काठमाडौं : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयलाई लिएर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) आन्दोलित भएको छ।
आज बिहान विभिन्न क्याम्पस अगाडि मूल्यवृद्धिको विषयलाई लिएर प्रदर्शन गरेको अनेरास्ववियुले दिउँसो नेपाल आयल निगममा धर्ना दिए।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा आएको विभाजनसँगै त्यसको विद्यार्थी संगठनमा पनि दुई चिरा देखिएको छ। इन्धन मूल्यवृद्धिको
विरोधमा उत्रिएको समूह चाहिँ आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल निकट हुन्। आज बिहान अखिलका नेता कार्यकर्ताले टायर बालेर मूल्यवृद्धिको विरोध गरेका थिए।
दुई सातामा लगातार मूल्य वृद्धि भएको भए पनि विश्व बजारमा इन्धनको मूल्य धेरै माथि छैन। चर्को कर र विकासका नाममा सरकारले आयल निगमबाट रकम असुल्नेक्रम जारी रहेकाले विश्व बजारमा मूल्य धेरै माथि नभए पनि नेपालमा भने लगातार बढिरहेको छ।
आज धर्नामा उत्रिएका अनेरास्वियुका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै मूल्य वृद्धि फिर्ता हुनुपर्ने माग राखेका थिए।
