PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सावित्रा चोटका कारण लामो समय मैदान बाहिर रहने, पुलिससँगको खेलमा यसरी लडेकी थिइन्



समर्थ रञ्जित

सावित्रा चोटका कारण लामो समय मैदान बाहिर रहने, पुलिससँगको खेलमा यसरी लडेकी थिइन्

काठमाडौं: फागुन ३ गतेको महिला लिग अन्तर्गतको सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिसबीचको खेलमा एपीएफकी सावित्रा भण्डारी मैदानमा लडेकी थिइन्। खेलको ६९ मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएर उनी लडेकी थिइन्।

उनको 'एन्टेरियर क्रुसिएट लिगामेन्ट' च्यातिएको एपीएफकी प्रशिक्षक भगवती थापाले जानकारी दिइन्।

'इन्ज्युरीहरु धेरै भएको छ। एसिएल, मिनिस्कसहरु भन्छ नि त्यही समस्या हो। डाक्टरले अप्रेसन नै गर्नुपर्छ भन्या रहेछ,' प्रशिक्षक थापाले पहिलोपोस्टसँग भनिन्, 'यस्तो अवस्थामा एकवर्ष नै मैदानबाहिर रहने सम्भावना हुन्छ। डाक्टरले के भन्छन् त्यसले पनि फरक पार्छ। अहिले सम्म फाइनल भइसकेको छैन, यही गर्ने, यहीँ गर्ने भनेर।'

भण्डारीको उपचार सुरुबाटै बिएण्डबी हस्पिटलमा भइरहेको छ।

'अब उसको चोट आलै छ। गर्नुपर्ने टेस्टहरु गरिरहेका छौं। एमआरआई गर्‍यौं। अब गर्नुपर्ने के के हो त्यो गर्दै जाने हो,' उनले भनिन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सामाजिक सञ्जालमार्फत एन्फाले उनको उपचारका लागि सक्रिय हुने बताएका छन्।

शेर्पाले लेखेका छन्: नेपाली महिला राष्ट्रिय टिमका अत्यन्तै उत्कृष्ट खेलाडी सावित्रा भण्डारी जारी लिगमा घाइते भएकोले नेपाली राष्ट्रिय टिमलाई आगामी दिनहरुमा अपुरणिय क्षति हुने भएको छ। सावित्रा भण्डारीको स्वस्थ्य उपचारमा एन्फा हरेक कोणबाट उपचारका लागि सक्रिय रहने र शीघ्र स्वस्थ्य लाभको कामना पनि गर्दछु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell