PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

प्रदेश २ का ६ जिल्ला कोरोनामुक्त, डेढ महिनादेखि सङ्क्रमणबाट भएको छैन मृत्यु



राधेश्याम पटेल

प्रदेश २ का ६ जिल्ला कोरोनामुक्त, डेढ महिनादेखि सङ्क्रमणबाट भएको छैन मृत्यु

वीरगंज : विगतमा कोरोना महामारीको हटस्पट बनेको प्रदेश २ कोरोना नियन्त्रणमा सुधारोन्मुख देखिएको छ। प्रदेश २ का आठ जिल्लामध्ये ६ वटा जिल्ला ग्रीन जोन बनेका छन् भने पर्सा र धनुषामा गरी जम्मा ५२ जना कोरोना सङ्क्रमितहरू मात्र रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार पछिल्लो डेढ महिनादेखि कोरोनाका कारण मृत्यु नभएको र दैनिक हुने पीसीआर परीक्षणमा पनि न्यून मात्रामा कोरोना सङ्क्रमण भेटिएको उनले जानकारी दिए। मंगलवार साँझ तीन बजेको अपडेट अनुसार पछिल्लो २४ घण्टामा ८५ वटा नमूना परीक्षण गरे तापनि सबै नतिजा नेगेटिभ आएको उनले बताए।

प्रादेशिक जनस्वास्थ्य कार्यालय जनकपुरमा २५ र सोही प्रयोगशालामा एन्टिजिनबाट १४, गौर प्रयोगशालामा ३० र नारायणी अस्पताल प्रयोगशालामा १६ गरी ८५ वटामध्ये सबै नतिजा नेगेटिभ आएको उनले जानकारी गराए। हालसम्म प्रदेश २ को आठ जिल्लामा १४ हजार १९३ पुरूष, २ हजार ९९९ गरी महिला गरी कुल १७ हजार १९२ जना सङ्क्रमित भएकोमा सक्रिय सङ्क्रमितबाहेक १३ हजार ९८५ पुरूष, २ हजार ९४६ महिला गरी कुल १६ हजार ९ सय ३१ जना सङ्क्रमित निको भएका छन्।

प्रदेश २ को ८ जिल्लामा २०९ जनाको मृत्यु भएको छ, जसमध्ये एकजना भारतीय पनि हुन्। पर्सामा १ जना भारतीयसहित ५१ जना, बारामा २४, रौतहटमा १०, सर्लाहीमा १४, महोत्तरीमा १८, धनुषामा २५, सिरहामा २५ र सप्तरीमा ४१ जना गरी कुल २०९ जनाको मृत्यु भएको तथ्यांक छ। पछिल्लो डेढ महिनादेखि कोरोना सङ्क्रमणबाट कुनै किसिमको मानवीय क्षति नभएको उनले बताए।

कुल मृत्यु हुनेमा १६९ पुरूष र ४० जना महिला रहेको उनले जानकारी दिए। हालको ५२ जना सक्रिय सङ्क्रमितमध्ये पर्सामा २३, धनुषामा २९ जना रहेका छन् भने बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरी कोरोनामुक्त (ग्रीन जोन) क्षेत्र बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell