PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

शब्द बिगारेर फुलबुट्टा भरेको भन्दै प्रधानमन्त्री ओलीले दिए जवाफ : निवेदनको दावी नै दुषित



पहिलोपोस्ट

शब्द बिगारेर फुलबुट्टा भरेको भन्दै प्रधानमन्त्री ओलीले दिए जवाफ : निवेदनको दावी नै दुषित

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सर्वच्च अदालत पुगेर आफुविरुद्धको मुद्दामा लिखित जवाफ दिएका छन्। प्रधानमन्त्री ओलीले आफूलाई लगाइएको अवहेलना मुद्दाको निवेदनको दावी नै दुषित भएको जवाफ दिएका छन्। 

आफूले बोलेका केही कुरालाई पूरा शब्द नहेरी बिचबिचबाट शव्द निकालेर फुलबुट्टा भरेको तर्क ओलीको जवाफमा छ।

प्रधानमन्त्रीले बुझाएको लिखित जवाफमा भनिएको छ, 'त्यसमा बोलिएका शव्द तथा वाक्य उल्लेख गरी पूरा शव्द तथा वाक्य नहेरी मुद्दा चलाउन पाइन्छ कि भनी मनपरी  ढङ्गले बिचबिचबाट शव्द निकाली फुलफूट्टा भरी प्रस्तुत निवेदन गरेको देखिन्छ। तसर्थ निवेदन दाबी नै दुषित छ।'

प्रधानमन्त्री ओलीले माघ ९ गते काठमाडौंको कार्की ब्याङ्केटम आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई 'बाजे वकिल' र अदालतीय प्रकृयालाई 'तमासा' भन्दै व्यङ्ग्य गरेका थिए। उनीविरुद्ध परेको अदालतको अवहेलनाको मुद्दामा लिखित जवाफ दिन पौने १२ बजे ओली अदालत पुगेका थिए। अदालत पुगेको १५ मिनेटमा जवाफ बुझाएर ओली फर्किएका हुन्।

उनी ११ बजेर ४६ मिनेट जाँदा अदालत पुगेका थिए भने फर्किँदा ११ बजेर ५९ मिनेट गएको थियो।

ओलीले आफूले अदालतमा विचाराधीन मुद्दामा बोलेकै भरमा अदालतको अवहेलना नहुने दावी पनि गरेका छन्। उनले आफूविरुद्ध परेको निवेदन चर्चा कमाउनका लागि भएको आरोप समेत लगाएका छन्।

आफूले जहिले पनि आदरार्थी भाषा प्रयोग गर्ने गरेको भन्दै ओलीले कुनै कानून व्यवसायीको नाम किटान गरेर नबोलेको र राजनीतिक कार्यक्रममा दिएको भाषणमा कसैलाई लाञ्छना नलगाएको समेत जनाएका हुन्।

ओलीले आफ्नो जवाफमा आफ्नो राजनीतिक इतिहास उल्लेख गर्दै आफू विरुद्धको निवेदनले देशको कार्यकारी प्रमुखको मात्रै नभएर सर्वोच्चको समय समेत खेर फाल्न खोजेको आरोप लगाएका छन्। 

साथै, ओलीले आफ्नो पेशाको मर्यादा राख्नु स्वयम् कानून व्यवासायीको कर्तव्य भएको भन्दै आफू विरुद्ध अप्रासाङ्गिक विषय जोडेर अदालतको अवहेलना मुद्दा दायर गरिएको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell