PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

टुँडिखेल घेरेर प्रचण्ड - नेपाल समूहले केको गर्दैछ रिहर्सल? आन्दोलनको अबको मोडालिटी यस्तो



प्रकाश भण्डारी

टुँडिखेल घेरेर प्रचण्ड - नेपाल समूहले केको गर्दैछ रिहर्सल? आन्दोलनको अबको मोडालिटी यस्तो

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चौथो चरणको आन्दोलन बुधवारबाट सुरु भएको छ।

काठमाडौं केन्द्रित पहिलो, दोश्रो र तेस्रो चरणको आन्दोलन सफल भएको विश्लेषण गरेका प्रचण्ड-नेपालले चौथो चरणको आन्दोलनलाई भने गाउँ केन्द्रित गरेका छन्।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त समूहले पुस १४, माघ ९ र माघ २८ मा काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो।

आन्दोलनको निरन्तरता स्वरुप फागुन २१ गतेसम्मका कार्यक्रम सार्वजनिक गरिएको भए पनि निर्वाचन आयोग र अदालतको निर्णयका आधारमा अघि बढने तयारी यो समूहले गरिरहेको छ।

चौथो चरणको विरोध प्रदर्शन अन्तर्गत टुँडिखेलमा मानव साङलो बनाइँदै छ भने चितवनमा शक्ति प्रदर्शन हुने नेताहरुले बताएका छन्।

टुँडिखेलमा मानव सांङ्लो किन?

प्रचण्ड-नेपाल समूह हाल निर्वाचन आयोगको क्रियाकलापबाट रुष्ट बनेको छ। आयोगका आयुक्तहरु सरकारको दबावमा परेको प्रचण्ड-नेपाल समूहका नेताहरुको दावी छ। आयोगले निष्पक्ष निर्णय गर्न नसक्ने भन्दै उनीहरुले आयोगलाई खवरदारी गरिरहेका छन्।

प्रचण्डले माघ २८ को आमसभालाई सम्बोधन गर्दै निर्वाचन आयोगले राम्रो संकेत नदेखाएको बताएका थिए। निर्वाचन आयोगले निष्पक्ष निर्णय गर्न नसक्ने र अदालतले पनि ढिलाई गर्ने भएकाले अब सिंहदरवार र बालुवाटार घेराउसम्मको तयारी गर्नुपर्ने भन्दै प्रचण्ड-नेपाल समूहभित्र बहस भइरहेको छ।

बिहीवार बनाइने मानव साङलो त्यसैको अभ्यास भएको केन्द्रीय संघर्ष समितिका सदस्य गणेश साहले बताए।

'साङ्लो बनाउने भनेको पनि सिंहदरवार र बालुवाटार घेर्ने प्राक्टिसकै लागि हो,' उनले भने। चौथो चरणको गाउँ केन्द्रित आन्दोलनले जनपरिचालनमा ब्यापकता आउने र आन्दोलनलाई थप सशक्त बनाउने साहले बताए।

यसअघिका आन्दोलनले ब्यापकता पाउन नसकेको प्रचण्ड-नेपाल समूहका नेताहरुको दाबी छ।

'यसअघिको आन्दोलन विशाल भयो तर हामीले अझै पनि ओलीको कदम प्रतिगामी नै हो भनेर बुझाउन सकेका छैनौ। त्यसैले जुनरुपमा आन्दोलन अघि बढनुपर्ने हो त्यसो अलि भएको छैन। अहिले गाउँ गाउँसम्म आन्दोलन पुग्दा मान्छे स्वस्फूर्त सडकमा आउँछन्,' उनले भने।

आन्दोलनलाई कसरी नागरिक तहसम्म लैजाने भन्नेमा नेकपाभित्र गृहकार्य भइरहेको छ। त्यसका लागि प्रचण्ड-नेपालले पहिला प्रतिवद्धता पत्र जारी गर्ने तयारी गरेको छ। त्यसका लागि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा मस्यौदा समिति बनाइएको छ। उक्त समूहले मंगलवारबाट काम थालेको छ।

प्रचण्ड-नेपाललाई श्वेतपत्र जारी गर्न नागरिक समाजले सुझाव दिएको थियो। आफ्नै पार्टीका नेता कार्यकर्ताको माग सम्बोधन गर्न पनि अध्यक्षले प्रतिवद्धतापत्र जारी गर्न लागेको स्थायी कमिटी सदस्य वेदुराम भुषालले बताए।

'हाम्रो अबको बाटो कस्तो हुने? विगतमा के कस्ता कमी कमजोरी भए त्यसको समीक्षा गर्दै अब त्यस्ता गल्ती नदोहोर्‍याउने वाचासहित अध्यक्षहरुले प्रतिवद्धतापत्र जारी गर्न लाग्नुभएको हो,' उनले भने। पदको लागि आन्दोलन गरेको भन्दै आलोचना हुन थालेपछि पत्र जारी गर्ने तयारी भएको भुषालको भनाई छ।

आयोगको निर्णयका आधारमा आन्दोलन

प्रचण्ड-नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली समूहको ध्यान हाल निर्वाचन आयोग र सर्वोच्च अदालत केन्द्रित छ। त्यसैको आधारमा अबका रणनीति तय गर्नेमा दुवै समूह तयारी अवस्थामा छन्। निर्वाचन आयोगले माघ ११ गते दुवै समूहका पुस ५ पछिका निर्णयलाई मान्यता नदिने निर्णय गरेको थियो।

त्यसपछि प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता दावीका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। साथै आन्दोलनलाई थप चर्काउने बताएका थिए। अहिले पनि निर्वाचन आयोगले गरिरहेका कामबाट आफूहरु सन्तुष्ट हुन नसकेको प्रचण्ड-नेपाल समूहबाट निर्वाचन आयोगको काम हेर्ने जिम्मा पाएका नेता लिलामणि पोखरेलले बताए।

'हल्ला त निर्वाचन आयोगले चिन्ह फ्रिज गर्छ भन्ने पनि छ। यही हल्लाका आधारमा टिप्पणी गर्नु उपयुक्त हुँदैन। तर हाम्रो चिन्ता के हो भने आयोग कतै सरकारको लाचार बन्छ कि भन्ने छ,' उनले भने। पोखरेलले निर्वाचन आयोगको निर्णयका आधारमा अबको 'मुभ' निर्भर हुने बताए। निर्वाचन आयोगले निष्पक्ष निर्णय गरेन भने के गर्ने भन्ने विषयमा अहिले नै तय नभए पनि त्यो गम्भीर विषय भएकाले बहस भइरहेको उनको भनाइ छ।

संयुक्त आन्दोलन गर्न अलमल

माघ २८ को शक्ति प्रदर्शनमा प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने उद्घोष गरे पनि कांग्रेसका कारण मोर्चा नबनेको नेताहरुको भनाइ छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतको निर्णयअघि संयुक्त मोर्चा बनाउन इच्छा नदेखाएकाले सफल नभएको प्रचण्ड-नेपाल संघर्ष समितिका सदस्य साहले बताए। जनता समाजवादी पार्टी (जसपा) भने मोर्चा बनाउन तयार भएको उनको भनाई छ।

कांग्रेस मोर्चा बनाउन तयार भएसँगै संयुक्त आन्दोलन सुरु हुने साहको दावी छ। प्रचण्डले मंगलवार चितवनमा पत्रकारसँग कुराकानी गर्दै छिट्टै संयुक्त आन्दोलन सुरु हुने र त्यसका लागि देउवासँग कुराकानी भइरहेको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell