PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

दरबारमार्गमा गुञ्जिए सबिन राई, 'गलबन्दी च्यातियो'मा मेयर शाक्यको नृत्य

दरबारमार्गमा गुञ्जिए सबिन राई, 'गलबन्दी च्यातियो'मा मेयर शाक्यको नृत्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा दरबारमार्गमा सांस्कृतिक महोत्सव आयोजना गर्‍यो। महोत्सवलाई दुई चरणमा विभाजित गरिएको थियो। कार्यक्रमको पहिलो चरणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समूहले नृत्य प्रस्तुत गरेका थिए। यस्तै, विभन्न जातजातिको प्रतिनिधित्व हुने सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो।

दोस्रो चरणमा गायक गायिकाहरुले सांगीतिक प्रस्तुती दिए। मञ्जु पौडेल, मदन गोपाल, प्रिति आले, प्रकाश सपुत, मिलन नेवार र सविन राई एन्ड ले फ्यारोहले दरबारमार्गमा प्रस्तुती दिएका थिए।

महोत्सवका लागि महेन्द्र शालिक देखि महानगरिय ट्राफिक कार्यालयसम्मको सडक खालि गराइएको थियो। यद्यपि, थोरै संख्यामा मात्रै दर्शकहरु उपस्थित भएका थिए। प्रकाश सपुत र प्रिति आलेबीचको दोहोरी ब्याटल, सपुतको ' गलबन्दी च्यातियो' र मिलन नेवारको 'फुलबुट्टे सारी' गीतले दर्शक झुमिएका थिए।

गलबन्दी च्यातियो र फुलबुट्टे सारीमा गायक गायिकासँगै काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले समेत केही समय नृत्य गरेका थिए। 

अन्तिममा आएका सविन राईको प्रस्तुती हेर्न उपस्थित दर्शक उत्सुक देखिए। सुरुमा कार्यक्रम केही खल्लो भएपनि अन्तिमसम्म राईको प्रस्तुती हेर्न मानिसहरु दरबारमार्गमा उपस्थित थिए।

राईले पैसा, तिमी नै हौ लगायत गीतहरु प्रस्तुत गरे।

गायक प्रकाश सपुतले काठमाडौंबाट सुरु भएको महोत्सवले अब नेपाल 'ब्याक टु नर्मल' तर्फ उन्मुख भइरहेको बताए।

गायक गायिकाहरुले काठमाडौं महनगरले कोरोना संक्रमणका कारण महिनौंसम्म ठप्प भएको सांगीतिक कार्यक्रमहरुलाई ब्युताउँने गरि कार्यक्रम आयोजना गरेको बताए। साथै आउने दिनमा अब देशभर स्टेज कार्यक्रमहरु हुनेमा आशा रहेको बताए।

उपस्थित दर्शकहरुले समेत हाल कोरोना संक्रमण रहेपनि सबै क्षेत्र खुला भएको अवस्थामा मनोरञ्जन क्षेत्र पनि संचालन हुनुपर्नेमा जोड दिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell