PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

महावीर पुनमाथिको डकुमेन्ट्री मार्च दोस्रो साता



पहिलोपोस्ट

महावीर पुनमाथिको डकुमेन्ट्री मार्च दोस्रो साता

काठमाडौं : रोमन म्यागासेसे विजेता एवम् प्रविधि अभियन्ता महावीर पुनको जीवनीमा आधारित डकुमेन्ट्री 'महाविर पुन' को पोस्टर रिलिज भएको छ। निर्माता शान्ता नेपालीले फेसबुकमा पोस्टर रिलिज गर्दै डकुमेन्ट्रीबारे खुलाएकी हुन्। 

शान्ता नेपाली प्रोडक्सन हाउसमा बन्न लागेको डकुमेन्ट्री महावीर पुनको जीवनका सघर्ष केन्द्रित रहेको निर्माता नेपालीले बताइन्। 

डकुमेन्ट्री छायाङ्कन भइसकेको तर पोस्ट प्रोडक्सनको काम चलिरहेको उनले जानकारी दिइन्। मार्च दोस्रो साता डकुमेन्ट्री रिलिज हुनेछ। 
'आविस्कार केन्द्रमा उहाँले गरेको व्यक्तिगत सघर्ष त छँदैछ। सँगसँगै केन्द्रमा के भइरहेको छ? उहाँलाई हेरेर त्यहाँ आउने नयाँनयाँ आविस्कार युवाहरुको कथा पनि यसमा छ,' उनले भनिन्।

पछिल्लो राजनीतिक उथलपुथलले शान्तालाई दिक्क बनाएपछि उनी केही सिर्जनात्मक कामको खोजीमा थिइन्। 'देशमा केही हुँदैन भन्ने सोच' हावी भइरहँदा उनमा केही गरिरहेका व्यक्तिमाथि डकुमेन्ट्री बनाउने मुड चल्यो। त्यही कन्सेप्टका आधारमा छानिए महावीर।

'पहिलेदेखि महावीर दाइले काम गरिरहनुभएको देखिरहेकी थिएँ। काम गर्न सरकारकै मुखमात्र ताक्न नपर्दो रहेछ भन्ने उहाँले देखाउनु भएको छ। उहाँमाथि डकुमेन्ट्री बनाएर युवाहरुलाई जोश र आशा जगाउन सकुँ भनेर बनाएकी हुँ,' उनले कारण खुलाइन्।

चार महिना अनुसन्धान गरि बनाइएको डकुमेन्ट्री राष्ट्रिय आविष्कार केन्द्रमै सुट गरिएको हो। यसको छायाङ्कन गर्न एक महिना लागेको थियो।

सबैको पहुँच पुग्ने गरी डिजिटल प्लेटफर्मबाट डकुमेन्ट्री रिलिज गर्ने तयारी भएको उनले सुनाइन्। डकुमेन्ट्री ४० मिनेटको हुनेछ।

महावीर पुनसँग सहकार्य गर्न निकै सहज भएको शान्ताले बताइन्। शान्ताले केही अन्तर्राष्ट्रिय प्रोजेक्ट र नेपाली टिभी सिरिज ‘जातको प्रश्न’ समेत निर्माण गरिसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell