PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विभागीय टोलीसँगको डर र विदेशी खेलाडीको भर : केन्द्रमा संघर्ष गर्दै नगरपालिकाका टिम



मुकुन्द घिमिरे

विभागीय टोलीसँगको डर र विदेशी खेलाडीको भर : केन्द्रमा संघर्ष गर्दै नगरपालिकाका टिम

काठमाडौं : महिला लिग अन्तर्गत दोस्रो लेगका खेलहरु चलिरहेका छन्। प्रतियोगिता सकिनै लाग्दा विभागीय टोलीहरु एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबले शीर्ष दुई स्थान सुरक्षित गरिसकेका छन्। त्यस्तै तेस्रो स्थानमा अर्को विभागीय टोली नेपाल पुलिससहित क्यामरुनबाट खेलाडी झिकाएर प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको वालिङ नगरपालिका र विराटनगर महानगरपालिका भिडिरहेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भइरहेको छ प्रतियोगिता। जसमा ४ वटा नगरपालिका र तीन विभागीय गरी ७ वटा टिमहरु छन्। तर, प्रतियोगिताका खेलाहरु हेर्दा टिमहरुको स्तरीयता भने फरक छ। विभागीय टोलीहरु बलिया देखिन्छन् नगरपालिकाका टोलीहरु कमजोर।

नगरपालिकाका टोलीले खेलमा सन्तुलन कायम राख्न विदेशी खेलाडीहरु भित्र्याएका छन्। त्यसैले क्यामरुनी खेलाडी भित्र्याएको वालिङ नगरपालिकाको टिमलाई विभागीय टोलीले पनि सतर्क भएर हेरेका छन्। त्यसैबाट प्रभावित भएर होला विदेशी खेलाडी भित्र्याउने ट्रेन्डलाई अन्य नगरपालिकाका टोलीहरुले पनि पछ्याएका थिए।

जितविहीन यात्रा लम्बिएपछि प्रतियोगताको पुछारमा रहेको चौदण्डीगढी नगरपालिकाले पनि पहिलो लेग सकिएपछि प्रतियोगितामा विदेशी खेलाडी भित्र्याएको थियो, भलै यसबाट उपलब्धि भने खास देखिएन। अर्कोतर्फ राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेको विभागीय टोलीमा भने विदेशी खेलाडी भित्र्याउन प्रचलन पुरुष या महिला दुवैतर्फको लिगमा देखिएको छैन।

हुन त प्रतियोगिताका अधिकांश खेलका गोलस्कोरहरु अस्वभाविक जस्तो देखिन्छन्। एउटा बलियो टिमले अर्को टिमलाई सामान्य रुपमा ३ गोलदेखि आधादर्जन, एकदर्जन गोल या त्यसभन्दा बढी गोल गर्नु पनि महिला लिगका सामान्य दृश्य बन्दै आएको छ। अझ सशस्त्र प्रहरीको समूहले त चौदण्डीगढीसँगको पहिलो खेलमा २२ गोल र दोस्रो खेलमा १४ गोल गर्‍यो। महिला लिगमा ध्यान नदिइरहेको व्यक्तिले फ्याट्ट यहाँको स्कोरबोर्ड हेर्ने हो भने लाग्छ : यहाँ के भइरहेको छ हँ?

यहाँ प्रश्न उठ्छ - केन्द्रका राष्ट्रिय टोलीका खेलाडीले भरिएको विभागीय टोली र नगरपालिकाका टोलीको प्रतिस्पर्धामा देखिएको यस अन्तरलाई कति सामान्य मान्ने?

केन्द्रमा आफ्नै मैदान, प्रशिक्षक र राष्ट्रिय टोलीमा खेल्ने खेलाडीहरुसँग हतारोमा ल्याइएका खेलाडीहरु। त्यसमाथि चोट।

खासमा नगरपालिकाका टोलीहरुलाई लिगमा टिक्न विदेशी खेलाडीको सहायता चाहिएको छ। लिगको सुरुमै क्यामरुनी खेलाडीहरु भित्र्याएको वालिङ नगरपालिका स्याङजाले पछिल्लो समय राम्रो प्रभाव छोडिरहेको छ भने विभागीय टोलीहरुलाई पनि राम्रो टक्कर दिइरहेको छ। बाँकी नगरपालिकाका टिमहरुले पनि यही ट्रेन्डलाई पछ्याउँदै विदेशी खेलाडी भित्र्याउन सुरु गरे। अनि बल्ल खेलको सन्तुलन केही बढ्यो। केही मात्र, पूर्ण होइन।

राष्ट्रिय लिगमा यसरी आएका थिए नगरपालिकाका टिम

एन्फाले उपमेयर अन्तर नगरपालिका फुटबल प्रतियोगिताका लागि सबै नगरपालिकाहरुलाई आव्हान गर्‍यो। जसमध्ये १८ वटा नगरपालिकाले सहभागिता जनाए। २०७६ को जेठ, असारमा भएको उक्त प्रतियोगितामध्यबाट - उत्कृष्ट ८ लाई ४-४ गरी दुई समूहमा विभाजन गरेर लिग खेलाइयो। त्यसबाट पनि उत्कृष्ट ठहरिएका ४ समूहलाई राष्ट्रिय लिगका लागि ल्याइएको बृत्तान्त सुनाउँछन् फुटबल विश्लेषक सञ्जीव मिश्र।

एकपट्टी हेभी वेट, अर्कतर्फ विजोग

टिमको स्तरमा प्रतियोगितामा सन्तुलन नदेखिएको स्वीकार्छन् मिश्र।

'यसमा चाहिँ धेरै कुराहरुले असर गरेको हुन्छ। तर विगत भन्दा चाहिँ महिला खेलाडीहरु प्रदर्शन राम्रो देख्छु,' उनले भने, 'पास राम्रो खेलिरहेका छन्, बल कन्ट्रोल गरिरहेका छन्।'

यद्यपि, उनी कतिपय प्रशिक्षकका रणनीतिहरुसँग भने सन्तुष्ट देखिँदैनन्। एपीएफसँगको दोस्रो भेटमा १४-० ले चौदण्डीगढी पराजित हुँदा मैदान परिसरमा भेटिएका मिश्रले ट्‍याक्टिक विषयहरुमा टिम चुकेको बताए।

'आजकै खेलमा पनि गोल भएको टिमले हत्त न पत्त किकअफ गर्न आउँदैन। त्यस्तै धेरै ट्याक्टिकल पक्षहरुमा अभाव देख्छु। त्यो कुराहरु कोचले सिकाउनु पर्ने हुन्छ,' उनले भन्दै थिए, 'चेन्जिङमा पनि लुजिङ टिमले त उसको स्ट्राटेजी पनि तेस्तै हुन पर्ने हो। अघिल्लो खेलमा २२ गोल खाएको छ भने अर्को त्यही टिमसँगको खेलमा त ४/५ गोलमा रोकौं भन्ने हिसाबमा स्ट्राटेजी हुन पर्छ नि।'

उनले खेल डिफेन्सिभ हुनुपर्नेमा धेरै गोल खाइसकेका टिम पनि त्यो लयमा नभएको तर्क गरे। यसमा कतिपय प्रशिक्षकहरुले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ननियाल्नुलाई एक कारक ठान्छन् उनी।

उदाहरणका रुपमा प्रस्तुत गरे रसियामा भएको विश्वकपमा स्पेन र रसियाबिचको खेल तुलना गरे।

'त्यतिबेला पार्किङ डिफेन्स गरेर पूरै प्याक गरेर काउन्टर अट्याक हानेको थियो। अहिले बलियो प्रतिस्पर्धिसँग गोलखाँदा खाँदै खेलाडी अघि बढाएर ट्रेडिसनल फुटबल खेलाउन खोजेको पनि देखिन्छ।

यसरी एक गोल गरौं भन्ने प्रयास गर्दा आफ्नोतर्फ दर्जन गोल लागेको अवस्थाहरु पनि लिगमा देखिएका छन्। ''एक गोल गर्नुभन्दा बाह्र गोल जोगाउनु गतिलो होइन र?', उनले प्रश्न गरे।

महिला लिगमा विदेशी खेलाडी

विश्लेषक मिश्र तयारीका लागि समय कम भए पनि लिगमा सकारात्मक पक्षहरुमाथि प्रकाश पार्न पछि पर्दैनन्।

कोभिड-१९ का कारण अन्तर्राष्ट्रिय फुटबलको नै सेड्युल फिफाले टाइट गरेको छ। नेपाली फुटबलमा पनि त्यसको असर पर्ने नै भयो।

'हामीले अलि समय लिएर महिला लिगको तयारी गर्ने अवसर पाएको भए राम्रो गर्न सक्थ्यौं भन्ने लाग्छ,' मिश्रले भने।

नेपालमा महिला फुटबल सुरु भएको झण्डै ३८ वर्षपछि विदेशी खेलाडीको आगमन हुनुलाई भने नेपाली फुटबलका लागि सकारात्मक विषय भएको मिश्रको तर्क छ।

'अफ्रिकन खेलाडी जो शारीरिक रुपमा सशक्त छन्, ती खेलाडीलाई रोक्न र आफ्नो टिमकै खेलाडीहरुले पनि केही कुरा सिक्छन् भन्ने लाग्छ। त्यस्तै हाम्रा खेलाडीहरुका लागि पनि यो नयाँ अनुभव हो। खेल निखार्ने मौका हो,' मिश्रले भने।

यद्यपि, विदेशी खेलाडीहरु ल्याएर घुलमिल नहुँदै मैदानमा लैजाँदा भने त्यसले राम्रो प्रतिफल नआउने बताए। र, मैदानमा देखिएको अवस्था पनि छ उही।

'फुटबल टिम गेम हो। आज आएर भोलिपल्टै खेल्नु भनेको टिममेटको नामै थाहा नहुनु हो। कसलाई पास दिँदैछु भन्ने थाहा नहुनु फुटबलमा धेरै गाह्रो कुरा हो,' मिश्रले भने, 'वालिङको आर्मीसँगको पहिलो खेलमा यस्तै समस्या देखिएको थियो। तर त्यसपछिका खेलहरुमा टीममा घुलमिल बढेपछि टिम सशक्त हुँदै गयो। जो खेलाडी भए पनि आज आएर भोलि खेल्दा चाहिँ धेरै गाह्रो हुन्छ।'

भाषिक समस्या त छँदैछ।

कति तयारी गरेका थिए नगरपालिकाले?

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

प्रतियोगिताको अंक तालिकाको पुछारमा रहेको चौदण्डीगढीका प्रशिक्षक दीपक थापा नगरपालिकाको प्रदर्शन फितलो हुनुमा धेरैवटा कारणहरु देखाउँछन्। खेलाडी छनोटका र अभ्यासका लागि अपर्याप्त समय।

खेलाडीलाई चोट लाग्नु नगरपालिकाका टिमका लागि अर्को समस्या भएको थापाको बुझाइ छ।

'हामीलाई प्रशिक्षण तयारीका लागि एन्फाले एक महिनाको समय दिएको थियो। हाम्रो नगरपालिकाले तयारी स्वरुप खेलाडी भेला गरेर टिमसेट गर्नै समय लाग्यो,' उनले भने, 'कलेक्सन टिममा हाम्रो परीक्षण १२ दिनको रह्यो। पहिलो चरण सकिइसकेको पछि ४ जना विदेशी खेलाडी थप्दा टिम कलेक्सन भइसकेको हो।'

हाल आफ्नो टिमको खेल नभएको दिन एन्फा कम्प्लेक्समै आएर खेलाडीहरुले सामान्य अभ्यास गर्ने गरेको उनले बताए।

'आज खेल भयो, भोलि रेस्ट डे भयो भने यहीँ एन्फाकै मैदानमा अभ्यास गरिरहेका छौं,' उनले सुनाए।

खेलाडी छनोटमा पर्याप्त समय र स्रोत साधानको आवश्यकता महसुस गरेका रहेछन् थापाले।

यसरी छोटो समयमा सीमित खेलाडीबाट राष्ट्रिय लिगका लागि टिम तयार पार्नु सहज नभएको उनको तर्क छ। झन् भर्खर छानेर ल्याइएका खेलाडीहरूलाई प्राविधिक कुरा सिकाउनै समय लाग्ने भयो।

'टेक्निकल्ली कमजोर हुन्छन् नै। साम्बा जस्ता व्यवसायिक खेलाडीसँग प्रतिस्पर्धा गर्न त कठिन हुन्छ,' उनले भने, 'टेक्निकल कुराहरु सिकाऔंला तर केही हप्ताको प्रशिक्षणमा रेगुलर खेलका खेलाडीहरु सरह पोजिसन लिन सक्दैनन्।'

मनोवैज्ञानिक रुपमा पनि नयाँ खेलाडीलाई तयार पार्न गाह्रो हुने उनको अनुभव छ।

सकारात्मक के मान्ने?

नेपालमा कोभिड-१९ पछि फुटबल लिग सुरु हुनु नै पहिलो सकारात्मक पाटो हो।

मिश्रको विश्लेषणमा पहिलो पटक महिला लिगमा विदेशी खेलाडीको आगमन हुनु अर्को सबल पक्ष। त्यस्तै विभागीय टोलीविरुद्ध बराबरीको नतिजा र हराउन सक्ने टिम तयार हुनुलाई पनि उत्साहजनक मान्छन् मिश्र।

'तयारीको कमी भएपनि गोल धेरै खाँदाखाँदै पनि खेलाडीहरुमा फुटबलिङ सेन्स चाहिँ पाएको छु मैले,' लिगलाई नियाली रहेका मिश्रले भने, 'बल कन्ट्रोल गर्न सक्ने, पासहरु गर्नसक्ने, फिल्डमा छरिएर खेल्न सक्ने। यसलाई चाहिँ मैले सकारात्मक संकेतका रुपमा लिएको छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell