इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनमाथि जित निकालेको छ। गुडिसन् पार्कमा सम्पन्न खेलमा सिटीले घरेलु टोलीमाथि ३-१ गोल अन्तरले जित निकाल्यो।
सिटीले खेलको ३२ औं मिनेटमा फिल फोडेनको गोलमा अग्रता बनाएको थियो। तर ३७ औं मिनेटमा रिचार्लिनले एभर्टनका लागि गोल फर्काउँदा पहिलो १-१ को बराबरीमा रोकियो।
दोस्रो हाफमा रियाद महरेजले सिटीलाई फेरि अग्रता दिलाए। उनले खेलको ६३ औं मिनेटमा बर्नान्डो सिल्भाको पासमा गोल गरेका थिए। त्यस्तै ७७ औं मिनेटमा सिल्भाले गाब्रियल जिससको पासमा गोल गर्दा सिटीले ३-१ गोलअन्तरले जित निकाल्यो।
जितसँगै सिटी अंकतालिकाको शीर्षस्थानमा १० अंकको अग्रता बनाएको छ। सिटीले लिगमा २४ खेलबाट ५६ अंक जोडेको छ भने समान खेल खेलेको म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी समान ४६ अंक जोड्दै तालिकाको क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।
