PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्टेज कार्यक्रम 'मिस' गर्दै नेपाली कलाकार



लक्ष्मी बलायर

स्टेज कार्यक्रम 'मिस' गर्दै नेपाली कलाकार

गत साल प्रकाश सपुत स्टेज प्रोग्राममै निकै व्यस्त भए। एकदिनमै दुईवटा स्टेज शोमा पुग्न भ्याइन्भ्याइ हुन्थ्यो। माघ महिनासम्म पनि महोत्सवहरु गाउन पुगेका थिए उनी। तर त्यसपछि उनको स्टेज यात्रामा विराम लाग्यो। कारण - कोरोना भाइरसको संक्रमण।

संक्रमणको खतराका कारण स्टेज शोको संख्या घट्दै गयो। चैतदेखि लकडाउन भएयता सयौंको संख्याबीच हुने स्टेज कार्यक्रमहरु हुन सकेनन्। हाल सबै क्षेत्र चलायमान भएपनि स्टेज शो हुने अवस्था अझै सिर्जना भएको छैन। त्यसैले स्टेजमा गर्ने प्रस्तुती धेरै 'मिस' भइरहेको बताउँछन् सपुत।

'पोहोर त निकै बिजी थिए नि यो बेला। दिनमै दुइटा समेत स्टेज सो समेत गर्नुपरेको छ। १ महिनामै २६ वटा स्टेज प्रोग्राम भ्याएको थिए। अहिले पुराना दिनहरु मिस भइरहेको छ' विगत सम्झदैँ भने।

स्टेज कार्यक्रमहरुका लागि उनी जहाँ पुग्छन् त्यहाँका दर्शकश्रोताहरुले आफ्ना गीतलाई निकै मनपराएको पाए उनले। धेरै डिमान्ड भने गलबन्दी गीतको हुने गरेको उनी सुनाउँछन्। सो गीत हिट भएपछि अन्य थुप्रै योजना नि बनाएका थिए। २०७७ सालालाई आफ्नो करियरको 'स्वर्णिम वर्ष' बनाउने सोचेका थिए। तर ती काम पनि थाँती रह्यो।

सन् २०१९ देखि 'द भ्वाइस अफ नेपाल सिजन २' मा आबद्ध भएकी थिइन् आस्था राउत। जसकारण उनले स्टेज कार्यक्रमलाई समय दिन सकेकी थिइनन्। कोच हुँदा आएको अफर पनि अस्वीकार गर्न पुगिन्।

भन्छिन्, 'फिनाले सकिएपछि रफतारमा स्टेज प्रोग्राम गर्नुपर्छ सोचिरहेकी थिए। तर कोरोना आइदियो। जसले १ वर्ष नै बेरोजगार भइयो।'

विगत दुई वर्षदेखि स्टेज प्रोग्रामलाई समय दिन नपाएकोले आफु 'द भ्वाइस अफ नेपाल सिजन ३' आबद्ध हुन नसकेको बताउँछिन् उनी। स्टेज प्रोग्राम नै मुख्य आम्दानीको स्रोत हुँदा गाह्रो भएको उनको भनाई छ। अहिले भने उनी स्टेज प्रोग्राममा व्यस्त हुने बताउँछिन्। कोरोना भ्याकसिन आएकोले बिस्तारै कामको रफतार बढ्नेमा आशावादी छन् उनी।

गायक प्रमोद खरेल पनि स्टेज कार्यक्रममा निकै व्यस्त थिए गत वर्ष। महिनामा २२ दिन त उनी काठमाडौं बाहिर कन्सर्ट र प्रोग्राममा हुन्थे। अहिले भने खरेल पनि कन्सर्ट र स्टेजलाई निकै 'मिस' गरिरहेका छन्। हाल अवस्था सामान्य भएकोले पहिलेको जस्तो नभए केही संख्यामा स्टेज कार्यक्रम हुनेमा उनी आशावादी छन्।

प्रमोद जस्तै इन्दिरा जोशी र ज्योति मगर पनि स्टेजमै निकै व्यस्त हुने गायिका हुन्। अहिले यी दुवै गायिका पनि स्टेज शो नहुँदा खल्लो महसुस गरिरहेका छन्। आउने दिनमा चाँडै अवस्था सामान्य हुने र कार्यक्रम गर्न पाउनेमा विश्वस्त सुनिन्छन् उनीहरु।

इन्दिरा कलाकारलाई मात्र नभइ महोत्सव गर्ने व्यवसायीहरुलाई समेत कोरोनाका कारण निकै क्षति पुरेको बताउँछिन्। कोरोनाका कारण व्यवसाय ठप्प हुँदा धेरै कलाकारलाई आर्थिक समस्या परेको सुनाउने उनी बचत गर्ने बानी बसाल्नु सुझाव दिन्छिन्।

ज्योति मगर भने पुराना स्टेज कार्यक्रमहरुलाई एकदमै 'मिस' गरिरहेको बताउँछिन्। केही महिना डान्सिङ् विथ स्टारमा व्यस्त भएकी उनी त्यसपछि केही कार्यक्रमहरु मात्रै सहभागी भइन्। बांकी समय घरपरिवारसँगै बिताइन्। आउने दिनमा फेरि कार्यक्रमहरु संचालन हुनेमा आशावादी रहेकी उनी अहिले भने फुर्सदको मजा लिइरहेको बताउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell