काठमाडौं : घटना भएको तीन दिनदेखि निगरानीमा रहेका युवक नै अन्तत: प्रहरीको निसानामा परेका छन्। बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्तलाई १३ दिनमा प्रहरीले पक्राउ गरे पनि त्यसको १० दिन अघिदेखि नै सर्भिलेन्समा राखेको थियो।
प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययन गर्ने दिनेश भट्ट पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको छ। प्रहरीको भनाई अनुसार भट्टले हत्या गरेको स्वीकार गरिसकेका छन्। साथै, भागरथीका दाजुले आज पक्राउ परेका युवक विरुद्ध किटानी जाहेरी नै दिएका छन्।
दिनेशले हत्या गरेको स्वीकारेको प्रहरीको दावी छ। तर, बलात्कार गरेको चाहिँ स्वीकारेका छैनन्। भागरथीको घटनाको अनुसन्धान गर्न पुगेको प्रहरी टोली फर्किन थालिसकेको छ। सुदुरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदी आफैं घटनाको अनुसन्धानमा खटिएका थिए। उनी पनि फर्किने तयारीमा छन्। सुरुमा अनुसन्धानका लागि पुगेका एसएसपी जनकराज पाण्डे फर्किँदैछन्। पाण्डे शव भेटिएको पर्सिपल्ट नै बैतडी पुगेका थिए।
भट्ट भागरथीका चिनेजानेका मात्र होइन, नाता जोडिएकै व्यक्ति हुन्। भागरथी कक्षा १२ मा अध्ययनरत थिइन्। पुरानो रिसइबीले माघ २१ गते किशोरले भागरथीलाई भीरबाट लडाएर बोहोस भएपछि घाँटी घिचेर हत्या गरेको बयान दिएका छन्। हत्यापछि किशोरले बलात्कारको प्रयास समेत गरेको देखिएको प्रहरीको दावी छ।
भागरथी घटनाको अनुसन्धानमा धेरै मानिस प्रहरीको क्लोज सर्कलमा थिए। त्यसमध्येका एक थिए दिनेश। हत्या र बलात्कार जोडिएकाले प्रहरीले चिनेजानेका मानिसबाट नै घटना भएको हुनसक्ने आशंकामा अनुसन्धान गरेको थियो। त्यही क्रममा भागरथी पढ्ने विद्यालयका साथी, उनीसँगै हिँड्ने अन्य साथी र घटना भएको समयमा घटनास्थल भएर हिँड्ने मानिस प्रहरीको अनुसन्धानको दायरामा थिए।
एसएसपी पाण्डे पुगेको दुई/तीन दिनमा नै दिनेश प्रहरीको शंकाको घेरामा परेका थिए। उनीसँग गरिएको सोधपुछमा शंका देखिएपछि प्रहरीले उनलाई निगरानीमा राखेको थियो। उमेर कम, अन्य प्रमाण नभेटिसकेकाले प्रहरीले दिनेशलाई पक्राउ गर्न भने सकेको थिएन। त्यसमाथि भागरथी प्रकरणमा 'आइ विटनेस' पनि भेटिएनन्। तर, दिनेश प्रहरीको निगरानीमा नै थिए।
प्रहरीले दिनेशसँग पटक पटक सोधपुछ गरेको थियो।
प्रहरीले नजिकैका मानिसले घटना घटनाएको आशंकामा त्यस क्षेत्रमा अपराधिक गतिविधि गर्नसक्ने मानिसको सूची नै बनाएको थियो। त्यस्तै, लागूऔषध प्रयोगकर्ता देखि सम्भावितमाथि निगरानी बढाएको थियो। त्यही क्रममा दिनेश पनि जोडिएका थिए।
'हामीले सुरुदेखि नै दिनेशलाई क्लोज निगरानीमा राखेका थियौं। पछि प्राविधिक पक्षदेखि अन्य कुराले सपोर्ट गर्यो र नियन्त्रणा लिएका हौं,' एसएसपी जनकराज पाण्डेले भने। दिनेशसँग भएको सोधपुछमा नै शंका देखिएपछि प्रहरीले उनीमाथि थप निगरानी बढाएको थियो।
माघ २१ गते भागरथी २ बजेतिर विद्यालयबाट घर फर्किन निस्किएकी थिइन्। त्यसपछि दिनेश पनि निस्किएका अनुसन्धानमा खुलेको थियो। प्रहरीका अनुसार योजना बनाएर दिनेशले हत्या गरेको देखिएको छ। भागरथीले प्रयोग गर्ने मोबाइल २ बजेर ४७ मिनेटमा आफ भएको थियो। प्रहरीले घटनाको अनुसन्धान गर्न वीटीएसबाट सूचना लिएको थियो।