PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

१३ सय बढी विद्यार्थी सहभागी बनाएर बुटवलमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै



पूजा पन्थी

१३ सय बढी विद्यार्थी सहभागी बनाएर बुटवलमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

बुटवल : बुटवल उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रवारदेखि हुने दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता २०७७ हुने भएको छ। बुटवलका एक हजार ३ सय ३४ जना खेलाडी विद्यार्थीहरुको सहभागितामा फागुन ७ गतेदेखि बुटवल-११ एन्फा एकेडेमीको कम्प्लेक्स तथा मैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो।

नगरभित्रका १८ वटा सामुदायिक र ११ वटा निजी गरी कुल २९ वटा विद्यालयका करिब एक हजार ३ सय ३४ जना खेलाडीहरुको सहभागिता हुने बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले जानकारी दिए। विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई अन्य प्रतियोगितामा समेत सहभागी हुन पाउने उनको भनाइ छ।

प्रतियोगिताका लागि विद्यालयगत समितिहरु गठन गरी तयारी भइरहेको अध्यक्ष काउचाको भनाइ छ। प्रतियोगिता सञ्चालन गर्न ६ लाख रुपैयाँ बजेट रहेको उनले बताए।

दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी तथा मार्शल आर्टतर्फ कराँते, तेक्वान्दोलगायतका सबै खेलमा सहभागी हुने सबै विद्यार्थीले शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्।

कुल १ हजार ३ सय ३४ विद्यार्थी सहभागी रहने प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ४२ कास्य पदकका लागि प्रतिष्प्रधा हुनेछन्। विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव विष्णुहरि ज्ञवालीले जानकारी दिए।

प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डी, कराँते, तेक्वाण्डो लगायतका प्रतियोगिताहरु हुनेछन्।

प्रतियोगिताअघि खेल शिक्षकलाई प्रशिक्षण

बुटवलले दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न सबै वडाका विद्यालयका खेल शिक्षकलाई विशेष प्रशिक्षण दिएको थियो। बुटवल नगर खेलकुद विकास समितिमार्फत सबै १९ वटै वडाका सामुदायिक र संस्थागत गरी २९ विद्यालयका खेल शिक्षकहरुलाई एक हप्ते विशेष प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको थियो।

सोही प्रशिक्षण लिएका शिक्षकले आ-आफ्ना विद्यालयका विद्यार्थीलाई सिकाउँदै प्रतियोगिताका लागि तयार पारेका छन्। प्रतियोगितालाई अझ व्यवस्थित, प्रभावकारी बनाउनुका साथै खेलाडी उत्पादनमा महत्वपूर्ण टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता अघि विषयगत शिक्षकलाई खेलकुद प्रतियोगिता बारेमा प्रशिक्षण दिइएको हो।

खासगरि खेलकुदका गतिविधिलाई झाराटराई बनाउने गरेका गुनासा आइरहेका बेलामा विद्यालयमा खेलकुद हेर्ने शिक्षकलाई नै विषय केन्द्रित प्रशिक्षण दिएर खेलकुदलाई व्यवस्थित बनाउने कोसिस नेपालमै पहिलोपटक बुटवलबाट शुरु भएको हो।

बुटवलमा ३९ खेल मैदान तयार हुँदै

बुटवल उपमहानगरपालिकाले खुला व्यायामशाला निर्माणदेखि विभिन्न खेलमैदानको निर्माण तथा स्तरोन्नितको काम गरिरहेको छ। १९ वडामा ३९ वडा खेल मैदान निर्माण तथा विस्तार गर्नेगरि योजनाबद्ध कामको थालनी भएको नगर खेलकुद विकास समितिका अध्यक्ष काउचाले बताए।

बुटवलको एन्फा एकेडेमीका अतिरिक्त वडा नम्बर १३ जवईमा रहेको खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी उपमहानगरले प्रदेश सरकारसंगको सहकार्यमा गुरुयोजना बनाएर काम गरिरहेको छ। विद्यालयमा रहेका मैदानलाई व्यवस्थित गर्ने, सबै वडामा खेलमैदान बनाउने, खुला व्यायामशाला बनाउने, खेल पूर्वाधारको विकास गर्दै दक्ष खेलाडी उत्पादन गर्ने विषयलाई उपमहानगरले नीति तथा कार्यक्रममै समावेश गरेको थियो।

तयारी पूरा

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिले बुधवार दिउँसो बुटवलको कालिका-मानवज्ञान माविमा पत्रकार सम्मेलन गरी रनिङ शिल्ड प्रतियोगिताका बारेमा जानकारी गराएको थियो।

एन्फा टेक्निकल सेन्टर देवीनगरमा फागुन ७ गते शुक्रवारदेखि १० गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले जानकारी दिए। उक्त प्रतियोगिताको शुक्रवार दिउँसो १ बजे बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उद्घाटन शत्रमा बुटवलमा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले झाँकीसमेत देखाउने गरी भव्य तयारी भइरहेको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सदस्य सचिव ज्ञवालीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell