PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

'नेपाली शिक्षकबाट विद्यार्थीलाई धोकैधोका'



नेत्र तामाङ

'नेपाली शिक्षकबाट विद्यार्थीलाई धोकैधोका'

बेलायतको शिक्षा प्रणाली कस्तो रहेछ त? यही प्रश्न बोकेर गत फेब्रुअरीमा लन्डन पुगेका थिए बाल साहित्यकार विजयराज आचार्य। त्यतिबेला कीर्तिपुरस्थित शुभकामना एकेडेमीका प्रिन्सिपलसमेत रहेका आचार्यले १० दिन त्यहाँका स्कुलहरुको शिक्षण प्रणाली र पाठ्यक्रमको अवस्था हेरे। कक्षा कक्षामा पुगेर विद्यार्थीको पढाई र शिक्षकको खटाई हेरे। अनि नेपालको शिक्षा प्रणालीसँग दाँजे, 'ओहो पाठ्यक्रममा त खासै भिन्नता छैन। तर शिक्षकहरु चाहि औधी खट्ने रहेछन्। यसले डेलिभरीमै प्रभाव पारेको रहेछ।'

बेलायती शिक्षक औधी मिहिनेती पाए उनले। भने, 'बेलायती शिक्षक ८ घन्टा खट्दा रहेछन्। अझ प्लानिङमा लाग्ने शिक्षकहरु त १२ घन्टाभन्दा बढी काममा खटेको पाइयो। प्रिन्सिपल लेभलका त १४-१५ घन्टा नै खट्ने।'

त्यहाँका सरकारी विद्यालका शिक्षकको तलब सुविधा त्यहाँका अरु सरकारी कर्मचारी सरहकै हुने रहेछ। 'यति पढ्दा त्यहाँ त शिक्षकलाई राम्रो सुविधा होला भन्ने सोच आउला। तर शिक्षकको सुविधा अरु सरकारी जागिरेकै जस्तै रहेछ। ६ दिन काम गरेपछि सातौं दिन खल्ती रित्याउने रहेछन्,' उनले भने।

यही दौरानमा उनले पाठ्यक्रमका सामग्री केलाए। अनि दाँजे, 'हामीकहाँ बेलायतको शिक्षा प्रणालीलाई एकदमै संस्कार युक्त र उच्च गुणस्तरको मानिन्छ। शिक्षाको गुणस्तर मापण गर्ने एउटा विधि हो पाठ्यक्रम, अर्को सिकाई विधि, अनि अन्तिम चाहि डेलिभरी। दुई देशको पाठ्यक्रममा खासै भिन्नता मैले देखिनँ।सायद भारतसँग टाँसिएकाले पनि होला - नेपाल र बेलायतको पाठ्यक्रम समानता देखिएको। अर्को कुरा नेपाली पाठ्यक्रम बनाउन बेलायती संघसंस्थाको पनि राम्रै भूमिका भएकोले यो हुनसक्छ।'

पाठ्यक्रममा समानता देखिए पनि समावेश सामग्री भने फरक देखियो।

'त्यता विद्यालयका शिक्षकहरुले नै आवश्यक 'टेक्स्ट बुक' तयार गरिदिने रहेछन्। एउटै कथाबाट व्याकरणदेखि सबै विषय पढाउने रहेछन्। हामीकहाँ पहुँच भएका लेखकका रचनाहरु मात्र पाठ्यक्रममा पर्छन्। र, पढाउने विधि पनि कण्ठस्थ पार्नेमात्र हुन्छ,' उनले तुलना गरे।

डेलिभरी राम्रो नहुँदा के के प्रभाव परेका छन् त? यसबारे पनि उनले आँकलन गरे।

एकसरो अध्ययनपछि के थाहा लाग्यो भने त्यहाँ १२ पास गरेपछि धेरै रोजगारीमा जान्छन् भने हामीकहाँ एमए गरेका पनि बेरोजगार छन्। यही रफ्तारमा शैक्षिक बेरोजगारी हामीले वर्षेनी उत्पादन गरिरहेका छौं।

'त्यहाँ १२ पढेपछि काम गर्न थाल्छन्। १८ वर्ष पुगेपछि घर छाड्नैपर्‍यो। काम गर्नैपर्‍यो। राज्यले रोजगारीको प्रशस्त प्रबन्ध गरेको हुने। नेपालमा कामलाई इज्जतसँग दाजिने। त्यहाँ कामको विषयमा विभेद देखिनँ। डाक्टरले बिरामी जाँच्नु र स्विपरले बढार्नुमा कुनै विभेद देखिनँ,' उनले भने।

सरकारी स्कुल निजीभन्दा राम्रा

यो भ्रमणमा उनी पाँच सरकारी स्कुल पुगे। सरकारी स्कुलमा विद्यार्थीको लस्कर देखे भने निजीमा थोरैमात्र। कारण पैसाको कमीले नभएर सरकारी स्कुलको गुणस्तरको कारण भएको ठम्याए उनले।

'यहाँका सरकारी विद्यालयमा ८ हजारदेखि १८ हजारसम्म विद्यार्थी हुने रहेछन्। निजीमा बढीमा २ हजारमात्र। निजीमा पढ्ने एकदमै धनाढ्यहरु मात्रै। नेपालमा निजीले धेरै मेहेनत गरेको छ। तर बेलायतमा सरकारी स्कुलले एकदमै मेहेनत गरेको देखेँ,' आचार्यले सुनाए, 'त्यहाँ क्याथोलिक विद्यालय हुने रहेछन्। तिनलाई चर्च र सरकारले पनि सहयोग गर्ने। त्यहाँको सरकारी स्कुल यहाँको निजीले भन्दा राम्रो गर्न निरन्तर प्रयासमा हुने रहेछन्।'

नेपालका विद्यार्थी र त्यहाँका विद्यार्थीमा एउटा अचम्मको फरक पाए उनले। 'प्रश्न सोध्नसाथ हाम्रो विद्यार्थी घोसेमुन्टो लगाउँछन्। त्यहाँका विद्यार्थी हात उठाइहाल्छन् उत्तर दिन,' उनले भने, 'यो चाहिँ पक्कै नेपालका शिक्षकहरुको कमजोरी हुनुपर्छ भन्ने लाग्यो।'

के कमजोरी छ त नेपाली शिक्षकमा?

'उत्तर राम्रो लेखेन भने टिचरले सिधै डोमिनेसन गर्ने हाम्रो चलन छ। बच्चसँग पोजिटिभ व्यवहार गर्न हामी शिक्षकहरुलाई मुश्किल नै हुन्छ,' उनले भने, 'तैले पढ्दैनस् भन्छौं। त्यहाँ सय प्रतिशत गलत उत्तर दिए पनि नराम्रो नभन्ने रहेछन्। गुडबाट शुरु भएर सबै पोजिटिभ तरिकाले भन्ने देखियो।'

नेपाली शिक्षकबाट विद्यार्थीलाई धोकैधोका

बेलायत भ्रमणबाट उनी आफैँ शिक्षक भएर पनि नेपाली शिक्षकप्रति अलिक असहज सुनिए। आफैसँग पनि। कारण बेलायती शिक्षक सारै जिम्मेवार पाए उनले। तर नेपालमा ७० प्रतिशत नेता शिक्षण पेशाबाटै आएको दाबी गर्दै यही नेताहरुकै कारण शिक्षालाई धुलिसात बनाएको ठोकुवा गरे। 'नेपालमा पूर्व प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरु ७० प्रतिशत शिक्षण पेशाबाटै आइपुगेका छन्। उनीहरुले शिक्षालाई कति गुणस्तरहीन बनाइदिए भन्ने कुरा हाम्रो शैक्षित परिणामले देखाइरहेकै छ,' उनले भने।

जनताको करबाट तलब खाने तर विद्यार्थीलाई पलपल धोका शिक्षकबाट दिइरहेको उनको दाबी थियो। 'जनताको करबाट तलब खाएर उनीहरुले निजी स्वार्थका लागि राजनीति गरे। यसरी उनीहरुले विद्यार्थीलाई धोका दिइरहेका छन्,' आचार्यले भने।

राज्यको तलब खाएर राज्यविरुद्ध लड्ने शिक्षक नेपालीले पाएको उनको भनाई थियो। 'निजीमा प्रिन्सिपललाई हायर एन्ड फायर गर्न सकिन्छ। तर, सरकारी प्रिन्सिपलहरु पार्टी आवद्ध हुन्छन्। कुनै न कुनै पार्टीको सक्रिय सदस्य। त्यसकारण पापी र अधर्मी राजनीतिक नेता भए। नेपालको सन्दर्भमा,' उनले थपे, 'जसले हिजो शिक्षकको नाममा राज्यको तलब खाएर राज्यकै विरुद्ध लडे। तिनले राजनीतिक परिवर्तन ल्याए होला। तर शिक्षालाई अन्धकारमा धकेल्ने मुख्य हात तिनीहरुकै देखिन्छ। सरकारी शिक्षकमा नाम निकालेपछि कामै नगर्नुपर्ने आनन्दको काम भयो। छुट्टी पनि प्रशस्तै।'

राज्यको पैसा खाएर राज्यविरुद्ध लाग्ने शिक्षक सायदै हुने तर नेपालमा भने यस्तै देखिएको उनको बुझाइ रह्यो। शिक्षण क्षेत्रमा लागेर बौद्धिक व्यक्ति कहलिएकाहरु एसएलसी फेल नेताकहाँ चाकरी गर्न पुग्ने उदाहरणसमेत पेश गरे आचार्यले। भने, 'चाहे विश्वविद्यालयका हुन् चाहे प्राविका। नेपालका शिक्षकहरु आफ्नो निहीत स्वार्थका लागि नेताको घरमा धाउँछन् भने बेलायतमा नेताहरु शिक्षक गुरुको घरमा धाउँछन्। मैले अझै कसरी राम्ररी देशलाई राम्रो गर्न सक्छु भनेर सिक्नका लागि। त्यही सल्लाह लागू गर्ने रहेछन्।'

अभिभावकका कमजोरी उत्तिकै

शिक्षणकै क्रममा धेरैजसो अभिभावको सपना आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियरदेखि पाइलटजस्ता प्रतिष्ठित व्यक्ति बनोस् भन्ने चाहना गरेको पाए उनले। यही विषयमा बेलायतका बालबालिकासँग कुराकानी गरे। तर उनीहरुको योजना कसैको पनि डाक्टर पाइलट बन्ने नभएको पाएको आचार्यले सुनाए।

'नेपालमा आफ्ना छोराछोरी डाक्टर इन्जिनियर र पाइलट बन्नुपर्छ अभिभावकका लागि। मैले पाँच स्कुलका ३९ जना बच्चाहरुसँग छलफल गरेँ। उनीहरुको फ्युचर प्लान कसैको डाक्टर पाइलट थिएन,' उनले भने, 'मान्छेको जीवनमा आवश्यक पर्ने विविध कुरामा ध्यान दिएको पाइयो। तैले यो बन भनेर त्यहाँ अभिभावक र टिचरले प्रभावित बनाएको देखिनँ।'

अभिभावकले बाललबालिकालाई निच होच व्यवहार गरेको देखेनन् उनले। त्यसो त यहाँको सँस्कार सम्झेर विद्यार्थीले त्यहाँका शिक्षकसँग गरेको व्यवहार चाहिँ मन परेनछ उनलाई। भन्छन्, 'प्यारेन्टले बच्चालाई डोमिनेट नगर्ने रहेछ त्यता। यहाँ हामीले विद्यार्थीलाई गरेको व्यवहार सम्झेर होला विद्यार्थीले शिक्षकसँग गरेको व्यवहार भने अलि राम्रो लागेन। किनभने त्यहाँ विद्यार्थीले शिक्षकसँग साथीकै स्तरमा व्यवहार गर्नेरहेछन्।'

पढाईको स्तर, विद्यार्थीको उर्जा, शिक्षकको खटाई देखेपछि उनी दंग।  'स्तर निकै एड्भान्स लाग्यो। त्यो पढाइले नै हो जस्तो लाग्यो। ताना शर्माको बेलायततिर बरालिँदा जस्तो पढे अहिले पनि त्यस्तै लाग्छ,' उनले भने।

नेपालका सरकारी विद्यालयले शिक्षा प्रणाली सुधारे निजी विद्यालय स्वत कम हुने उनको दावी रह्यो। '१२ कक्षासम्म निशुल्क पढाइ छ। यहाँ पनि सरकारी स्कुल राम्रो भयो भने बोर्डिङ स्वत: कम भइहाल्छ नि,' उनले भने, 'नेपालमा स्वास्थ्य र शिक्षामा मनपरी छ। किनबेच। बेलायतमा यस्तो छैन। स्कटल्यान्डमा पLएचडीसम्मै पनि नि:शुल्क गर्न पाइने रहेछ।'

किन लागू गर्दैनन् यस्तो शिक्षा प्रणाली

नेपालमा बेलायती शिक्षा प्रणाली देखेका भोगेका मानिसहरु नीति निर्माण तहमा प्रशस्तै छन्। तर यस्ता विषय लागू गर्नमा कन्जुस्याई किन गरिरहेका छन्?

'यहाँकाले पनि सिस्टम देखेका छन्। नदेखेका हैनन्। विभिन्न ठाउँमा सिक्न पुगेका छन्। तर उनीहरु परिवर्तन चाहेनन्,' आचार्यले भने, 'नेपाली शिक्षा क्षेत्रमा लागेकाहरु लाटा देशका गाडा तन्नेरी बनेर बसे। अब हामी पनि यसरी बसे अझै पछि परिन्छ।'

नेपाली सरकारी विद्यालबारे एक रोचक उदाहरण प्रस्तुत गरे उनले। 'यहाँ निजीमा २५ मध्ये २४ ले ए प्लस र ए ल्याउँछ। एक जनाले बि ल्याउँदा घोसेमुन्टो लगाएर हिँड्नुपर्छ। जब सरकारी २५ मध्ये एक जनाले बी ल्यायो र अरुले सी वा त्यो भन्दा तलाका ग्रेड ल्यायो भने त्यही एकजनाको बी ग्रेड देखउँदै खादा लाएर हिँड्छन् प्रिन्सिपल,' उनले भने।

संस्कारयुक्त शिक्षा छैन हामीमा

यस भ्रमणका क्रममा उनले सिकेको अर्को विषय हो संस्कारयुक्त शिक्षा। तर, नेपालमा पश्चिमी प्रभावले भाषा र संस्कृति अरुको अनुशरण गर्न थालेको तर प्रणाली भने पुरानै शैली अपनाएको उनको कथन रह्यो।

'त्यहाँ क्याथोलिक स्कुल हुने रहेछ। आफ्नो धर्मलाई एकदमै विश्वास गर्ने। सबै बच्चाले संस्कृतिलाई सम्हाल्ने सिक्ने। हाम्रोमा गुड मर्निङ भनोस् भन्ने छ। नमस्ते भन्ने हरायो। हाम्रो संस्कृति कता जान्छ यसरी? कहाँ पुग्ला यसरी। सभ्यता र संस्कृति नसिकाएका मानिस डामेर छाडिएको साँढेजस्तै हुदैन अनि!,' उनले सुनाए।

'भाषालाई धेरै राम्रो तरिकाले पढाउने रहेछन्। पहिलो प्याराग्राफ र दोस्रो प्याराग्राफको अन्तर सोध्ने। अनि व्याख्या गर्न लगाउने। टिचरले क्वेसन सोध्दा सबै विद्यार्थी उत्तर दिन रेडी देखिने। संस्कृतिमा नेगेटिभ देखिनँ,' उनले थपे।

नेपालका स्कुलमा पहिलो भाषा नेपाली पढाउनुपर्ने उनको सुझाव छ। अँग्रेजी राम्रो बनाउने प्रयासमा नेपालका स्कुलले दुवै भाषा बिगारिरहेको अनुभूति गरेका छन् उनले।

'उनीहरुले भाषालाई राम्रो सिकाउने रहेछन्। हाम्रो अंग्रेजी सिकाउने नाममा दुवै भाषा विगारिरहेका छौं। न त नेपाली राम्रो छ न त अंग्रेजी नै,' उनले भने, 'भाषा राम्रो भए पो प्रपोजल राम्रो लेख्न सकिन्छ र राम्रो जागिर पाउँछ। भाषा नै छैन अनि कसरी अघि बढ्ने? अन्योल हुन्छ। अनि प्रगतिको वाधक यही भएन? यही कारणले हामी कमजोर छौं।'

व्यापारीको चंगुलमा नफस्ने र सरकार भ्रष्टाचारमा नफस्ने हो भने नेपाली शिक्षा बिस्तारै उन्नत बनाउन सकिने उनकव राय छ। 'सरकारको पाठ्यक्रम त्यही हो। व्यापारीको चंगुलमा फस्नुभएन सरकार। आफ्नै ब्रेन हुनुपर्‍यो। राज्यका नेतृत्व निजीको फाइदातिर ढल्केको छ। यसरी भ्रष्टाचारमा फस्न भएन,' उनले भने।

फेब्रुअरी ८, २०२० मा लन्डन पुगेका उनले १७ तारिखबाट त्यहाँका विद्यालयहरु घुमे। त्यहाँस्थित इम्प्याक्ट ग्रुपका प्रमुख जेरेमी मेमोको निम्तोमा बेलायती शिक्षा प्रणाली र नेपाली शिक्षाको भिन्नताबारे केही जान्ने बुझ्ने मौका पाए।

लन्डन र स्कटल्यान्ड पुगेका उनले त्यहाँको सरकारी स्कुलका पूर्वधार बलियो देखे। तर डिजिटल भ्रमबारे भने आँखा खुलेको बताए। 'कतिले युरोपमा किताब पढिदैन। पावर पाइन्टबाट मात्र पढाइन्छ। डिजिटल क्लासमात्र छन्। यस्तै किसिमको विज्ञापने भनाई बजारमा चल्छ। म बेलायत पुग्दा त्यस्तै लागेको थियो। जब बेलायतको सेन्ट जेभियरको शिक्षकको घरमा पुगेँ। उनको घरमा जताततै किताब देखेँ।'

स्कुलमा पनि किताब नै पहिलो प्राथमिकतामा परेको उनले सुनाए। भने, 'स्कुलमा पनि डिजिटल पढाई भन्ने कुरा एकदमै भ्रमको कुरा रहेछ। पहिलो प्राथमिकता प्रिन्टेड किताबै रहेछ।'

सानैदेखि पढाईमा खर्च गर्ने नेपाली बानीबारे पनि उनले दाँजे। बेलायतमा यस्तो पाएनन् उनले। भने, 'यहाँ पढाइमा सानैदेखि खर्च गर्न तम्सिन्छन् सबै। त्यहाँ एक कक्षामा मात्र भर्ना हुने देखियो। पाँच वर्षपछिमात्र स्कुल भर्ना भएको देखेँ। पाँच वर्षसम्म आमाबुबाले कामै छाडेर भए पनि हेर्न पाइने रहेछ। सरकारले खर्चै दिने रहेछ। डे केयरसम्म हुनेरहेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell