PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फुटबलमा उत्तराधिकारीको चासो : हल्यान्ड की एम्बाप्पे?



मुकुन्द घिमिरे

फुटबलमा उत्तराधिकारीको चासो : हल्यान्ड की एम्बाप्पे?
फोटो : marca/UEFA

पछिल्लो दशकमा विश्व फुटबलमा प्रभुत्व रह्यो: बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी र युभेन्टसका पोर्चुगिज स्ट्राइकर एवम म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डोको। ३३ वर्षे मेस्सी र ३६ वर्षे रोनाल्डो दुबै आफ्नो खेल करियरको उत्तरार्धमा पुग्नै लाग्दा विश्व फुटबलमा चासो छ कसले थाम्ला त उनीहरुको बिँडो? पछिल्लो दशकमा १२ मध्ये ११ बालोन डी ओर- उत्कृष्ट वर्षे खेलाडी- पुरस्कार यी दुई खेलाडीले नै जित्दै आएका छन्।

च्याम्पियन्स लिगका र लिगका खेलहरु हेर्दै गर्दा पछिल्लो समय यी खेलाडी केही छायाँमा देखिन केही अन्य खेलाडीले प्रभाव बलियो छाडिरहेका छन्। जसमध्ये अगाडि देखिएका छन् : जर्मन क्लब बोरुसिया डर्टमण्डका २० वर्षे खेलाडी अर्लिङ हल्याण्ड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर किलियन एम्बाप्पे।

मंगलबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा एम्बाप्पेले ह्याट्रिक गर्दा गत सिजनको च्याम्पियन्स लिगको उपविजेता पीएसजीले सानदार जित निकाल्यो। र, राउण्ड अफ १६ को पहिलो लिगमा आफूलाई बलियो बनायो। त्यस्तै डर्टमण्डका हल्याण्डले बुधबार राउण्‍ड अफ १६ कै आफ्नो टिमको पहिलो लेगमा दोहोरो गोल गर्दै स्पेनिस क्लब सेभियामाथिको जितमा निर्णायक बने। जबकी बार्सिलोनाका मेस्सीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै सान्त्वना गोल फर्काउँदा युभेन्टसका रोनाल्डो पोर्चुगिच क्लब पोर्टोसँग आफ्नो टोली पराजित हुँदा गोल फर्काउन सकेनन्।

'जब मैले एम्बाप्पेले ह्याट्रिक गरेको देखेँ, त्यसले मलाई आजको खेलमा मोटिभेट गर्‍यो,' बुधवारको खेलपछि हल्याण्डले भने।

यी दुबै खेलाडीहरुले राम्रै समर्थक पनि बनाउँदै गएको देखिन्छ। फ्रेन्च खेलाडी एम्बाप्पे परिस्कृत देखिनुका साथै डिफेन्डरलाई अस्थिर बनाउन माहिर छन् भने नर्वेजियन हल्याण्ड 'पावरफुल गोलस्कोरिङ मन्सटर' का रुपमा देखिन्छन्।

कुरा यो हप्ताकोमात्र होइन, च्याम्पियन्स लिगमा यी दुबै खेलाडीको प्रदर्शन राम्रो छ। उनीहरुको खेल हेर्दा लाग्छ उनीहरु मेस्सी र रोनाल्डोको विरासत उठाउन तयार छन्।

अझ रोचक त के छ भने स्पेनमा खेलेर विश्वको ध्यान खिचेका मेस्सी र रोनाल्डो यो साता स्पेनमै नचल्दा एम्बाप्पे र हल्याण्डले स्पेनबाट तहल्का मच्चाए।

