काठमाडौं : सरकारले कोभिड-१९ खरीदका लागि बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको छ। भारतको सेरम इन्स्टिच्यूटबाट २० लाख कोभिसिल्ड भ्याक्सिन खरीदका लागि बाधा अड्काउ फुकाउ आदेश जारी गरेको हो।
सार्वजनिक खरीद ऐन को दफा ४१ मा खरीदका लागि कार्य सम्पादन र पेस्की जमानत राख्नुपर्ने व्यवस्था छ।
'उत्पादक कम्पनीले पेस्की प्रदान गरे भ्याक्सिन आपूर्ति गर्ने प्रस्ताव राखेको कारण एक पटकलाई बाध अड्काउ फुकाउ आदेश जारी गर्दै राष्ट्र बैंकबाट सोझै भुक्तानी दिने गरी आदेश जारी गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए। स्वास्थ्य सेवा विभागले भ्याक्सिन खरीद गर्नेछ।
हाल नेपालमा सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति प्रदान गरिएको छ। यसअघि भारत सरकारको सहयोगमा १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको छ।
