काठमाडौं : नेपाली काँग्रेस आवद्ध युवा-विद्यार्थीले पार्टीका नेताहरुले एक अर्काको भनाइविरुद्ध अभिव्यक्ति दिएको विषय उठाउँदै आरोप-प्रत्यारोप बन्द गर्न माग गरेका छन्।
पार्टीको केन्द्रीय समिति बैठकको मुखैमा वक्तव्य जारी गर्दै उनीहरुले कांग्रेसले वर्तमान राजनीतिक घटनाक्रमका विषयमा लिएको बाटो अधिकांश कार्यकर्तालाई चित्त बुझेको भए पनि पार्टीले आयोजना गरेका विरोध सभाहरुमा पार्टी केन्द्रिय समितिको निर्णय र पार्टीको धारणाभन्दा बाहिर गएर एकले अर्कोलाई प्रहार गर्ने गरी राखिएका धारणा पार्टी हितमा नरहेको जनाएका छन्। 'अबका दिनमा कांग्रेस नेताहरुले एकले अर्कालाई अरोप प्रत्यारोप लगाउने काम बन्द गर्नुपर्छ,' उनीहरुको माग छ।
'पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दा अहिले नेकपा पार्टी विभाजन नभई मत विभाजनमा मात्रै रहेको देखिन्छ,' उनीहरुले भनेका छन्, 'तसर्थ अरु पार्टीसँगको सहकार्य र राजनीतिक एजेन्डामा अन्तरपार्टी गठवन्धन गर्न आवश्यक छैन।'
साथै युवाहरुले अहिलेको परिस्थिति बुझेर कांग्रेसलाई एक ढिक्का बनाउनेगरी केन्द्रीय समितिले आचारसंहित लागू गर्नपर्ने सुझाव दिएका छन्। 'व्यक्ति बलियो हुने प्रबृतिलाई बिर्सिएर कांग्रेसलाई बलियो बनाउनेगरी पार्टीका सबै नेताहरुलाई एउटै मालामा गास्नु अहिलेको आवश्यकता हो,' उनीहरुको भनाइ छ।
लोकतान्त्रिक पार्टी भित्र लोकतान्त्रिक अभ्यासबाट आफ्नो दलको नेता चुन्ने प्रकृया जति ढिलो हुँदै जान्छ त्यो दलको लोकतान्त्रिक पद्धतिप्रतिको विश्वास खस्किँदै जाने बताउँदै उनीहरुले आज बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यस्तो विषयलाई मध्यनजर गर्दै ठोस निर्णय गर्नुपर्ने माग राखेका छन्। 'पार्टीको आन्तरिक संगठनमा बाँकी रहेका समायोजनका कामहरु एवं विवादित जिल्लाहरुलाई कडा निर्देशन दिएर सबै कुराहरु समयमै टुङ्याउनु आवश्यक छ,' उनीहरुले भनेका छन्, 'पार्टीको विधान संविधानले दिएको अधिकार अनुसार पार्टीको महाधिवेशनतर्फ पनि अब कामहरु अघि बढ्नु पर्छ।'
संसद पुनर्स्थापनामा जाने या चुनावमा जाने कुरामा पार्टीभित्र छलफल भए पनि सबै नेताहरुको फरक मत र दृष्टिकोण बाहिर आएको जनाउँदै उनीहरुले आज बस्ने कार्य समितिको बैठकले सबैसँग बृहत छलफल गरेर ठोस निर्णय सार्वजनिक गर्नुपर्ने जनाएका छन्। 'राजनितिक मुद्दामा कांग्रेस पार्टीको एउटै एजेन्डा हुन जरुरी छ। आज बस्ने कार्यसमितिको बैठकमा यो विषयमा गहन छलफल एवं समीक्षा होस् भन्ने आम कार्यकर्ताको चाहना छ,' उनीहरुले भनेका छन्।
यसरी वक्तव्य जारी गर्नेमा, विश्वदीप लामिछाने, शिव चालिसे, एलिजा ढकाल लगायत छन्।
