दाबी गर्दै आएको छ। त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बुटवलमा पुगेर भागरथी र निर्मलाका अपराधीलाई पानीमुनि गएपनि नछोड्ने दावी गरे। प्रधानमन्त्रीदेखि प्रहरीसम्म भागरथी घटनालाई लिएर अपराधी पक्राउ गर्नेमा निर्धक्क देखिएको छ। आखिर प्रहरीले त्यस्तो के क्लु भेटायो त, यस्तो दावी गर्न?

प्रहरीको शङ्काको घेरा रहेका एक पुरुषको शरीरमा चोटपटक देखिएको छ। कतै त्यो चोटका निसानी भागरथीले प्रतिकार गर्दाको त होइन? प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीको क्लोज शङ्काको घेरामा परेका मानिसको शरीरमा चोटपटक कहिलेको हो भन्ने नखुलेसम्म यसै भन्न सक्ने अवस्था चाहिँ छैन

'चोट पटक त्यही दिनको हो वा केही समय अघि/पछिको हो भनेर हामी चिकित्सालाई समेत देखाएर अनुसन्धान गरिरहेका छौँ,' एक प्रहरी अधिकृतले भने। ती व्यक्ति पनि घटना भएको समयकै वरपर त्यही ठाउँ नजिकै भएको प्रहरी अनुसन्धानले देखाउँछ। सोही समयमा उनलाई त्यतातिर आवतजावत गरेको देख्‍ने कोही फेला परेका छैन। शंकको घेरमा रहेका ती व्यक्ति पनि भागरथीसँग चिनजान भएका नै हुन्।

त्यस्तै, प्रहरीको अनुसन्धानमा रहेका केही व्यक्तिको ‘आपराधिक ट्रायल’ पनि देखिएको छ। जघन्य प्रकृतिका अपराधभन्दा पनि महिलाप्रति बढी आशक्त देखिने व्यक्तिका रुपमा ती व्यक्तिलाई नोटिस गरिएको छ। ' गाउँ घरमा फलानीलाई भेटेँ… गर्थेँ… भन्दै हिँडेको समेत भेटियो। अन्य कुराले पनि सपोर्ट गरेको छ। तर, पनि थप प्रमाण जुटाउन पर्नेछ,' ती प्रहरी अधिकृतले सुनाए।


भागरथीकी आमा।


प्रहरीले बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टले देखाएपछि भेजिनल स्वाब परीक्षणका लागि काठमाडौं पठाइसकेको छ। प्रहरीको ल्याबमा डीएनए परीक्षण भइरहेको छ। डीएनए परीक्षणबाट बलात्कार सामूहिक हो वा होइन भन्ने खुल्नेछ। यदि बलात्कारीले कन्डम प्रयोग गरेको भए स्वाबमा पुरुषको वीर्य नभेटिने सम्भावना पनि बढी हुन्छ। त्यसो भएमा शङ्कास्पद व्यक्तिसँग डीएनए भिडाएर प्रमाणित गर्न ग्राह्रो देखिन्छ। यदि बलात्कारीले होसियारीपूर्वक घटना घटाएको हो भने कन्डम प्रयोग गर्ने सम्भावना बढी हुन्छ। 

दुई वर्षअघिको निर्मला पन्तको हत्यामा डीएनएकै आधारमा अपराधी पहिचान गर्न खोज्दा केस गिजलिएको थियो। तर पछि डीएनए लिने प्रक्रिया नै गलत भएकाले डिएनएबाट अपराधी पहिचान वा प्रमाणित गर्न नमिल्ने रिपोर्ट आएपछि त्यो विधि नै क्लोज भएको थियो।

भागरथीको घटनामा पनि शंकामा रहेका एक व्यक्तिले अहिले ‘कन्फिडेन्स’का साथ डीएनए परीक्षण गर्न चुनौती दिइरहेका छन्। 'हामीलाई यो शङ्का छ कतै ती व्यक्तिले कन्डम प्रयोग गरे अनि उनलाई यसरी गर्दा डीएनए देखिँदैन भन्ने ज्ञान भएको हुनसक्छ,' ती प्रहरी अधिकृतले सुनाए।

अहिलेसम्मको प्रहरी अनुसन्धानले घटना चिनेजानेको व्यक्तिबाट नै भएको देखाएको छ। निर्मला प्रकरणमा पनि प्रहरीले अन्य प्रमाणले शंकास्पद व्यक्तिसम्म पुर्‍याएको थियो। तर आइ विटनेस नहुँदा प्रहरीको प्रमाण फितलो भएको थियो। यस घटना पनि प्रहरीले अन्य प्रमाणसँग मिलाएर आइ विटनेस खोजी गरिरहेको छ।

अहिलेसम्म कसैले साविति बयान दिएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell