PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

भारतको सिक्किमसँग सडक मार्गले जोडियो नेपाल, पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने 



पहिलोपोस्ट

भारतको सिक्किमसँग सडक मार्गले जोडियो नेपाल, पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने 
फोटो: रासस

काठमाडौं : नेपाल भारतको सिक्किम राज्य सडक मार्गले जोडिएको छ। पाँचथरको याङवरक गाउँपालिका-२ चिवाभञ्ज्याङस्थित नेपाल-भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङसम्म सिक्किमको राज्य सरकारले सडकमार्ग खोलेको हो। त्यहाँको सरकारले प्रथामिकतामा राखेर सडक सञ्जाल विस्तार गरेको हो। 

सोहीअनुसार सिक्किम पहिलोपटक सडक मार्गले नेपालसँग जोडिएको हो। सिक्किम (भारत)ले करीब दुई हप्ताअघि सडकको ट्र्याक चिवाभञ्ज्याङमा दशगजासम्म विस्तार गरेको हो। सडकको ट्र्याक खोलिएपछि सिक्किमका स्थानीय सरकारी अधिकारी, जनप्रतिनिधिहरू तथा निर्माण व्यवसायीहरूले चिवाञ्ज्याङ क्षेत्रको अवलोकनसमेत गरेका थिए। 

नेपालले २०७० सालमा चिवाभञ्ज्याङसम्म सडकको ट्र्याक विस्तार गरेको थियो। भारततर्फ पश्चिम सिक्किमको उत्तरे बजारसम्म वर्षौंअघि सडक आइपुगेको थियो। सिक्किमले सन् २०१८ को डिसेम्बरमा नै चिवाभञ्ज्याङसम्म सडक विस्तार गर्ने बताएको थियो। 

भौगोलिक कठिनाइका कारण उत्तरेबाट सीमा क्षेत्रसम्म सडक विस्तार कार्यमा ढिलाइ हुँदै आएको थियो। जनवरीको अन्तिम साता चिवाभञ्ज्याङमा सिक्किमका गाडीहरु  आइपुगेको सिक्किम न्यूजले जनाएको छ। 

 

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेको सरकारले सीमासम्म सडक विस्तार गर्ने तथा उत्तरे बजारलाई व्यापारिकरूपमा विकास कार्यलाई प्राथमिकता राखेअनुसार पछिल्लो पटक निकै द्रूत गतिमा सडक निर्माण भएको सीमा क्षेत्रका नेपालीको भनाइ छ। 

विगतमा चिवाभञ्ज्याङबाट करीब चार घण्टा पैदल यात्रापछि उत्तरे पुग्न सकिन्थ्यो। सडक विस्तारपछि करीब डेढ घण्टामा चिवाभञ्ज्याङ-उत्तरे यात्रा हुनसक्ने सिक्किमको ‘सिक्किम न्यूज’ ले जनाएको छ। उत्तरे बजारबाट सोकपाखा, जरिबुटे, भालुवाले हुँदै सडकको ट्र्याक सीमासम्म विस्तार गरिएको हो। पछिल्ला केही वर्षमा निकै दुर्गम भूगोलमा करीब २५ किलोमिटर नयाँ ट्र्याक खोलिएको हो।  १० हजार २९९ फिट उचाईमा रहेको चिवाभञ्ज्याङमा सडक मार्ग पुगेपछि त्यहाँको पर्यटन विस्तार हुने अपेक्षासमेत गरिएको छ। सिक्किमको सडक तथा पुल विभागले यो सडक २५ करोड रुपैयाँमा ट्र्याक खोलेको हो। 

नेपालले चिवाभञ्ज्याङसम्म सडक पुर्‍याएपछि पनि भारततर्फ सडक विस्तार नहुँदा सीमा क्षेत्रका नेपाली चिन्तित थिए। तर सीमासम्म भारतले सडक ल्याएपछि उनीहरु खुशी देखिन्छन्। अब चिवाभञ्ज्याङमा व्यापारिक नाका खोलिनुपर्ने तथा व्यापारिक सम्बन्ध स्थापित हुनुपर्ने उनीहरूको माग छ। 'उत्तरेको विकास गर्ने भनेर सिक्किम सरकार लागिपरेको सुनेका छौँ', याङवरक–२ का स्थानीयवासी सन्त बेघाले भने, 'एकापट्टि मात्रै काम गरेर पुग्दैन। दुवैतर्फ व्यवस्थित सडक निर्माण र व्यापारिक नाका स्थापना हुनुपर्छ।' 

फोटो: सिक्किम क्रोनिकल

पदयात्रा सहयोगी एवं गोठ सञ्चालक डिकबहादुर राई पनि नाका खोलिनुपर्ने, आवत-जावत र व्यापार सहज हुनुपर्ने बताउँछन्। 'सीमित भए पनि सीमा क्षेत्रका हामी अधिकांश सामग्री सिक्किमबाट खरीद गर्छौं', राईले भने, 'नाका खोलियो भने नागरिकलाई सुविधा त हुन्छ नै सरकारलाई समेत फाइदा मिल्छ।' 

यस्तै सीमा क्षेत्रका पर्यटकीयस्थलहरू भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य हुने गरेको छ। सडकको सुविधा नहुँदा पर्यटकको सङ्ख्या कम हुने गरेको पदयात्रा सहयोगी राईको भनाइ छ। अहिले पनि भारततर्फ सडकको ट्र्याक मात्रै खोलिएको छ। सवारी सञ्चालनका लागि सडक कठिन भएकाले घुम्न आउनेको सङ्ख्या वृद्धि हुन सकेको छैन। व्यापारिक नाका स्थापित हुनसके भारततर्फ समेत पूर्वाधार निर्माणले गति लिने भएकाले यसका लागि कूटनीतिक पहल गरिनुपर्ने स्थानीयवासीको माग छ। नेपालतर्फ भने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम खण्ड ५१ किलोमिटरको कालोपत्रको ठेक्का लागिसकेको छ। 

सिक्किमको नेपालको पाँचथर र ताप्लेजुङ जिल्लासँग सीमा जोडिएको छ। राससको सहयोगमा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell