काठमाडौं : नेपालका लागि जापानी राजदूत समामिची साइगोले सभामुख अग्निप्रसाद सापकोटासँग आज बिदाई भेट गरेका छन्। आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटघाट गरेका हुन्।
भेटमा सभामुख सापकोटाले नेपाल र जापानबीच ६५ वर्ष लामो मैत्रीपूर्ण सम्बन्ध सधैँ सुमधुुर रहेको चर्चा गरे। उनले कोभिड–१९ का कारण मानवजातीको सभ्यता र अस्तित्वमा सिर्जना भएको चुनौतीमाथि मानवजातिको जित शुरु भएको बताउँदै जापानमा आजैदेखि कोभिड–१९ विरुद्ध खोप कार्यक्रम शुरु भएकोमा खुसी व्यक्त गरे। सभामुख सापकोटाले यसका लागि जापानी सरकार र सबै जापानी जनतालाई बधाई ज्ञापन गरे।
जापानले नेपालको शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा गरिरहेको सहयोगप्रति आभार व्यक्त गर्दै सभामुख सापकोटाले नेपाली कामदारका लागि जापानले उपलब्ध गराएको रोजगारीको अवसरका लागि धन्यवाद ज्ञापन गरे। उनले समय प्रतिकुल भएपनि कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत साइगोलाई बधाई ज्ञापन गरे।
भेटका अवसरमा राजदूत साइगोले नेपाल बसाइका क्रममा भएको सहयोगप्रति आभार प्रकट गर्दै यसपछि आउने राजदूतले पनि यस्तै सहयोग पाउनेमा आशा व्यक्त गरे।
