काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा चौदण्डीगढी नगरपालिका चन्द्रपुर नगरपालिकासँग पराजित भएको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा चौदण्डीगढी चन्द्रपुरसँग २-१ गोलअन्तरले पराजित भएको हो।
प्रतियोगितामा चन्द्रपुरलाई तेस्रो जित दिलाउन चन्द्रपुरका रजनी थोकर र दिलकुमारी राना मगरले समान १/१ गोल गरे। उता चौदण्डीका लागि मनिता तामाङले सान्त्वना गोल फर्काइन्।
पहिलो हाफको अतिरिक्त समयमा चन्द्रपुरको रजनीको सामान्य प्रहारमा चौदण्डीकी गोलकिपर देविका श्रेष्ठ चुक्दा पहिलो हाफमा चन्द्रपुरले अग्रता लियो। त्यस्तै ६७ औं मिनेटमा दिलकुमारीले चन्द्रपुरका लागि गोल थपिन्। लगत्तै चौदण्डीकी मनिता तामाङले गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त रहेन र चन्द्रपुरले २-१ ले खेल आफ्नो पक्षमा पार्यो।
जितसँगै चन्द्रपुरले ११ खेलबाट ९ अंक जोडेको छ भने चौदण्डीगढी प्रतियोगितामा जितबिहीन छ।