अर्लिङ हल्याण्ड

च्याम्पियन्स लिग: १८ गोल, १३ खेल

बुण्डेसलिगा: २८ गोल, २१ खेल

जारी सिजन: २५ गोल २४ खेल

किलियन एम्बाप्पे

च्याम्पियन्स लिग: २४ गोल, ४१ खेल

लिग वान : ८० गोल, २१ खेल

जारी सिजन: २१ गोल २९ खेल

टफ मार्केट

यी दुबै खेलाडीलाई युरोपका शीर्ष टिमहरुले नजर नलगाउने त कुरै भएन। तर यो निश्चित छैन की उनीहरु कहाँ पुग्नेछन्। एम्बाप्पेको करार सन् २०२२ मा पुरा हुनेछ। तर उनले स्पस्ट पारिसकेका छन् कि कम्तीमा अहिलेका लागि उनी पेरिसमै सन्तुष्ट छन्। त्यस्तै हल्याण्डको २०२४ सम्मका लागि डर्टमण्डमै करार छ। र, यो पनि निश्चित छ कि उनलाई बाहिर पठाउन डर्टमण्ड पक्कै सजिलै तयार हुनेछैन। यद्यपि उनी ७५ मिलियन युरोका लागि सन् २०२२ मा उनले डर्टमण्ड छोड्नेछन् भन्ने हल्ला पनि चलेकै छ। तर, हल्ला त हल्लै हो।

सबै कुरा अनिश्चित भए पनि एउटा कुरा निश्चित छ दशक बढी लाइमलाइटमा परेका मेस्सी र रोनाल्डो बिस्तारै छायाँमा पर्दै जानेछन्, र, विकल्पमा अन्य खेलाडी आउनेछन्। जसमध्ये एम्बाप्पे र हल्याण्ड त बलिया दाबेदार भइहाले।

आँकडाकै कुरा गर्दा मेस्सी र रोनाल्डोले धेरै रेकर्डहरु बनाएका छन्। रोनाल्डोले स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र पोर्चुगलबाट गरी ७६३ गोल गरेका रोनाल्डो सर्वाधिक गोलकर्ता हुन्। त्यस्तै च्याम्पियन्स लिगको उपाधि पनि पाँच पटक उठाइसकेका छन्। उता मेस्सी ला लिगाका सर्वाधिक गोलकर्ता र बार्सिलोनाका रेकर्ड होल्डर हुन्। क्लबका लागि उनले सुपरकप लगायत ३४ ट्रफीहरु जितेका छन्।

उता हल्याण्ड र एम्बाप्पेको उदय फरक छ। विश्वको उदयीमान खेल बन्ने सम्भावना देखेरै उनलाई पीएसजीले विश्वकै दोस्रो महँगो खेलाडीका (१६६ मिलियन पाउन्ड) रुपमा टिममा भित्र्यायो। जबकी त्यतिबेलासम्म उनले मोनाकोबाट ४६ खेलमात्र खेलेका थिए। र, २२ वर्षको उमेरै उनी पीएसजीको सर्वाधिक गोलकर्ताको सूचीमा उनी तेस्रो स्थानमा आइसकेका छन्।

उता हल्याण्डको उदय त अझ रोचक छ। अघिल्लो सिजन अघिसम्म त उनी आफ्नो देशबाहिर लाइमलाइटमा आएका थिएनन्। र, जब उनी बाहिर आए भटाभट गोल गरेर आफ्नो प्रभाव छाडे। उनले च्याम्पियन्स लिगमा रेड बुल साल्जबर्ग र डर्टमण्डबाट गरी १३ खेलबाट १८ गोल गरेर विश्व फुटबलको ध्यान खिचे। त्यसअघि २० खेल नखेली च्याम्पियन्स लिगमा कसैले यति गोल पुर्‍याउन सकेको थिएन।

पछिल्लो सिजनको आँकडा तुलनात्मक रुपमा हेर्दा यी चार खेलाडी यी चार खेलाडी मध्ये युवा खेलाडीको प्रदर्शन राम्रो देखिन्छ। सिजन २०१९//२० मा रोनाल्डोले ६४ खेलमा ५५ गोल र ९ एसिस्ट गर्दा मेस्सीले ६६ खेलबाट ५७ गोल र २९ एसिस्ट गरे। उता एम्बाप्पेले ५७ खेलबाट ४४ गोल र १९ एसिस्ट गर्दा हल्याण्डले ५८ खेल खेलेर ६२ गोल र ७ एसिस्ट गरे। यसमा अस्ट्रियन बुण्डेसलिगामा उनको एसिस्ट जोडिएको छैन र यो लोकल लिग र च्याम्पियन्स लिगको आँकडा हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell